शङ्कर पोखरेल भनाई अन्धाधुन्ध विकल्प खोज्दा नेपाली राजनीति अस्थिर

Share to:

रासंसा/काठमाण्डौ, पौष २७,

मुलुकम नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका राजनीतिक दलहरूको योगदान र इतिहासलाई तोडमोड गरी प्रस्तुत गर्ने प्रवृत्तिप्रति गम्भीर असन्तोष व्यक्त गरेका छन्। पोखरेलका अनुसार नेपालको राजनीतिक यात्रा राणा शासनविरुद्धको संघर्षदेखि सुरु भई विभिन्न चरण पार गर्दै आएको छ। उनले राजनीतिक संघर्षका प्रमुख पाँच चरण औंल्याएका छन्– एक दशक राणा शासनविरुद्धको आन्दोलन, झण्डै एक दशक राजनीतिक संक्रमणकाल, तीन दशक पञ्चायती व्यवस्थाको विरोध, एक दशक माओवादी सशस्त्र द्वन्द्व, र त्यसपछि शान्ति प्रक्रिया तथा संविधान निर्माणको समय। बाँकी दुई दशक मात्र राजनीतिक दलहरूले नेतृत्वमा काम गर्ने मौका पाए पनि ती समय पनि राजनीतिक अस्थिरताको दुश्चक्रमा फसेको उनको भनाइ छ। उनले आफ्नो फेसबुक स्टाटसमार्फत नेपालमा राजनीतिक दलहरूको संलग्नता नौ दशक पुरानो रहेको उल्लेख गर्दै यस अवधिमा दलहरूले सामना गरेका चुनौती र उपलब्धिहरूलाई स्मरण गरे। महासचिव पोखरेलले राजनीतिक दलहरूको विगतलाई खारेज गर्ने र राजनीतिमा कुनै भूमिका र योगदान नभएका समूहहरूलाई विकल्पका रूपमा अघि सार्ने प्रयासले नेपालको राजनीतिलाई अस्थिर बनाउने खतरा रहेको बताए। उनले राजनीतिमा चासो राख्ने सबैलाई तथ्यप्रति गम्भीर र जिम्मेवार हुन आग्रह गर्दै नेपालको राजनीति र देशको भविष्यप्रति सचेत रहनुपर्नेमा जोड दिएका छन्। उनले भने, ‘राजनीतिक दलहरूले आफ्ना असफलतासँगै थुप्रै चुनौतीलाई सामना गर्दै आएका छन्। अन्तर्राष्ट्रिय घेराबन्दी र दबाबले थप कठिनाइ सिर्जना गरेको छ। तर, यी तथ्यलाई नबुझी अन्धाधुन्ध रूपमा विकल्पका नाममा गैर-जिम्मेवार समूहहरूलाई अघि सार्नु घातक छ।’

Like