रासंसा/काठमाण्डौ, मार्ग २५,
मुलुकमा विश्वमा मानव अधिकार घोषणापत्र सबैभन्दा बढी भाषामा अनुवादित तथा प्रकाशित भएको घोषणा पत्र हो । पछिल्लो तथ्यांकअनुसार यो घोषणा पत्र ५ सयभन्दा बढी भाषामा अनुवादित भएको छ । प्रत्येक वर्ष १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइन्छ । सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झनास्वरुप यो दिवस मनाउने गरिएको हो । १० डिसेम्बर २०२४ मा विश्वको सबैभन्दा महत्वपूर्ण बिश्वव्यापी घोषणहरु मध्ये एक मानिने मानव अधिकारको विश्वव्यापी घोषणा को ७६ औं वार्षिकोत्सव मनाइदैछ। यो ऐतिहासिक दस्तावेजले जाति, रंग, धर्म, लिङ्ग, भाषा, राजनीतिक वा अन्य विचार, राष्ट्रिय वा सामाजिक उत्पत्ति, सम्पत्ति, जन्म वा अन्य हैसियतको
परवाह नगरी सबैलाई मानवको रूपमा पाउने अपरिहार्य अधिकारहरू समावेश गर्दछ।
सन् २०२४ को नारा : प्रत्येक वर्ष विभिन्न मूल नाराका साथ मनाइने अन्तर्राष्ट्रिय मानव अधिकार दिवस यो वर्ष अर्थात् सन् २०२४ मा “Our Rights, Our Future, Right Now ” हाम्रो अधिकार, हाम्रो अहिलेको भविष्य भन्ने आशयको रहेको छ ।
मानव अधिकार खासमा एउटा मानिसको जन्म भए पछि उसले पाउनु पर्ने अधिकारहरु हुन् । सम्मानित जीवनका लागि एउटा मानिसका लागि चाहिने सबै आधारभूत आवश्यकताहरु मानव अधिकारभित्र पर्छन् ।
यस मानव अधिकार घोषणापत्रले हामी सबैलाई सशक्तिकरण गर्दछ
मानव अधिकार हरेक मानवका लागि अपरिहार्य छ
हाम्रो साझा मानवता बिश्वबन्धुत्वको जरामा आसिन छ
समानता, न्याय र स्वतन्त्रताले मात्र द्वन्द्वलाई रोकेर शान्ति स्थापना गर्दछ
जहाँ जहिले मानवीय मूल्यमाथि आक्रमण हुन्छ, हामी सबै जोखिममा हुन्छौँ
आफ्नो र अरुको लागि आवाज उठाउने गरौँ
पछिल्ला वर्षमा पूरै संसारलाई हल्लाउने र त्रसित गर्ने मानव अधिकार उल्लंघनका समाचारहरु पनि आइरहेका छन् । हाम्रो समाजमा रुढीवादी परम्पराका कारण हुने महिलामाथिका हिंसा हुन् या सिरियाका बालबालिकामाथि भइरहेका हिंसा, वा अफगानिस्तानमा महिलामाथि भइरहेका हिंसाहरु किन नहुन्, सबै मानव अधिकारका उल्लंघनका घटना हुन् ।
मानव अधिकारको पूर्ण सुनिश्चितता विकासको आधार हो, हाम्रो समाज समुन्नत हुने खुड्किलो हो । आजको दिन हामीले आफ्नो तर्फबाट पनि मानव अधिकार उल्लंघनका कदम नचाल्ने संकल्प लिऔँ । पाकिस्तानमा ‘अनर किलिङ’का नाममा हुने घटना हुन् या म्यानमारबाट ज्यान जोगाउनैका लागि विदेशिनु परेका रोहिंग्याहरुको वेदना किन नहोस्, सबै आधारभूत मानव अधिकार हनन भएका निर्लज्ज घटना हुन् । कहिलेकाहीँ त यस्तो लाग्छ, विश्वभर भइरहेका विभिन्न यी घटनाहरु कुनै ढुंगाको मन भएका व्यक्तिहरुले गराइरहेका छन्, मानौं हाम्रो मानवता पूर्णरुपमा मरिसकेको छ । मानव अधिकार दिवसको शुभकामना ।