रामहरि खतिवडाको संसद्को बैठक यथाशीघ्र आह्वान हुने विश्वास

Share to:

रासंसा/काठमाण्डौ, पौष २७,

मुलुकमा प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसद्को बैठक यथाशीघ्र आह्वान हुने विश्वास व्यक्त गरेका छन् । सभापति खतिवडाले कतिपय विधेयकका मा राज्यव्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको जनाउँदै एउटा संसद्पछि अर्को संसद् छ महिनाभित्र बोलाउनुपर्ने संवैधानिक अवस्था अनुसार यथाशीघ्र बैठक आह्वान गर्नुपर्नेमा जोड दिए । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज आयोजना गरेको जलपान कार्यक्रममा पत्रकारसँग कुरा गर्दै सभापति खतिवडाले संसद् समयमा सञ्चालन नहुँदा कतिपय विधेयक अलपत्र परेका बताए । सरकारले यथाशीघ्र संसद् बैठक आह्वान गर्ने उनले विश्वास व्यक्त गरे । “म सभापति रहेको समितिमा छलफलको क्रममा रहेको निजामती विधेयकका मा सरकारको कुनै धारणा आएको छैन, निजामती कर्मचारी उमेर ६० वर्ष राख्ने विषय छलफलका क्रममा रहेको छ, सरकारले ल्याएका कतिपय विधेयकलाई असहमति जनाउने संसद्को अधिकार हुन्छ”, उनले भने । जलपान समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, नेता डा. भीम रावल, प्रतिनिधिसभाका सांसद, राष्ट्रियसभाका सांसद, संवैधानिक आयोगका प्रतिनिधि, कूटनीतिक नियोगका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेतालगायत व्यक्तिको सहभागिता थियो । सभापति खतिवडाले भने, “सरकारले सबैसँग छलफल गरी सहमतिका आधारमा संविधान संशोधन गर्ने जनाइरहेकाले सरकारले चाँडै संविधान संशोधनको विषयलाई अगाडि बढाउने विश्वास लिएको छु ।”

Like