प्रेस चौतारी गरिखाने पत्रकारहरूको संस्था – गणेश बस्नेत
रासंसा/काठमाण्डौ, फाल्गुण ३,
मुलुकमा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारी नेपाल गरिखाने पत्रकारहरूको संस्था भएको बताएका छन्। प्रेस चौतारी नेपालको इतिहास गौरवपूर्ण रहेको बताउँदै उनले सो संगठन गद्दारहरूको संगठन नभएको स्पष्ट पारे। पञ्चायत विरोधी आन्दोलनदेखि गणतन्त्र स्थापना र त्यसलाई पत्रकारिता मार्फत सुदृढीकरण गर्ने पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालका भएको उनले बताए । प्रेस चौतारी नेपाल कर्णाली दोस्रो प्रदेश अधिवेशन उद्घाटन समारोहलाई शनिबार सम्बोधन गर्दै बस्नेतले प्रेस चौतारी अनुशासित र व्यवसायीक पत्रकारहरूको संगठन भएको बताए । ‘प्रेस चौतारी नेपाल अनुशासित व्यावसायिक पत्रकारहरूको संस्था हो, लेख्ने पत्रकारहरूको संस्था हो, नेपालमा समाचार नलेख्ने, नबोल्ने, पत्रकारिताको कुनै पनि काम नगर्ने पत्रकार पनि छन्, तर प्रेस चौतारी नेपाल गरिखाने पत्रकारहरूको संस्था हो’, उनले भने । समाजलाई अघि बढाउने र संगठन निर्माण गर्ने सवालमा प्रेस चौतारी नेपालका पत्रकार प्रतिबद्ध रहेका उहाँले स्पष्ट पार्नुभयो । प्रेस चौतारी नेपालमा संगठन माथि गद्दारी गर्ने व्यक्तिहरू अट्न नसक्ने उनले बताए । प्रेस चौतारी आबद्ध पत्रकार हरेक कुरामा अब्बल हुनु पर्नेमा उनले जोड दिए । कसैले पैसा दिए उसको पक्षमा काम गर्ने, विज्ञापन खोज्न दौडने तर पत्रकारिताको धर्म निर्वाह नगर्ने छुट प्रेस चौतारी आबद्ध पत्रकारलाई नभएको उनले बताए । अधिवेशनको उद्घाटन समारोहमा कर्णाली प्रदेशका मुख्य मन्त्री यमलाल कँडेल, एमाले स्थायी कमिटी सदस्य एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतम, एमाले कर्णाली प्रदेश इञ्चार्ज गोरखबहादुर बोगटी, कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाह लगायतका पार्टीका नेताहरू प्रेस चौतारी नेपालका नेताहरू लगायतको सहभागिता रहेको थियो । म बाहेक सबै गलत, म मात्रै ठिक, अवसर मैले मात्र पाउनु पर्छ भनेर संगठन नचल्ने उनले बताए । सामूहिक संगठनमा रहनेले अरूलाई पनि स्विकार्न सक्नु पर्नेमा उनले जोड दिए। यति बेला नेतृत्व माथि साइबर आक्रमण भइरहेको बताउँदै बस्नेतले त्यसको प्रतिवादमा प्रेस चौतारी आबद्ध पत्रकार उत्रिनु पर्नेमा उनले जोड दिए । संकटमा नेतृत्वलाई जोगाउनु इमानदार कार्यकर्ताको दायित्व भएको उनले स्पष्ट पारे । समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प पुरा गर्न प्रेस चौतारी आबद्ध पत्रकार अग्रपंतिमा उभिनु पर्नेमा उनले जोड दिए ।