ह्यारिस संयमित, ट्रम्प आक्रामक

Share to:

रासंसा/काठमाण्डौ, भाद्र २७,

मुलुकमा लगभग २४ करोड अमेरिकीहरूले मतदान गर्ने अमेरिकी राष्ट्रपतीय निर्वाचनका उम्मेदवारद्वय कमला ह्यारिस र डोनाल्ड ट्रम्प पहिलोपटक आमनेसामने चुनावी बहसमा उत्रेका छन्। ट्रम्पले भने ह्यारिसको डेमोक्र्याटिक पार्टीले अमेरिकालाई भेनेजुएला बनाउन खोजेको आरोप लगाएका थिए। दुवै उम्मेदवारको बहस अमेरिकी अर्थतन्त्रका विषयमा बहस सुरु गरेका थिए। पूर्वराष्ट्रपति ट्रम्पले अन्य देशहरूमाथि कर लगाउने कुरामा जोड दिए भने उपराष्ट्रपति ह्यारिसले लघु उद्यमहरूबारे कुरा गरिन्। विश्वको ध्यान तानेको आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचन अघि दुई उम्मेदवारहरू बहसको सुरुवातमा संयमित भएर नीतिगत विषयमा बहस अगाडि बढे पनि तत्कालै उनीहरू राजनीतिक विगतमा पुग्दै व्यक्तिगत आरोप प्रत्यारोपमा मोडिएका थिए। त्यस क्रममा ट्रम्प बढ्ता आक्रोशित देखिएका थिए। धेरैजसो समय बहसको क्रममा ह्यारिसले ट्रम्पलाई जवाफ दिँदा सीधा हेरेर दिएकी थिइन्। ट्रम्पले भनेका कतिपय अस्वाभाविक विषयमा ह्यारिस मुस्कुराउँदै टाउको हल्लाएकी थिइन्। ट्रम्पले ह्यारिसलाई माक्र्सवादी भनेर सम्बोधन गर्दा ह्यारिसले बेवास्ता गरिन्। ट्रम्पले भने बहसभर ह्यारिससँग आँखा जुधाउन चाहेनन्। उनी खाली माइकमा मात्र केन्द्रित थिए। आगामी चुनावको भविष्य निर्धारण गर्न सक्ने हैसियत राख्ने डिबेटमा दुई उम्मेदवारले करिब ९० मिनेट बहस गरेका थिए। अमेरिकी टेलिभिजन च्यानल एबीसी न्युजमा प्रत्यक्ष प्रसारण गरिएको उक्त बहसको पहिलो आधा घण्टामा दुवै उम्मेदवारले बारम्बार एक अर्कालाई झुटो बोल्ने व्यक्ति भनेका थिए। त्यसक्रममा ट्रम्पले आफ्नो बचाउमा निकै समय खर्च गरेका थिए। ह्यारिसले भने ट्रम्पका आजसम्म भएका चुनावी प्रचार–प्रसार कार्यक्रममा उनको भाषण नसकिँदै भीड बाहिरिने गरेको बताएकी थिइन्। गर्भपतन अधिकारका विषयमा ट्रम्प निकै आक्रोशित पनि भएका थिए। ट्रम्पले यस मुद्दालाई पुनः राज्यहरूसम्म ल्याउन सहयोग गरेको बताउन भ्याए भने ह्यारिसले गर्भपतनसम्बन्धी प्रतिबन्धहरूले महिलाको महत्वपूर्ण स्याहारको विषयलाई नकार्ने बताइन्। ट्रम्पले ह्यारिसलाई इतिहासकै सबैभन्दा खराब उपराष्ट्रपति भनेका थिए। युक्रेनमा रुसी अतिक्रमण हुनुअघि वार्ता गर्न गएको तर युद्ध रोक्न असफल भएको आरोप पनि लगाएका थिए। ट्रम्पले बारम्बार आप्रवासन संकटको कुरा उठाइरहँदा ह्यारिसले दर्शकहरूलाई पूर्वराष्ट्रपतिमाथि अदालतमा चलिरहेका कैयौं मुद्दाबारे स्मरण गराइरहिन्। युक्रेनले रुसमाथि जित हासिल गरेको हेर्न चाहनुहुन्छ भनेर ट्रम्पलाई सोधिएको प्रश्नमा उनले आफूले युद्धको अन्त्य चाहेको जवाफ दिएका थिए।इजरायलका विषयमा ट्रम्पले यदि आफू राष्ट्रपति भएका भए र ह्यारिसले दुई राज्यको समाधान र युद्ध अन्त्य गर्न आह्वान गरेको भए युद्ध नै हुँदैनथ्यो भने। ह्यारिसले आपूmले अमेरिकीहरूबारे विशेष ध्यान दिने तर्क बारम्बार प्रस्तुत गरेकी थिइन् भने त्यसक्रममा उनले ट्रम्पले धनीहरूलाई मात्र हेरिरहेको आरोप लगाएकी थिइन्। अमेरिकी संसद् भवनमा भएको ६ जनवरीको दंगाका बारेमा सोध्दा ट्रम्पले बेवास्ता गरे भने ह्यारिसले उक्त दिनको अव्यवस्थालाई सम्झँदै अमेरिकालाई पाना पल्टाउन आह्वान गरिन्। ट्रम्पले बारम्बार नीतिगत प्रश्नलाई आप्रवासनसँग जोड्दै अमेरिका ओइरिने आप्रवासीहरूले अमेरिकाका कुकुरको मासु खाने गरेका कथा जोडेका थिए। ट्रम्पले भने पछिल्ला केही वर्षका भूराजनीतिक संकट आफू नेतृत्वमा भएको भए नहुने दाबी थपेका थिए। विदेश नीतिका विषयमा ह्यारिसले विश्व नेताहरूले ट्रम्पलाई हास्य पात्र बनाएको र ट्रम्पले तानाशाहीहरूलाई मात्र प्रभावित पार्न खोजेको आरोप लगाएकी थिइन्। ह्यारिसले सीमा समस्याका लागि ट्रम्पलाई जिम्मेवार देखाइन्। यसअघि पनि कमला ह्यारिसले द्विपक्षीय सीमा सुरक्षा विधेयकलाई लिएर डोनाल्ड ट्रम्पलाई घेरेकी थिइन। डेमोक्र्याटहरूले यो विधेयकको विरोध गर्दै आएका छन्। ह्यारिसले इजरायलको प्रतिरक्षाको अधिकारलाई आफूले जहिल्यै समर्थन गर्ने तर प्यालेस्टिनीहरूसँग सुरक्षित भएर आत्मसम्मान साथ बाँच्ने हक रहेको बताइन्। बहस अन्त्य गर्ने बेला ह्यारिसले आफू अमेरिकाको भविष्यप्रति केन्द्रित रहेको बताइन्। त्यसको जबाफ दिने क्रममा ट्रम्पले यदि उनीसँग योजना भएको भए उनले उपराष्ट्रपतिकै रूपमा फत्ते गर्नुपर्ने बताएका थिए। ट्रम्पले भने ह्यारिसलाई इजरायललाई घृणा गर्ने गरेको आरोप लगाए।

Like