हलुका सवारी चालक त्रासमा
रासंसा/काठमाण्डौ, भाद्र १९,
मुलुकमा सडकमा एकै किसिमका मात्र सवारी साधन चल्दैनन्। साइकल, स्कुटर, मोटरसाइकल, ट्याम्पो, ट्याक्सीदेखि हेभी ट्रकसम्म चल्छन्। सबैको उद्देश्य हुन्छ, ठिक समयमा पुगौं र यात्रा सुरक्षित होस्। तर यात्रामा सधैं त्यस्तो हुँदैन। आइतबार बिहानै पेप्सिकोलामा भएको बस दुर्घटनाका कारण आफ्नो लेनमा हिँडेका सवारीसाधन चालकले ज्यान गुमाउनु परेको छ। यसले साना सवारीसाधनका चालकको मनमा त्रास उत्पन्न भएको छ। पेप्सिकोला घटनापछि मोटरसाइकल पठाओ चालक सन्दीप तामाङले मनमा डर उत्पन्न भएको बताए। ‘जो मान्छेले त्यो भिडियो हेर्छ, सबैलाई डर हुन्छ, बोलेरो र अर्को मोटरसाइकलको गल्ती थिएन, गल्तीविना सडकमा ज्यान गुमाउनुपर्यो,’ उनले भने, ‘तर अरूको गल्तीले गर्दा सडकमा कतिखेर जीवन सकिने हो भरै नहुने रहेछ।’ आइतबार बिहान करिब ७ बजेतिर जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरको बा ३ ख ४८४८ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आउँदै गरेको बा ६ च ५३४२ नम्बरको बोलेरो जिप एकआपसमा ठोक्किँदा दुर्घटना हुन पुग्यो। दुर्घटनामा दुईजनाको मृत्यु भयो भने ११ जना घाइते भए। मोटरसाइकल चालकले जथाभावी किसिमले बाटो काटेपछि दुर्घटना भएको तामाङले बताए। तर, बसको गति सीमित हुन्थ्यो भने सायद पल्टिनेगरी दुर्घटना हुने थिएन। ‘तीव्र गतिमा गुडिरहेको बसमा एक्कासि बे्रक लगाउनुपर्दा दुर्घटना भएको सय प्रतिशत हो,’ उनले भने। सुन्धारामा भेटिएका अर्का ट्याक्सी चालक राजिव घर्तीले पहिलो गल्ती मोटरसाइकल चालकवाटै भएको सिसिटिभी भिडियोबाट देखेको बताए। दोस्रो गल्ती बसको रहेको उनले बताए। पेप्सिकोलाको घटना देखेपछि मनमा नरमाइलो लागेको उनले बताए। ‘भिडियो देखेपछि पछि ठूला बसहरू आउँदा, बसले बाटो काटेको देख्दा केही हुन्छ कि भन्ने डर लाग्छ,’ उनले भने। दुवैले सकडमा नियम पालना नगरेकोले दुर्घटना भएको र पछिल्लो समयमा बढी मात्रामा मोटरसाइकल चालकहरूले बढी मात्रामा ट्राफिक नियम उल्लंघन गरेको उनको अनुभव छ। ‘मुख्य कुरा मोटरसाइकल चालकहरूले सकडमा नियम पालना गर्नु पर्यो,’ उनले भने। यसको साथै हरेक चालहरूले कडाइपूर्वक नियम पालना गरेमा सुरक्षित सडकमा दुर्घटना नहुने घर्तीले बताए। तामाङ ठूलो सवारीसाधनका चालक पनि हुन्। कतिपय युवा चालकहरूमा रहेको जोश देखाउने मनोवृत्तिको कारण पनि ठूला गाडीहरूमा दुर्घटना हुने मुख्य कारण रहेको बताउँछन्। ‘पाका चालकहरूले सक्दो रूपमा नियम पालना गर्छन्, युवा चालकहरूले खालि सडक देख्यो कि तीव्र गतिमा चलाउँछन्,’ उनले भने। यात्रु बोकेको सार्वजनिक यातायातले तीव्र गतिमा चलाउन नपाउने नियमसमेत मिचेको उनको आरोप छ। नयाँ चालकहरूले पुराना चालकसस्ँग सिकेर र ठाउँ हेरेर मात्र सवारीसाधन चलाउनुपर्ने उनले बताए। पेप्सिकोलो दुर्घटनाको भिडियो हेरेपछि मनमा ठूलो त्रास उत्पन्न भएको कीर्तिपुरका मोटरसाइकल चालक आशिष भट्टराईले बताए। ‘भिडियो हेरेपछि मलाई मोटरसाइकल चलाउँदा डर लागेको छ। चारैतिर हेरेर सम्भव भएन, नहेरे कसले आएर ठोकिदिन्छन् कि भन्ने डर लागेको छ,’ उनले भने। उनका अनुसार बस र बलेरो गाडी दुवैको गल्तीले दुर्घटनामा ठूलो क्षति बेहोर्नु परेको हो। बसको बे्रक फेल भएको नभई तीव्र गतिकै कारण दुर्घटना भएको भट्टराई बताउँछन्। ठूला सवारीसाधनका चालकहरूको लापरबाहीले पनि ठूला सवारीसाधनबाट जघन्य दुर्घटना हुने गरेको उनको भनाइ छ।