सम्पत्ति शुद्धीकरण कसुरमा रवि दोषी ठहर भए आजीवन रास्वपाको सदस्य हुन नपाउने

Share to:

रासंसा/काठमाण्डौ, पौष ०९,

मुलुकमा सहकारी ठगी प्रकरणसँगै सम्पत्ति शुद्धीकरण कसुरमा दोषी ठहर भएमा रास्वपा सभापति रवि लामिछाने पार्टी विधानअनुसार पार्टीकै सदस्य पनि हुन नपाउने देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको विधानअनुसार विधानको धारा १३ मा पार्टी सदस्य हुन पाउने योग्यता तोकिएको छ । सो विधानअनुसार लामिछाने सम्पत्ति शुद्धीकरणमा अदालतबाट दोषी ठहर भएमा सदस्य हुनसमेत अयोग्य हुने देखिन्छ । सहकारी ठगी प्रकरणमा प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरेको छ । सोमबारबाट सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बयान सुरु भएको छ । विधानको व्यवस्थानुसार ‘भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारप्रसार, लागूऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरणसम्बन्धी कसुर, हत्यासम्बन्धी कसुर वा नैतिक पतन देखिने अभियोगमा सजाय पाएको’ व्यक्ति आजीवन रास्वपा सदस्य हुन अयोग्य ठहरिन्छ । कास्की जिल्ला अदालतमा लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएसँगै उनको सांसद पद स्वतः निलम्बनमा परेको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ (संशोधन सहित)को दफा २७ अनुसार लामिछानेको सांसद पद स्वतः निलम्बन भएको हो ।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ (संशोधन सहित)को दफा २७ मा ‘प्रचलित कानुनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ’ भनेर लेखिएको छ । रवि लामिछानेले आम्दानीको आयकर र कारोबारको करसमेत नतिरेको पाइएको छ । साथै, उनले आफ्नो आम्दानी ढाँटेको पनि पाइएको छ । गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेले तबलस्वरूप १८ महिनामा १ करोड ४ लाख रुपैयाँ लिएकामा २ आर्थिक वर्षमा ६८ लाखको मात्र कर तिरेको पाइएको छ । तर, लामिछानेले आव २०७७–७८ मा ४४ लाख रुपैयाँ आम्दानी मानेर १२ लाख २१ हजार रुपैयाँ आयकर तिरेको पाइएको हो । २०७८–७९ मा त झन् कम अर्थात् २३ लाख ५३ हजार रुपैयाँ मात्र आम्दानी देखाएका छन् । ७४ लाख रुपैयाँ तलब लिएको भए पनि लामिछानेले आधाभन्दा कम आम्दानी देखाएर कम तिरेका हुन् । सो आवमा उनले ३ लाख ५३ हजार रुपैयाँ आयकर तिरेका छन् । लामिछानेले ग्यालेक्सी टिभीमा १८ महिना काम गरेका थिए । १ माघ २०७७ देखि १ असार २०७९ सम्म लामिछानेले १ करोड ४ लाख ३६ हजार ५ सय ८७ रुपैयाँ तलब लिएको सहकारी छानबिन संसदीय समितिले उल्लेख गरेको छ । जसमध्ये आव २०७७–७८ मा ३० लाख रुपैयाँ र बाँकी २०७८–७९ मा लिएको पाइएको हो । लामिछानेको प्यान नम्बर १०९७४…५ बाट खुलेको विवरणअनुसार ५ वर्षमा लामिछानेले कुल १ करोड ९ लाख ६३ हजार रुपैयाँ आम्दानी देखाएर त्यसबापत १९ लाख ३१ हजार ५ सय ४५ रुपैयाँ कर तिरेका छन् । करपछिको उनको आय ९० लाख ३१ हजार रुपैयाँ हुन आउँछ । सो आवमा वर्षमा २० लाखभन्दा बढी कमाउनेले ३६ प्रतिशतसम्म आयकर तिर्नुपर्ने कानुनी व्यवस्था छ । सोहीअनुसार लामिछानेले ७४ लाख रुपैयाँ कमाएको वर्ष २२ लाख रुपैयाँ कर तिर्नुपर्ने थियो । तर, ५ आवमा उनले मात्रै १९ लाख रुपैयाँ कर तिरेका हुन् । सरकारी वकिलको कार्यालयले जिल्ला अदालत कास्कीमा दायर गरेको अभियोजनपत्रअनुसार उनले आव २०७६–७७ मा २७ लाख १४ हजार, आव २०७९–८० मा १६ लाख ९३ हजार र आव २०८०–८१ मा १२ लाख ९५ हजार रुपैयाँ आम्दानी देखाएको पाइएको छ । प्रहरीले गरेको अनुसन्धानमा लामिछानेले दुईवटा सहकारीमा भीआईपी अकाउन्ट खोलेका भेटिएको छ । लामिछानेको निर्देशनमा पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था र बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा भीआईपी अकाउन्ट खुलेको भेटिएको प्रहरीको दाबी छ । लामिछानेको नाममा दुईवटा सहकारीमा भीआईपी अकाउन्ट खुलेको पाइएको छ । आइतबार जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालतमा दायर गरेको मुद्दाको अभियोगपत्रमा लामिछानेका नाममा दुईवटा सहकारीमा ‘भीआईपी एकाउन्ट’ खोलेको उल्लेख छ । ‘सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट १ करोड रुपैयाँ ऋण लिएको गोश्वारा भौचर बरामद भएको, सोही कुरा सहकारी संस्थाको कम्प्युटरमा रहेको डिजिटल अभिलेखबाट पुष्टी भएको र सहकारी संस्थाको ऋण प्रवाहसम्बन्धी रजिस्टरमा समेत उल्लेख गरेबाट सहकारीबाट ऋण लिएको स्पष्ट देखिएको छ,’ अनुसन्धान प्रतिवेदनमा भनिएको छ, ‘प्रतिवादी रवि लामिछानेसमेतले सहकारी संस्था लिमिटेडमा खाता खोली निजहरूको आदेश निर्देशनमा सो खातालाई ‘भीआईपी एकाउन्ट’ उल्लेख गरी विवरण राख्न लगाएको देखिन आएबाट निजहरूले आफू पर्दापछाडि रही आफ्नो समूहमा रहेका मानिसहरूलाई परिचालन गरी संगठित रूपमा अपराध गरेको देखिन्छ ।’ सहकारी ठगीका साथै लामिछानेले सहकारीमा भीआईपी एकाउन्ट खोलेर संगठित अपराध गरेको देखिएको छ । सो प्रतिवेदनमा लेखिएको छ, ‘यी प्रतिवादीले आफ्नो वतनसमेत गोप्य राख्न लगाई सहकारी सञ्चालहरू र कर्मचारीलाई प्रभावमा पारी सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ‘भीआईपी एकाउन्ट’ भनी, डिजिटल केवाईसीसमेतको विवरण राखेको देखिन्छ । उल्लिखित तथ्यहरूका आधारमा यी प्रतिवादी गितेन्द्र बाबु (जीबी) राईसँग मिलेमतो गरी सहकारी संस्थालाई हानि नोक्सानी पु¥याउने उद्देश्यले मोलाहिजा गरी गराई गैरकानुनी रूपले लाभ लिएको तथ्य स्थापित हुन्छ’ भन्ने उल्लेख छ । सुप्रिम सहकारीबाट १८ चैत २०७७ मा लामिछानेका नाममा स्वीकृत भएको २ करोड गोर्खा मिडिया नेटवर्कमा जम्मा भएको र त्यसमा लामिछानेको नाम लेखिएको उल्लेख छ ।

Like