कोइलावासको इतिहास

Share to:

रासंसा/दाङ, ज्येष्ठ १८,

मुलुकमा वि.सं. १९५० मा भारतको उत्तरप्रदेशको गैसडी भन्ने स्थानमा रेलसेवा प्रारम्भ भएसँगै दाङको कोइलावासमा बस्ती बस्न थाल्यो । तत्कालीन समयमा नानीबाबु सुब्बाले कोइलावास बस्ती बसाले । त्यसको झण्डै १२ वर्षपछि १९६२ मा भारतको जरवामा पनि रेलसेवा सञ्चालनमा आयो । नेपालबाट गैसडीभन्दा पनि नजिक पर्ने जरवाको रेलसेवाले नै कोइलावासलाई व्यापारिक बजारका रुपमा विकास गर्न सहयोग पुर्‍यायो, जहाँ तत्कालीन व्यापारी प्रभु बानियाँले गल्लाभण्डार र हाटबजार सुरु गरे । त्यतिबेला दाङको पहिलो बजारका रुपमा कोेइलावास स्थापित भयो । समयक्रमसँगै गोरेटो–घोरेटो बाटाहरु मोटर बाटाका रुपमा फेरिए तर कोइलावासको बाटोको स्वरुप फेरिन सकेन । कोइलावास सडक अभावकाका कारण ओझेल पर्दै हराउँदै गयो । अर्कोतिर दाङकै घोराहीमा व्यापार व्यवसाय खुल्न थाले । कोइलावासको तुलनामा घोराही सुविधा सम्पन्न भएसँगै घोराहीको विकासक्रम बढ्दै गयो । त्यतिबेलासम्म घोराहीमा बजार सुरु भएको थिएन । त्यसको १५/२० वर्षपछि मात्र घोराही बजार विकसित भएको पाइन्छ । ०३५/३६ सालसम्म भारतसँग जोडिएको वीरगञ्जपछि नेपालकै दोस्रो ठूलो व्यापारिक नाकाका रुपमा दाङको कोइलावास नाका सञ्चालनमा थियो, जहाँ साविकका भेरी, राप्ती र कर्णालीवासीहरु डोको र घोडामा भारी बोकी आफूले उब्जाएका उब्जनी, अन्नपातसँग कोइलावासमा नुनतेल साट्थे । तिनैले कोइलावास नाकालाई धेरै समय जोगाउँदै आए । २००७ साल कात्तिकपश्चात भारतको मुम्बईका इञ्जिनियर डिएम जयकरले पहिलोपटक घोराही–कोइलावास बाटोको सर्भे गरे । उनले पुलपुलेसा, कल्भर्डसमेत गरी भारु १६ लाख लाग्ने गरी प्रतिवेदन तयार गरे । यो प्रतिवेदन तत्कालीन निर्माण यातायातमन्त्री भद्रकालीलाई बुझाइए पनि तत्कालीन सरकारले आफ्नो खर्चमा सडक निर्माण गर्ने नीति अबलम्वन गरेको थिएन । ०४५/४६ पछि कोइलावास झनै सुक्यो । हजारौं संख्याको बस्ती पनि सयमा झर्दै गयो । नाका पनि बन्द हुने स्थितिमा पुग्यो । गढवा गाउँपालिका वडा नं. ८ स्थानीय अगुवा सद्दाम सिद्दिकी भन्छन्, ‘कोइलावास अझै ब्यँुतिन्छ कि भन्ने आशमा छौं ।’ सडक निर्माणको प्रक्रिया प्रतिवेदनमै सीमित भयो । गोरटो र घोरेटो सडकमै कोइलावास सीमित रह्यो । सडक अभावका कारण एकातिर कोइलावासमा चहलपहल गराउँदै गयो भने अन्यत्र सडक विस्तार तथा अन्य सुविधाका कारण कोइलावासका व्यापारी पनि व्यापार र बसाई सार्दै पलायन भए । तराई भए पनि भौलोलिक रुपमा विकट कोइलावास पहाडको बीचमा अवस्थित भूभाग हो । भौगोलिक विकटताकै कारण सरकारको नजरमा पनि कोइलावास हराएको उनी बताउँछन् । कुनै समय दोस्रो ठुलो व्यापारिक नाकाका रुपमा कोइलावास चले पनि सडक र संरचना अभावका कारण अहिले यो ठाउँ खण्डहर बनेको उनको भनाइ छ । सपासका क्षेत्रमा गाडी, मोटरको सुविधा नभएको समयमा कोइलावासमा आठ/दश हजार घरधुरी थियो । तर, जब कोइलावासमा मोटर बाटो पुग्न सकेन र कृष्णनगर, जमुनाहा, रुपैडियामा सडक विस्तार भइ मोेटर चल्न थाले, यहाँका व्यापारी र बासिन्दा पनि कोही पूर्व त कोही पश्चिम लागेको सिद्दिकीको भनाइ छ । ‘अन्त मोटर बाटो बने, मोटर चले, मोटर सुविधा जताजता बढ्दै गयो, व्यापार र व्यापारी उतै सर्दै गए,’ उनले भने, ‘कोेइलावास नाका नाममा मात्रै सीमित बन्यो ।’ ‘विकास अभावमा बस्ती सर्दै जान थालेपछि गाउँ नै रित्तो बन्यो,’ सिद्दिकीले भने, ‘सरकारले कोइलावासमा समयमै सडक पुर्‍याएको भए राप्तीको मुहार नै फेरिन्थ्यो, दाङ व्यापारिक केन्द्रको हवका रुपमा विकास हुन्थ्यो ।’ हुलाकी राजमार्ग अन्तर्गत लमही–कोइलावास ३३ किलोमिटर सडक दुई वर्ष अघि ७० करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भइसकेको छ । अहिले कोइलावासमा मोटर गाडीको पहुँच सहज भएको छ । यद्यपि समयको मागभन्दा धेरै ढिलो गरी बनेको सडकले कोइलावासको त्यो व्यापारिक विरासत फर्काउन भने सकेको छैन । दाङ अहिले प्रादेशिक राजधानी पनि भएको छ । यद्यपि दाङमै शताब्दी अघिको चर्चित नाका अहिले खण्डहरजस्तो अवस्थामा पुगेको छ । सडक विस्तारसँगै कोइलावासको मुहार केही फेरिए पनि नाकाको अवस्था नाजुक नै छ । स्थानीय राजु खानले भने, ‘यहाँका व्यापारी घोराही, तुलसीपुर, नेपालगञ्ज, कृष्णनगर पुगिसके, सडक भर्खर पुग्यो । अब उनीहरु यहाँ फर्कने सम्भावना छैन ।’ सरकारले कोइलावास भन्सारलाई दुई पक्षीय सहमति गरी सञ्चालनमा ल्याउन सक्ने सम्भावना रहे पनि यसतर्फ ध्यान नदिँदा नाका सुनसान छ । भारततर्फ भन्सार नहुँदा नेपाली भन्सार पनि कामविहीनजस्तै बनिरहेको खानले सुनाए । नाकामा भारतले ‘कस्टम अफिस’ राखेको छैन । जसले गर्दा यहाँबाट सामान ओसारपसारमा समेत समस्या छ । कोइलावासमा रहेको नेपाली भन्सारले भारतीय भूमि हुँदै आएकाको अभिलेख राख्ने, पर्यटकका गाडीलाई पास दिनेबाहेक अरु केही काम गर्दैन । कोइलावास नाकामा नेपाली भन्सार कार्यालय रहे पनि भारतले आफ्नो कस्टम अफिस सारिसकेको छ । ‘इन्सपेक्टर’को कमाण्डमा नाकामा भारतीय सुरक्षाकर्मी खटिएका छन् । यो नाकाबाट १५ हजारभन्दा बढीको मालसामान छिर्न भारतीय सुरक्षाकर्मीले दिँदैन । त्योभन्दा बढी मूल्यको सामान भए अन्य कानुनी प्रक्रिया पूरा गर्नुपर्छ । कार्यालयले पर्यटकहरुको कारको पाँच सय र मोटरसाईकलको एक सय रुपैयाँ राजस्व असुली गर्दै आएको छ । कोइलावासस्थित नेपाली भन्सार कार्यालयले नेपाल छिर्ने पर्यटकको अभिलेख राख्ने र निश्चित राजस्व लिने काममात्र गरिरहेको छ । कोइलावास भन्सार कार्यालयका प्रमुख बसन्त रजौरेले भने, ‘स्वर्गद्वारी जाने धार्मिक पर्यटकको हलुका सवारी साधनबाट राजस्व असुल गर्ने बाहेक भन्सारको अन्य काम केही छैन ।’ कोइलावास नाका नेपाल–भारतबीचको पुरानो नाका रहेकाले आवश्यक काम पूरा गर्न सके यसलाई पुनः ब्युँताउन सकिने उनले बताए । सडक विस्तारसँगै चहलपहल बढ्दै गइरहेकाले अब सरकारले भन्सार सञ्चालनमा चाँडै दुई पक्षीय सम्झौता गरी आवश्यक संरचना र पूर्वाधार निर्माणका लागि काम अघि बढाउनुपर्ने उनको सुझाव छ । दाङको कोइलावास भन्सार नाका लुम्बिनी र कर्णाली प्रदेशकै आर्थिक मेरुदण्डका बन्न सक्ने दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीको भनाइ छ । कोइलावास नाका रोल्पा, रुकुम, जुम्ला, हुम्ला जस्ता जिल्लाका लागि नजिकै पर्ने र स्थल मार्गले जोडिएकाले पनि ती क्षेत्रको मुहार बदल्न यो नाका सार्थक हुन सक्ने उनको भनाइ छ । सडक पूर्वाधार विकाससँगै सरकारले अब कोइलावास नाकालाई सञ्चालनका लागि पहल गर्नुपर्ने उनले बताए ।

Like