सुध्रिँदै अर्थतन्त्र
रासंसा/काठमाण्डौ, पौष ३०,
मुलुकमा सरकार र नेपाल राष्ट्र बैंकले आयातमा कडाइ तथा अनुत्पादक क्षेत्रमा लगानीमा कडाइ गरेपछि मुलुकको अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ जान थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार ५ महिनामा आयात घटेकाले र निर्यातमा सुधार भएकाले विदेशी मुद्रा सञ्चिति वढेको छ । आयातमा कमी, पर्यटक आगमनमा वृद्धि र रेमिट्यान्समा वढोत्तरी भएपछि विदेशी मुद्रा आर्जन भइ शोधानान्तर बचतमा आएको छ भने सरकारको चालु खातामा सुधार भएको छ । आर्थिक वर्ष २०७९÷८० को पाँच महिनामा संघीय सरकारले पुँजीगत खर्चमा उल्लेखनीय प्रगति गर्न नसके पनि चापमा परेको अर्थतन्त्र केही सहज भएको छ । तथापि आर्थिक वर्ष २०७९÷०८० को पाँच महिनामा ३३ अर्ब ९९ अर्ब रुपैयाँ पुँजीगत खर्च भएको छ । गत वर्षको तुलनामा पुँजीगत खर्च बढेको हो । गत वर्षको पाँच महिनामा २८ अर्ब ४० करोड रुपैयाँ मात्र पुँजीगत खर्च भएको थियो । यद्यपि यो अवधिमा भारतमा भन्दा मुल्य वृद्धि भएको छ । भारतमा ५ प्रतिशतको हाराहारीमा मुल्यवृद्धि हुँदा नेपालमा भने ७.३८ प्रतिशतको मुल्य वृद्धि रहेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार आयात २०.७ प्रतिशतले घट्दा व्यापार घाटा १८.८ प्रतिशतले घटेको छ । ५ महिनामा विस्तृत मुद्राप्रदाय १.९ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा भने यस्तो मुद्राप्रदाय ७.४ प्रतिशतले बढेको छ । यसले गर्दा बजारमा तरलताको अभाव हुन दिंदैन । रेमिट्यान्स आप्रवाह नेपाली रुपैयाँमा २३.० प्रतिशतले र अमेरिकी डलरमा १३.१ प्रतिशतले बढेको छ । विदेशी मुद्रा भित्रिंदा कुल विदेशी विनिमय सञ्चिति रु.१२ खर्ब ९२ अर्ब ५६ करोड र अमेरिकी डलरमा ९ अर्ब ८२ करोड रहँदा १० महिनालाई आयात धान्न ढुक्क भएको बुझाइ नेपाल राष्ट्र बैंकको छ । ५ महिनामा प्रत्यक्ष विदेशी लगानी भने बढ्न सकेन । गत वर्षको मंसिर मसान्तसम्म सात अर्ब सात करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएकोमा चालु आर्थिक वर्षको पाँच महिनामा ६० करोड ४९ लाख रुपैयाँ मात्र प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोड रुपैयाँले बचतमा रहेको छ । गत वर्षको मंसिर महिनामा शोधनान्तर स्थिति एक खर्ब ९५ अर्ब एक करोडले घाटामा थियो । विदेशी मुद्रा बाहिरिने भन्दा भित्रिने वढी हुँदा शोधानान्तर बचत हुने गर्दछ । चालु आर्थिक वर्ष २०७९÷०८० को पाँच महिनामा देशको चालु खातामा पनि सुधार देखिएको छ । गत आर्थिक वर्षको मंसिर मसान्तसम्मको तुलनामा चालु खातामा दुई खर्ब ६० अर्ब ६० करोड रुपैयाँले सुधार भएको हो । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म चालु खाता ३७ अर्ब ९१ करोड रुपैयाँ घाटामा छ । गत वर्षको मंसिर मसान्तसम्म अवधिमा चालु खाता दुई खर्ब ९८ अर्ब ५१ करोडले घाटामा थियो । विदेशबाट लिएको कर्जाको स्थितिलाई सामान्य रुपमा चालु खाताको रुपमा लिन सकिन्छ। मंसिर मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा एक खर्ब ८२ अर्ब ४३ करोड रुपैयाँ नगद मौज्दात रहेको छ । यो रकम प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको नगद मौज्दातसमेत हो । ०७९ असार मसान्तमा यस्तो मौज्दात दुई खर्ब २७ अर्ब ६९ करोड रुपैयाँ थियो । नेपाल राष्ट्र बैंकले शुक्रवार प्रकाशन गरेको प्रतिवेदनअनुसार नेपालबाट कुल निर्यात ६७ अर्ब ३० करोड ४५ लाखको भएको छ भने आयात ६ खर्ब ६४ अर्ब ७४ करोड ६५ लाखको भएको छ । ५ महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.२ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.१ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९÷८० को पाँच महिनामा रु.५ खर्ब ९७ अर्ब ४४ करोडको व्यापार घाटा भएको छ । नेपाल राष्ट्र बैंकले विदेशमा घर जग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ति खरिद विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मालगायतका पुँजीगत प्रकृतिका कारोबार गर्न नपाउने सूचना जारी गरेको छ । यद्दपि यो अवधिमा कुल वस्तु निर्यात ३४.६ प्रतिशतले कमी आई रु.६७ अर्ब ३० करोड भएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०५.६ प्रतिशतले वृद्धि भएको थियो । बैंकले त्यससम्बन्धी प्रचारप्रसार नगर्नसमेत आग्रह गरेको छ । केन्द्रीय बैंकले तोकिदिएको व्यवस्थाबमोजिमबाहेक विदेशमा भुक्तानी हुनेसम्बन्धी कार्य नगर्न नगराउन ध्यानाकर्षण गराएको छ । त्यस्तो कार्य गर्ने गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । पछिल्ला दिनमा नेपाली नागरिकले विदेशका विभिन्न क्षेत्रमा लगानी गरिरहेको भन्ने आसयका समाचार एवं विवरण सार्वजनिक भएपछि सूचनामार्फत् विदेशमा पैसा नलैजान सचेत गराएको हो । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यस्तो सूचना प्रकाशित गरिएको हो । नेपालमा बसोबास गर्ने कुनै पनि व्यक्तिले कुनै पनि प्रकारको विदेशमा लगानी गर्न नपाउने केन्द्रीय बैंकले स्पष्ट पारेको छ । विदेशमा पैसा लैजानका लागि थप कडाइ गरेको छ । केन्द्रीय बैंकले शुक्रवार एक सूचनामार्फत् विदेशमा कानुनले तोकेबाहेक कुनै पनि प्रकारको लगानी नगर्न आग्रह गरेको छ ।