भदौ २ गते परराष्ट्र मन्त्री राणा भारत जाने
रासंसा/काठमाण्डौ, श्रावण ३१,
मुलुककि परराष्ट्र मन्त्री आरजु राणा देउवा भारत भ्रमणमा जाने भएकी छन्। उनी भदौ २ गते पाँच दिने भारत भ्रमणमा जान लागेकी हुन्। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्री राणाको भारत भ्रमण स्वीकृत गरेको छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएपछि भारतबाट केही दिनअघि भारतका विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण भएको थियो। विदेश सचिव मिश्रीले नेपालमा रहँदा राष्ट्रपति रामचन्द्र पौडेलसहित प्रधानमन्त्री, मन्त्रीहरू, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका थिए। परराष्ट्र मन्त्री राणा भदौ २ गते नयाँ दिल्ली जानेछिन् भने भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। भारत बसाईका क्रममा उनले उच्च अधिकारीसहित समकक्षी एस जयशंकरसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री भएपछि राणाको यो पहिलो विदेश भ्रमण हो।