नेपाल पनि चीनको पर्यटकीय गन्तव्य
एजेन्सी,
विश्वमा चीनले कोभिड-१९ पछि चिनियाँ नागरिकका लागि लक्षित पर्यटकीय गन्तव्यमा नेपाललाई पनि समावेश गरेको छ। यसअघि गत माघ दोश्रो सातातिर पहिलो चरणमा नेपाल समावेश नभएकोमा पर्यटन सम्बद्ध नेपाली निकायहरूका तर्फबाट चीन समक्ष आग्रह गरिएको थियो। कोभिड महामारी नियन्त्रण तथा रोकथामका उपायसहित पर्यटकीय एजेन्सीहरूले होटल, एयर टिकट लगायत व्यवस्थापन गर्नसक्ने सूचना जारी गरिएको माइक्रोब्लग वेइपोमा उल्लेख छ। यही मार्च १५ तारिखबाट लागू हुने गरी चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयको वेइपोमा दोश्रो चरणका लागि चिनियाँ पर्यटक बाहिरी मुलुकमा यात्रा गर्नसक्ने सूचना प्रकाशित गरिएको हो । शुक्रबार बेइजिङस्थित नेपाली दूतावासले पनि सूचीमा नेपालसहित २० मुलुक समेटिएको पुष्टि गरेको छ। यसअघि प्रकाशित २० गन्तव्यमा दक्षिण एसियाका माल्दिभ्स र श्रीलंका मात्रै परेका थिए भने यसपटकको सूचीमा नेपाल मात्रै समेटिएको छ। अघिल्लो सूचीमा नेपाल नपरेपछि बेइजिङस्थित नेपाली दूतावासले चिनियाँ परराष्ट्र मन्त्रालय, पर्यटन मन्त्रालय लगायत विभिन्न निकायसित सम्पर्क गरेको बताउँदै राजदूत विष्णुपुकार श्रेष्ठले अन्ततः चीनले नेपालको अनुरोध मानेको प्रतिक्रिया दिए। उनले कान्तिपुरसित भने, ‘यसपटक गन्तव्य सूचीको अगाडि नै नेपालको नाम पारिदिएपछि हामी उत्साहित भएका छौं।’चीनले सन् २०२० यता कोभिड–१९ का कारण रोकेका स्थल तथा हवाई सम्पर्क खुलाएपछि नेपालले चिनियाँ पर्यटक भित्र्याउने अपेक्षा गरेको थियो। तर पहिलो पटकको सूचीमा एडीएस (अप्रुभ डेस्टिनेसन स्टाटस) मा नेपाल नपरेपछि नेपाली पर्यटन व्यवसायी निराश थिए ।