राष्ट्रियसभाले संविधान कार्यान्वयनमा परिपक्वता देखाएको छः राष्ट्रपति भण्डारी
रासंसा/काठमाण्डौ, माघ २२,
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा ‘संसद्मा समिति प्रणालीः राष्ट्रियसभा विशेष’ पुस्तकको विमोचन गर्दै राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनमा राष्ट्रियसभाले परिपक्वता देखाउनाका साथै आफ्नो महत्वलाई स्थापित गर्न सकेकामा धन्यवादसमेत दिइन्। राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले सङ्घीयता कार्यान्वयन गर्ने क्रममा स्थानीय, प्रदेश र केन्द्रलाई समन्वय गर्न राष्ट्रियसभाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेकी छिन्। उनले लोकतन्त्रलाई बलियो बनाउन अर्थतन्त्र बलियो हुनुपर्नेमा जोड दिँदै देशको अर्थतन्त्रलाई बलियो बनाउन सम्बन्धित निकायहरूदेखि प्रत्येक नागरिकले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याइन्। संसद् सचिवालले ‘संसद्मा समिति प्रणालीः राष्ट्रियसभा विशेष’ पुस्तक प्रकाशन गरेर संसदीय गतिविधिहरूको अभिलेखीकरणमा योगदान दिएको र यस्ता प्रकाशनहरुलाई निरन्तरता दिनुपर्ने खाँचो राष्ट्रपतिले औँल्याइन्। देशको अवस्था राम्रोसँग बुझेको व्यक्तिले नै संसद्मा प्रभावकारी भूमिका निर्वाह खेल्नसक्ने बताउँदै उनले अध्ययन, अनुसन्धानले यसमा सहयोग पुग्ने हुँदा पठनीय संस्कृतिलाई बढाउन संसद् सचिवालयले संसदीय गतिविधिसम्बन्धी पुस्तक प्रकाशनलाई महत्व दिनुपर्ने धारणा राखिन्। राष्ट्रपतिले भनिन्, ‘देशको सर्वोपरि हितलाई ध्यानमा राखेर संसद्ले काम गर्नुपर्दछ। यसमा सांसदको भूमिका महत्वपूर्ण हुनेछ’ संविधानले निर्दिष्ट गरेबमोजिम नै आफूले संविधानको अक्षरशः पालना गर्दै आएको उल्लेख गर्दै राष्ट्रपतिले संवैधानिक अङ्गहरूले बुझाएका प्रतिवेदनहरुमाथि संसद्मा विस्तृत छलफल गर्ने र सम्बन्धित निकायहरुले पनि तिनको कार्यान्वयन गर्ने परिपाटीलाई बलियो बनाउन आवश्यक रहेको बताइन्। समारोहमा राष्ट्रपतिसमक्ष राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ‘संसद्मा समिति प्रणालीः राष्ट्रियसभा विशेष’ पुस्तक हस्तान्तरण गरेका थिए भने लुम्बिनीका किसानले उत्पादन गरेका विभिन्न कृषिजन्य वस्तु उपहार प्रदान गरेका थिए। आफूले लामो समयसम्म संसद्मा रहेर धेरै अनुभव हासिल गरेको प्रसङ्ग उल्लेख गर्दै राष्ट्रपति भण्डारीले संसद्मा सांसदले बोलेका कुराहरूको प्रकाशनले आम जनताले आफ्ना प्रतिनिधिहरूका बारेमा जानकारी राख्न सक्ने र यसले संसद्प्रतिको आस्था बढेर जाने विश्वास व्यक्त गरिन्। राष्ट्रियसभाका सचिव तथा पुस्तकका सम्पादक राजेन्द्र फुयाँलले पुस्तक संसद्का समिति प्रणालीको अवधारणा मात्र नभई हाम्रा आफ्नै अभ्यासको पनि सिंहावलोकनको प्रयास पनि भएकाले यसमा संसदीय समितिहरूले स्थापित गरेका अभ्यास, चुनौती र आगामी बाटो तय गर्नका लागि उपयोगी रहेको उल्लेख गरे। सङ्घीय संसद् सचिवालयले प्रकाशन गरेको कूल १७६ पृष्ठको सो पुस्तकमा संसदीय अभ्यासमा संलग्न तथा विषयगत गहन अध्ययन गरेका १० व्यक्तित्वका लेखहरु समावेश छन्। राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा पार्वतीले संसद् सरकारलाई जवाफदेही बनाउने संस्था भएकाले संसद्लाई प्रभावकारी बनाउन संसदीय समितिहरुको भूमिका महत्वपूर्ण रहने बताए।