दोस्रो चरणको युद्धविराम विफल भए हमासविरुद्ध फेरि युद्ध गर्ने नेतन्याहूको घोषणा
एजेन्सी
विश्वमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले दोस्रो चरणको युद्धविराम विफल भए हमासविरुद्ध फेरि युद्ध गर्न आफुहरु तयार रहेको बताएका छन् । नेतन्याहूले आफुहरुले मध्यपूर्वको अनुहार बदलेको र अब हमास पूर्णरुपमा एक्लो भएको अभिव्यक्ति समेत दिएका छन् । युद्धविराम स्थानीय समय अनुसार विहान ८ः३० बजे लागू हुने भनिएको छ । आइतबार सम्झौता लागू गर्ने समय आउनुभन्दा केही घण्टा पहिले एक टेलिभिजन सम्बोधनमा नेतन्याहूले भने, ‘युद्धविराम अस्थायी हो । इजरायलले गाजामा फेरि आक्रमण सुरु गर्ने अधिकार सुरक्षित छ ।’ उनले आफुलाई यसो गर्नका लागि अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पको समेत समर्थन रहेको बताइन्छ । शनिबारको सम्बोधनअघि नेतन्याहूले ‘इजरायल तबसम्म सम्झौता लागू गर्ने छैन, जबसम्म हमासले रिहा गर्ने बन्धकहरुको पूर्ण सूची प्राप्त हुँदैन’ भनेका थिए । इजरायल सम्झौता उल्लंघन नसहने उनको भनाइ छ । इजरायली सञ्चारमाध्यमले हमासले रिहा गर्ने ३३ बन्धकहरुको सूची सार्वजनिक गरेपनि अधिकारीहरुले त्यसको आधिकारिक पुष्टि गरेका छैनन् । आइतबार रिहा हुने तीन बन्धकको नाम अझै प्राप्त नभएको आरोप अधिकारीहरुले लगाएका छन् ।