आजको मौसम : आज यी प्रदेशका पहाडी भू-भागमा पानी पर्ने
रासंसा/काठमाण्डौ, मार्ग ०१,
मुलुकमा आज बिहान कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहान तराईका केही स्थानहरूमा बाक्लो हुस्सु/कुहिरो लागेको जनाइएको छ। आइतबार पनि तराईका केही भागमा बिहान हुस्सु वा कुहिरो लाग्ने र कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुने जनाइएको छ। आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाको बुलेटिनमा उल्लेख छ । आज राती भने देशभर मौसम सामान्यतया सफा नै रहने छ। महाशाखाको साप्ताहिक बुलेटिनमा देशका तराई भू-भागमा साता भरि नै बिहान क्षणिक हुस्सु/ कुहिरो लाग्ने जनाइएको छ। त्यस्तै अधिकतम र न्यूनतम तापक्रम देशको हिमाली भू-भागमा हल्का घट्ने र पहाडी तथा तराईका भू-भागमा साताभर उल्लेखनीय परिवर्तन नभए पनि साताको अन्त्यमा हल्का घट्ने जनाइएको छ।