पालुङटारमा ‘डेरिघ्यू’को भ्रम छर्ने बेकरी सर्टेनिङमाथि सघन अनुगमन, ३ हजारभन्दा बढीको सामान जफत

अन्जनराज न्यौपाने
गण्डकी प्रदेश
गोर्खा ।
पालुङटारमा ‘डेरिघ्यू’को भ्रम छर्ने बेकरी सर्टेनिङमाथि सघन अनुगमन, ३ हजारभन्दा बढीको सामान जफत गरिएको छ। डेरी घ्यू जस्तै देखिने गरी बिक्री वितरण भइरहेको बेकरी सर्टेनिङमाथि पालुङटार नगरपालिकासहितको संयुक्त अनुगमन टोलीले कडाइ गरेको हो । ठाँटीपोखरी बजार लक्षित अनुगमनमा १० केजीभन्दा कम तौलका बेकरी सर्टेनिङ जफत गरी नष्ट गर्ने प्रक्रिया सुरु गरिएको खाद्य डिभिजन कार्यालयका प्रमुख ज्योति आचार्यले जानकारी दिए। उनका अनुसार
पालुङटार नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौली, तनहुँ र इलाका प्रहरी कार्यालय ठाँटीपोखरीको संयुक्त टोलीले अनुगमन गरेको हो। अनुगमनका क्रममा अन्दाजी ३ हजार ८० रुपैयाँ बराबरको आधा केजीका बेकरी सर्टेनिङका बट्टा जफत गरिएको छ।
पालुङटार नगरपालिकाले गत असोजमै १० केजीभन्दा कमका बेकरी सर्टेनिङको बिक्री वितरणमा प्रतिबन्ध लगाइसकेको छ। संघीय सरकारले पनि सोही निर्णय कार्यान्वयन गरेको छ।
अनुगमनपछि पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बीसीले उपभोक्तालाई झुक्यानमा पार्ने गरी ‘सस्तो घ्यू’ भन्दै बिक्री भइरहेको प्रति शून्य सहनशीलता अपनाइएको बताए।
“पालुङटार बजारमा यस्ता सामग्री बिक्री नगर्न पहिल्यै सूचना गरेका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि उत्पादकलाई एक र आधा केजीका उत्पादन बजारबाट फिर्ता लिन पर्याप्त समय दिएको थियो। तर विभिन्न बाहना गर्दै आलटाल गरियो,” उनले भने, “पूजा, प्रसादमा प्रयोग गर्ने भनेर बहाना गर्ने, बेकरीमा प्रयोग हुने सेतो सर्टेनिङलाई डेरीघ्यूको रङ देखाएर भ्रम छर्ने काम भएको छ।”
उनका अनुसार १४० रुपैयाँमा खरिद हुने आधा केजीको बट्टामा ४५० रुपैयाँसम्म एमआरपी राखेर दोब्बर-तेब्बर नाफा लिने गरिएको छ। यस्तो अनुचित व्यापारिक क्रियाकलाप रोक्न जिल्ला हुँदै राष्ट्रिय स्तरमै नियन्त्रणका लागि अनुरोध गर्ने उनले बताए।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीका खाद्य अनुसन्धान अधिकारी ज्योति आचार्यले विभागको निर्णयलाई कडाइका साथ कार्यान्वयन गरिने प्रतिबद्धता जनाए।
अनुगमन टोलीले उपभोक्तालाई पनि सस्तो भन्दै भ्रममा नपर्न र डेरी घ्यू र बेकरी सर्टेनिङ छुट्याएर मात्रै किन्न आग्रह गरेको छ।