‘काठमाडौंको परिवर्तनका लागि सहकार्यको पहल हो’ पुर्व प्रधानमन्त्री ओली र प्रधानमन्त्री देउवासँग भेटेपछि बालेनले भने,

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ १८,

मुलुकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरमा परिवर्तन ल्याउन विभिन्न पक्षसँग सहकार्यको पहल थालिएको बताएका छन्। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको तस्बिर फेसबुकमार्फत सार्वजनिक गर्दै मेयर शाहले सहकार्यका लागि सरोकारवाला सबैसँग भेट गरेर पहल गरिने उल्लेख गरेका छन्। भेटबारे विभिन्न थरी टिकाटिप्पणी भइरहेका बेला मेयर शाहले बुधबार साँझ फेसबुकमार्फत स्पष्ट पारेका हुन्। मेयर शाहले सपथग्रहण गरेकै दिन प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गरेका थिए। मंगलबार उनले बैंकरहरुसँग भेट गरेका थिए। मतगणनाअघि नै ओलीसँग भेटेका शाहले बुधबार प्रधानमन्त्री देउवासँग बालुवाटार पुगेर भेट गरेका थिए। ‘हाम्रो लक्ष्यहरु विशाल र पवित्र छन्। आममान्छेको जीवनमा सकारात्मक परिवर्तन ल्याउन विशेष र बृहत सोचको आवश्यकता छ। यसका लागि सबैसँग सहकार्य अनिवार्य छ,’ उनले भनेका छन्।
मेयर शाहले काठमाडौंको उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि धेरैभन्दा धेरै व्यक्तिसँग भेट गरेर छलफल गर्ने, सुझाव समेट्ने र सहकार्यका लागि पहल गरिरहेको उल्लेख गरेका छन्। राजनीतिकरुपमा आफूहरुलाई यो अभियानमा स्वतन्त्र भएकाले केही सजिलो भएको अनुभव उनले उल्लेख गरेका छन्। ‘किनकि स्वतन्त्र हुनुको अर्थ केवल चुनावमा उम्मेदवारी दिदा मात्रै रहदैन । स्वतन्त्र हुनुको अर्थ कुनै पनि पार्टी वा समूह वा नेताप्रति निरपेक्ष रहनु पनि हुन्छ। सबैसँग सम्मानजनक निकटताको अभ्यास गर्नुमा पनि हुन्छ,’ उनले भनेका छन्। यसैक्रममा ओली तथा देउवासँग भेट गरेको उल्लेख गर्दै शाहले भनेका छन्, ‘भेटघाटका क्रममा उहाँहरुले दिनु भएको प्रेरणाले हामीलाई थप उर्जावान बनाएको छ। ‘यो सिलसिला उम्मेदवारी घोषणा गर्नुभन्दा पहिलेदेखि सुरु भएर निकै पछिसम्म पनि रहिरहने छ,’ उनले भनेका छन्, ‘समय अनुकूलताका कारण कसैसँग अघि वा पछि भेट हुन सक्छ। यसलाई अन्यथा नबुझिदिन अपिल गर्दछौँ।’

Like