अफवाह फैलाएको भन्दै थप १८ युट्युब च्यानलमाथि कारबाही

Share to:

रासंसा/काठमाण्डौ, मार्ग १७,

मुलुकमा प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गरेको भन्दै थप १८ वटा युट्युव च्यानललाई कारबाहीका लागि सिफारिश गरेको छ। मिडियाअन्तर्गत आबद्ध नभएका सामाजिक सञ्जाल (युट्युब च्यानल)बाट सम्प्रेषित सामग्रीको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरिएको काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। मिडियाअन्तर्गत सञ्चालनमा रहेकाको हकमा पत्रकार आचारसंहिताको व्यवस्थाबमोजिम नै कारबाही प्रक्रिया अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ। निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिई भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने तथा अमर्यादित र अश्लिल सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाइएको काउन्सिलले जनाएको छ। यसअघि सञ्चारमाध्यमको आवरणमा सर्वसाधारणलाई त्रसित र आतङ्कित गर्ने सामग्री सम्प्रेषण गरेको भन्दै यही मङ्सिर ८ गते युट्युबसहितका १७ वटा मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधिएको थियो।

Like