Wednesday, October 21, 2026
Latest:
अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

‘चाइना कार्ड’ अभिव्यक्तिबारे बोल्न चाहेनन् माओवादी नेता

Share to:

रासंसा/काठमाण्डौ, मार्ग ०२,

मुलुकमा पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय पत्रिका ‘द हिन्दु’ लाई दिएको अन्तर्वार्तामा ‘चाइना कार्ड’बारे दिएको अभिव्यक्ति यतिबेला विवादको घेरामा तानिएको छ ।प्रचण्डको अभिव्यक्तिलाई लिएर सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले कडा आपत्ति जनाएको छ । एमालेका सचिव एवं विदेश विभाग प्रमुख रघुवीर महासेठले शनिबार एक विज्ञप्ति जारी गर्दै निराधार र गैरजिम्मेवार अभिव्यक्ति फिर्ता लिइ नेपाली जनतासँग माफी माग्न प्रचण्डलाई आग्रह गरेका थिए । प्रचण्डले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई लिएर ‘चाइना कार्ड’ शब्द प्रयोग गरेका थिए । जिम्मेवार प्रमुख प्रतिपक्ष दलका नेता तथा पूर्वप्रधानमन्त्रीले देशको कूटनीतिक मर्यादा नाघेर अभिव्यक्ति दिनु गम्भीर चिन्ताको विषय भएको परराष्ट्र मामिलाका जानकार बताउँछन् । अन्तर्वार्ताको क्रममा प्रचण्डले भनेका थिए–‘केपीजी द्विपक्षीय भ्रमणका लागि चीन जाँदै हुनुहुन्छ । तर यो भ्रमण ‘चाइना कार्ड’ प्रयोग गर्नेमा देखिन्छ । यो गलत हो । हाम्रो इतिहास, संस्कृति र भूगोलले दुई छिमेकीसँगको सम्बन्धलाई मिलाएर जानुपर्छ भनेर निर्देशित गर्छ । उहाँले चीन जानुभन्दा अघि भारतसँगको विशिष्ट सम्बन्ध स्वीकार गर्नुपर्छ ।’ यसअघि रातोपाटीसँग कुराकानी गर्दै भारतका लागि नेपाली पूर्वराजदूत निलाम्बर आचार्य, चीनका लागि पूर्वराजदूत टंक कार्की लगायतले प्रचण्डको अभिव्यक्ति दुर्भाग्यपूर्ण भएको बताएका थिए । आन्तरिक राजनीतिक प्रतिस्पर्धालाई लिएर छिमेकी देशसँगको कूटनीतिक सम्बन्धमै असर पु¥याउने गरी अभिव्यक्ति दिनु गलत भएको उनीहरूको तर्क थियो । यही अभिव्यक्तिलाई लिएर एमालेले परराष्ट्र नीति सानोतिनो राजनीतिक झगडाको विषय नभएको भन्दै प्रचण्डको भनाइ निराधारमात्र नभइ नेपालको अन्तर्राष्ट्रिय मान्यताका लागि हानिकारक रहेको जनाएको छ । भारत र चीन दुबैसँग नेपालको सन्तुलित सम्बन्ध कायम गर्ने कुरामा एमाले प्रतिबद्ध रहेको पनि विज्ञप्तिमार्फत जनाइएको छ । यद्यपि यस विषयमा प्रचण्ड स्वयं वा उनको सचिवालयले कुनै प्रतिक्रिया दिएको छैन । पार्टीका जिम्मेवार नेताहरूले समेत प्रचण्डको अभिव्यक्तिको सम्बन्धमा कुनै टिप्पणी गर्न चाहेनन् । माओवादीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रचण्डको अभिव्यक्तिबारे आफूलाई केही थाहा नभएको भन्दै अध्यक्षसँग बुझेरमात्र यसबारे जवाफ दिने बताए । प्रचण्डको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत भयो कि भएन भन्ने विषयमा महासचिव देव गुरुङसँग सम्पर्क राख्दा उनले यसबारे अध्यक्षलाई नै सोध्न आग्रह गरे । ‘उहाँ(प्रचण्ड)ले के बोल्नुभयो, मलाई थाहा छैन । यसबारे थप बुझेरमात्रै जवाफ दिन सक्छु’, आइतबार रातोपाटीसँग सापकोटाले भने । ‘दैनिक धेरै पत्रपत्रिकासँग अध्यक्षको सम्पर्क र सम्वाद हुन्छ । कहाँ के बोल्नुहुन्छ, ती सबै थाहा हुँदैन । यसबारे उहाँ(प्रचण्ड)लाई सम्पर्क गर्दा राम्रो हुन्छ’, गुरुङले भने । अध्यक्ष प्रचण्डको अभिव्यक्तिबारे थप प्रष्ट पार्नका लागि उनका स्वकीय सचिव रमेश मल्लसँग सम्पर्कको प्रयास गर्दा सम्पर्क हुन सकेन ।

Like