निःसन्तान दम्पतीले पाए तिम्ल्याहा, ‘नर्भिक आईभीएफ’ले दिएको खुशी
रासंसा/काठमाण्डौ, मार्ग २२,
मुलुकमा विवाहको लामो समयसम्म पनि सन्तान नभएपछि सर्लाहीको बलरा गाविसका ४५ वर्षीय विनोदकुमार झाको दैनिकी तनावमय थियो । उनी श्रीमती ३८ वर्षीया रेखादेवी झालाई लिएर सन्तान प्राप्तिको उद्देश्यले झारफुकदेखि उपचारका लागि धेरै ठाउँ भौतारिए । भ्याएसम्म, आफूले थाहा पाएसम्म र आफन्तले सुझाएसम्मका सबै ठाउँमा पुग्दा र सबै खालका उपाय लगाउँदा समेत यो दम्पतीले सन्तान पाउन सकेन । झा दम्पत्रीलाई त्यसपछि निःसन्तानहरुका लागि वरदान सावित नर्भिकको आईभीएफ सेन्टरको विषयमा नजिकका मान्छेहरुले सुनाए । अन्ततः आईभीएफ सेन्टरमा टेष्टट्यूब बेबी प्रविधिबाट सन्तान प्राप्तिका लागि उनीहरुले गरेको प्रयास पहिलो पटकमै सफल भयो । केही दिनअघि नर्भिक आईभीएफ सेन्टरमा टेस्टट्यूव बेबी प्रविधिबाट रेखादेवी झाले ३ सन्तानलाई जन्म दिएकी छिन् । ‘मेरो जीवन र परिवारमा उज्यालो छाएको छ । हामी औधी खुशी छौं,’ एकैपटक तिम्ल्याहा सन्तान प्राप्तिका कारण पुलकित बनेका विनोद झाले बिहीबार भने, ‘सन्तानविहीनताको लामो रिक्तता अन्त्य भएको छ । अब मेरो परिवार पूर्ण भएको छ ।’ झा दम्पती करिब एकवर्षअघि उपचारका लागि नर्भिकको आईभीएफ सेन्टरमा आएका थिए । उनीहरुलाई विशेषज्ञ सेवा वरिष्ठ स्त्रीरोग एवम् टेष्टट्यूव बेबी विशेषज्ञ डा. नूतन शर्माले दिएकी थिइन् । उनकै निगरानीमा रहेर झाले आइभिएफबाट तिम्ल्याहा सन्तान प्राप्ति गरेकी हुन् । डा. शर्माका अनुसार झा दम्पत्तिले पहिलो प्रयासमै आइभिएफबाट सन्तान प्राप्त गरेका हुन् । नर्भिक इन्टरनेशनल हस्पिटलमा शल्यक्रियामार्फत तीनवटै बच्चा निकालिएको डा. शर्माले बताइन् । उनका अनुसार आमा र बच्चाहरुको अवस्था हाल सामान्य रहेकाले एकदुई दिनभित्रै डिस्चार्ज गर्ने तयारी गरिएको छ ।