रुपाखेती दम्पती धार्के-सीतापाइला सडकमा ताजा तरकारी बेच्दै
रासंसा/धादिङ, पौष २७,
मुलुकमा राजधानी प्रवेश गर्ने नौविसे–नागढुंगा सडक खण्डको विकल्प खोज्ने यात्रुका लागि अहिले धार्के–सीतापाइला सडक लोकप्रिय बन्दै गएको छ। यो अवसरलाई सदुपयोग गर्दै धादिङ धुनिवेशी नगरपालिका–५, कुमाइखोलाका ४८ वर्षीय किसान बच्चुराम रुपाखेतीले आफूले उत्पादन गरेका तरकारी सडकछेउमै बिक्री गर्न थालेका छन् । बच्चुरामले बिहान ११ बजेदेखि साँझ ९ बजेसम्म आफ्नी श्रीमती यशोदाको सहयोगमा तरकारी बिक्री गर्छन्। ‘बजारसम्म तरकारी पुर्याउन झन्झटिलो हुन्थ्यो,’ उनले भने, ‘यहाँ आफैंले उत्पादन गरेको ताजा तरकारी सिधै बेच्न पाउँदा सजिलो भएको छ ।’ यसरी प्रत्यक्ष रूपमा आफैंले बिक्री गर्दा बच्चुरामले दिनमै १२ हजारदेखि ४५ हजारसम्मको तरकारी बेच्ने गरेको पनि सुनाए। अहिले आफ्नै खेतमा उब्जाएका ताजा तरकारी काउली, बन्दागोभी, गोलभेंडा, तरुललगायतका सिजनअनुसारका उत्पादन बेच्न उनलाई अहिले भ्याइनभ्याइ छ । बच्चुरामका अनुसार बिचौलियालाई हटाएर सिधै उपभोक्तासम्म पुग्दा नाफा पनि बढेको छ। ‘अहिले त हाम्रो परिवारको मुख्य आम्दानी नै यही हो,’ उनले गर्वका साथ भने, ‘सडकमै उत्रिएर तरकारी बेच्न थालेपछि अहिले अन्य साथीहरूले साथ दिइरहेका छन् ।’ किसानहरूले आफ्ना उत्पादन लिएर सडकमै बेच्न थालेपछि आफूहरूलाई बजार खोज्न समस्या नभएको पनि उनले बताए । ‘उपभोक्ताले पनि सिधै किसानबाट ताजा तरकारी खरिद गर्न पाएका छन्,’ उनले भने । रुपाखेतीको परिवार लामो समयदेखि तरकारी र खाद्यान्न उत्पादनमा सक्रिय रहेको उनको दाबी छ । १२ वर्षको उमेरदेखि खेतीपातीमा रमाएका बच्चुरामले आईए पास गरेपछि केही समय जागिर पनि गरे । तर, आफ्नै माटोमा केही गर्ने चाहनाले डोहोर्याएपछि २०४८ सालदेखि आफू पूर्णकालीन किसान बनेर पूरा गरिरहेको पनि उनले बताए ।