कृष्ण पाउरोटी बीपीको ढाडसले जोगिएको थियो
रासंसा/काठमाण्डौ, ज्येष्ठ ६,
मुलुकमा नेपालमा पाउरोटीको स्वाद चखाउने पहिलो व्यक्ति हुन्– कृष्णबहादुर राजकर्णिकार । उनले सात दशकअघि पाउरोटी उत्पादन सुरु गरेका थिए । यो व्यवसाय उनका छोराहरूमा पुस्तान्तरण हुँदै अहिले नातिनीहरूको हातमा आइपुगेको छ । यतिबेला कृष्णबहादुरका कान्छा छोरा ८३ वर्षीय घनश्याम राजकर्णिकारको नेतृत्वमा उनका तीन छोरीले हजुरबुवाको विरासत धानिरहेका छन् । राजकर्णिकारको पुर्ख्यौली पेसा मिठाई व्यापार थियो । जंगबहादुरको दरबारमा मिठाईको स्वाद चखाउने कृष्णबहादुरका हजुरबुवा गजराज राजकर्णिकार थिए । गजराजलाई जंगबहादुर राणाले आफ्नो निजी हलवाईमा नियुक्त गरे । उनको मृत्युपश्चात् वीरशमशेरको लालदरबारमा कृष्णबहादुरका बुवा हीरामान सिंहले यो जागिर पाए । हीरामानको मृत्युपश्चात् यो पेसा आफ्ना पिता कृष्णबहादुरले सम्हालेको घनश्याम बताउँछन् । उनका अनुसार कृष्णबहादुरले इन्दुशमशेरको दरबारमा हलवाई पदमा नियुक्ति पाएका थिए । नयाँ पुस्तामा आइपुगेको यो व्यवसाय अहिले नयाँ ढंगले अगाडि बढिरहेको छ । पाउरोटीको नाममा पहिचान बनाए पनि समयको मागसँगै यसले उत्पादनमा विविधता थप्दै लगेको छ । कृष्ण पाउरोटी भण्डारले अहिले केक, पेस्टिज, कुकिज, बिस्कुटजस्ता २ सयभन्दा बढी बेकरी उत्पादन गरिरहेको छ । राणा शासनकालमा जुद्धशमशेरको समयमा आइपुग्दा राणाहरूको श्रेणी विभाजन गरियो । ‘ग’ वर्गका राणाहरूलाई काठमाडौंबाहिर धपाउने क्रममा इन्दुशमशेर इलामको बडाहाकिम बनाएर पठाइए । उनीसँगै कृष्णबहादुर पनि इलाम पुगे । घनश्यामका अनुसार २००० सालतिरको कुरा हो, हीरा र मूल्यवान् वस्तुहरू हराएको कन्तुर कृष्णबहादुरले फेला पारेपछि इन्दुशमशेरले तराईको ५० बिघा जग्गा दिने निर्णय गरे । ‘मन्दिरको भीडमा च्यापिएकी एक बालिकाको उद्धार बुवाले गर्नुभएछ, ती बालिकाका पिता पाउरोटी फ्याक्टीमा मिस्त्री रहेछन्,’ घनश्यामले भने, ‘मेरा पिताले बालिकाको उद्धार गर्नुभएका कारण उहाँ पाउरोटी फ्याक्ट्रीसम्म पुग्नुभएको रहेछ ।’ त्यसपछि कोलकाताको प्रख्यात अंग्रेजी बेकरी ‘फर्पोज’ कम्पनीसँग जोडिन पुगे । कोलकातामा पाउरोटी बनाउन हात बढाइरहेका कृष्णबहादुरको भित्री सोच भने नेपालमा पुगिसकेको थियो । तर कृष्णबहादुरले उक्त जग्गा पाएनन् । विभिन्न छलकपट गरी अरूकै नाममा जग्गा नामसारी भइसकेको रहेछ । ‘त्यसपछि अब राणाहरूको चाकडीमा लाग्दिनँ भनेर पिताजी काम खोज्न कोलकाता पुग्नुभएछ,’ घनश्याम भन्छन्, ‘त्यहाँ पनि काम नपाएर धेरै भौंतारिनु भएछ ।’ घर फर्किने सोचमा कृष्णबहादुर जब कोलकाताको कालीमन्दिर दर्शन गर्न पुगे, उनको यात्रा मात्रै बदलिएन, जीवनको बाटो नैफेरियो । कोलकातामा कुहिरोको कागझैं हराइरहेका उनले बाटो पहिल्याए र पाउरोटी फ्याक्टीमा पुगे । वि.सं. २००३ मा कृष्णबहादुर पाउरोटी बनाउने सीप सिकेर नेपाल फर्किए । कतिखेर पाउरोटी उत्पादन गर्ने भन्ने हुटहुटी उनको मनमा बढिसकेको थियो । उनीसँग सीप थियो, ज्ञान थियो तर लगानी गर्ने सामर्थ्य थिएन । ६ छोराछोरी धौ–धौले हुर्काइरहेका थिए । परिवारको आर्थिक अवस्था नाजुक थियो । तर पनि उनले आँट र हिम्मत हारेनन् । श्रीमतीका गहना बन्धकी राखेर २ हजार ६ सय रुपैयाँ निकाले । त्यसबाट कमलपोखरीस्थित आफ्नै घरमा पाउरोटी उत्पादनको सोचलाई पूर्णता दिनेतिर लागे । आफ्नै नामबाट पाउरोटी र उद्योगको नामकरण गरी २००५ साउन १० बाट पाउरोटी उत्पादन सुरु गरे । ‘पाउरोटी उत्पादन गर्नलाई आमाको योगदान अमूल्य थियो,’ घनश्यामले भने, ‘गहना बन्धकी राखेर पिताजीलाई उहाँले नै हौसला दिनुभएको हो ।’
भारत जानेआउनेलाई पाउरोटीको स्वाद थाहा थियो तर आमनेपालीका लागि त्यतिबेला पाउरोटी नयाँ चिज थियो । कृष्णबहादुरले चिया र पाउरोटीको एकसाथ व्यापार गर्न थाले । घनश्यामका अनुसार त्यही समयदेखि नै चियामा पाउरोटी चोपेर खाने चलन सुरु भएको हो । नयाँ व्यवसाय सुरु गर्नु र त्यसलाई स्थापित गर्दै अगाडि बढ्न आफ्ना पितालाई सहज भने नभएको उनी बताउँछन् । सुरुवाती समयमा पाउरोटीका बारेमा थुप्रै अफवाह पनि फैलिएका थिए । घनश्यामका अनुसार त्यसबेला भारतमा पाउरोटीलाई ‘पावरोटी’ भनिन्थ्यो । त्यही शब्दको नेपाली नाम ‘पाउरोटी’ हुन पुगेको हो । भारतमा खुट्टाले मुछिने भएकाले ‘पावरोटी’ भनिने उनले बताए । पाउरोटी बनाउनका लागि पिठो मजाले मुछ्नुपर्ने भएकाले भारतमा रबरको बुट लगाएर बनाउने गरेको कृष्णबहादुरले आफूलाई सुनाएको घनश्यामले बताए । सुरुमा कृष्ण पाउरोटी बजारमा जान थालेसँगै हल्ला फैलियो, ‘खुट्टाले पिठो मुछेर बनाइने पाउरोटी खुवाइँदैछ ।’ खुट्टाले बनाएको भनेर पाउरोटीप्रति आममानिसमा घृणा उत्पन्न गराइयो । यसले कृष्णबहादुरलाई मानसिक रूपमा आघात नै पार्यो । ‘पिताजी धार्मिक स्वभावको भएकाले पाउरोटी बनाउन कहिल्यै पनि खुट्टाले पिठो मुछ्न दिनु भएन,’ घनश्यामले भने, ‘होचा टेबल बनाएर त्यसमा निहुरेर पिठो मुछ्ने व्यवस्था मिलाउनुभएको थियो ।’ यो हल्ला सेलाउन नपाउँदै पाउरोटीमा जाँड मिसाइने गरेको हल्ला फैलाइयो । पाउरोटी फुलाउन प्रयोग गरिने ‘हप्स’लाई जाँडको संज्ञा दिएर यस्तो हल्ला चलाइएको थियो । ‘त्यतिबेला हप्स कोलकाताबाट मगाउनुपर्थ्यो । यसलाई पानीमा राखेर उमालेपछि सेतो आकार दिन्थ्यो,’ घनश्यामले भने, ‘यसले पाउरोटीलाई हल्का अम्लीय बनाउँथ्यो ।’ पाउरोटी खुट्टाले बनाएको र जाँड मिसाएको अफवाह फैलिरहँदा पाउरोटीको व्यापार पनि ओरालो लाग्न थाल्यो । त्यही समयमा कृष्णबहादुरलाई ढाडस दिन आइपुगे कांग्रेस नेता बीपी कोइराला । पाउरोटीको सकारात्मक सूचना प्रवाहसँगै व्यापार पनि बढ्न थाल्यो । त्यतिबेला पाउरोटीको मूल्य एक पाउन्डको २५ पैसा थियो । बीपीको हौसलापछि परिवार नै पाउरोटी व्यवसायमा लाग्यो । त्यसपछि पाउरोटी व्यापारबाट नै आफ्नो परिवारको आर्थिक अवस्था सुध्रिँदै गएको घनश्यामले बताए । ‘त्यसपछि हामीले पाउरोटीलाई पसलमा मात्रै सीमित राखेनौं, खर्पनमा बोकाएर इन्द्रचोक, क्षेत्रपाटीजस्ता स्थानमा पुर्याउन थाल्यौं,’ उनले भने, ‘सुरुवाती चरणमा १०/१२ रुपैयाँबाट सुरु गरेको व्यवसाय २०११ सालसम्म आइपुग्दा दैनिक ५ देखि ८ सय रुपैयाँसम्मको व्यापार हुन थाल्यो ।’ पाउरोटीको माग बढ्दै जाँदा हातले बनाएर मात्र माग धान्न सक्ने अवस्था रहेन । त्यसपछि २०१६ सालमा बेलायतबाट पिठो मुछ्ने मेसिन नै झिकाइयो । ‘मेसिन घरमा आइपुग्दा बुवाको निधन भयो,’ घनश्यामले भने, ‘घरसम्म मेसिन ल्याउन उहाँ सफल हुनुभयो तर दुर्भाग्यवश उक्त मेसिन उहाँले देख्न पाउनु भएन ।’ कोइरालाले प्रजातन्त्र स्थापनासँगै भारतमा आवतजावत बढ्ने र पाउरोटी खाने चलन बढ्दै जाने भएकाले यसलाई तत्काल बन्द नगर्न आग्रह गरेको घनश्याम सुनाउँछन् । ‘त्यतिबेला कृष्ण पाउरोटी बचाउन बीपी कोइरालाको ढाडस र प्रेरणा महत्त्वपूर्ण रह्यो,’ उनले भने, ‘हरेस खाइसकेको व्यवसाय उहाँकै प्रेरणाले फेरि जुर्मुराएको थियो ।’ कृष्णबहादुरले आफ्नो उत्पादन शुद्ध छ भनेर प्रमाणित गर्न सूचनापाटीमै लेखेर टाँसे : ‘हातले मुछेको चोखो पाउरोटी, हप्सबाट बनेको शुद्ध पाउरोटी र सबैले खान हुने पवित्र पाउरोटी ।’ २०२० सालसम्म आइपुग्दा पाउरोटी पकाउने आधुनिक चुल्होसहित अन्य मेसिनहरू पनि बेलायतबाट झिकाइयो । २०२२/२३ सालतिर राजा महेन्द्रको दरबारमा पनि पाउरोटी जान थाल्यो । ‘त्यसपछि त ब्रान्डिङ नै गर्नुपरेन, राजाले खाने पाउरोटी भनेर प्रख्यात भयो,’ घनश्यामले भने, ‘राजाले पाउरोटी खान थालेपश्चात् व्यापार दिन दुई गुना रात चौगुनाका हिसाबले बढ्दै गयो ।’ पाउरोटी उद्योगको जिम्मा छोराहरूको हातमा आएपछि आधुनिकीकरणको रूप लिन थालेको पनि घनश्याम बताउँछन् । घनश्याम राजकर्णिकार २०२९ मा औद्योगिक व्यवस्थापन विषयको तालिम लिन जर्मनी पुगे । फर्किंदा १३ वटा सानाठूला अत्याधुनिक मेसिन लिएर आए । मेसिन भित्रिएसँगै उत्पादन क्षमतामा पनि वृद्धि भयो । उनका अनुसार २०३५ सालसम्म कृष्ण पाउरोटीको एकछत्र राज रह्यो । साइकल र भ्यानमा सहरका कुना–कुनामा कृष्ण पाउरोटी पुग्न थाल्यो । २०४६/४७ सालमा आइपुग्दा साइँला छोरा महाजन र कान्छा घनश्यामको नेतृत्वमा आइपुग्यो, जुन बेला व्यवसाय टुक्रिसकेको थियो । व्यवसाय बचाउनलाई दुई भाइको प्रयास रह्यो । २०५३ सालमा साइँला दाइको मृत्युपश्चात् व्यवसाय घनश्यामको काँधमा आइपुगेको हो । उनलाई बुवाको विरासत धान्नु थियो तर उनीसँग केही आधार थिएन । जर्मनीबाट ल्याएको मेसिन कवाडीको दाममा बेच्नुपरेको तीतो अनुभव उनले सुनाए । व्यवसायले सफलताको उचाइ लिइरहँदा कृष्ण पाउरोटी भण्डार पारिवारिक झमेलामा पनि फस्दै गयो । २०३८ सालमा घरको मूली जेठो छोरा गणेशबहादुरको मृत्युपश्चात् उद्योग जटिल मोडमा पुग्यो । कुशल र व्यावहारिक व्यक्ति गुमाएसँगै व्यवसाय पनि अव्यावहारिक रूपमा अगाडि बढ्न थालेको घनश्याम बताउँछन् । अंशबन्डा गर्दै जाँदा व्यवसाय आर्थिक रूपले कमजोर भयो । ‘त्यसपछि डुबिसकेको व्यवसायलाई बिस्तारै अगाडि बढाएँ,’ घनश्यामले भने, ‘२०७२ मा म आफैं अध्यक्ष र छोरीहरूलाई सञ्चालकमा नियुक्त गरी ‘कृष्ण पाउरोटी भण्डार प्रा.लि.’ नाममा पुनः दर्ता गराई नातिनी पुस्तामा हस्तान्तरण गरेको हुँ ।’ साइँली छोरी प्रज्ञा काठमाडौंको एक फाइनान्स कम्पनीको अधिकृत थिइन् । काइँली सृष्टि विदेशबाट फर्किएर ग्लोबल आईएमई बैंकको अधिकृत बनिन् । कान्छी पूजा सिभिल बैंकमा कार्यरत थिइन् । तीनै दिदी–बहिनीले एक मन बनाएर जागिर छोडे र उद्योगलाई अगाडि बढाउने निर्णय गरे । ‘छोरी भएका कारण हामीमाथि थुप्रै प्रश्न उठे,’ पूजा भन्छिन्, ‘हाम्राअगाडि चुनौतीका पहाड ठडिए । तर, हरेस खाएनौं । समस्यासँग जुझ्दै अघि बढ्यौं ।’ घनश्याम राजकर्णिकारका पाँचमध्ये तीन छोरीले अहिले कृष्ण पाउरोटी भण्डार हाँकिरहेका छन् । घनश्यामको इच्छा छोरीहरूले जागिर खानुभन्दा पुर्ख्यौली व्यवसायलाई धानून् भन्ने थियो । सोही अनुसार उनका छोरीहरूले यस व्यवसायलाई अगाडि बढाइरहेका हुन् । फाइनान्सदेखि बैंकको जागिर छोडेर उनीहरू अहिले यस व्यवसायलाई अघि बढाउन लागिपरेका छन् । पुरानो शैलीमा चलिरहेको पाउरोटी भण्डारले आफूहरूको आगमनसँगै नयाँ रूपरंग पाएको उनीहरू बताउँछन् । अहिले पाउरोटी भण्डारमा पूजाले टेक्नोलोजी, सृष्टिले एकाउन्ट र प्रज्ञाले उत्पादन क्षेत्र हेरिरहेका छन् । ‘यसअघि खास कुनै नीति–नियम थिएन, व्यवस्थापन पनि चुस्त लागेन,’ प्रज्ञा भन्छिन्, ‘उत्पादनको गुणस्तरदेखि विभिन्न सफ्टवेयर विकास गरेर व्यवसायलाई डिजिटलाइजेसन गर्दै अगाडि बढ्ने प्रयत्न गरिरहेका छौं ।’ गर्यो । ‘सुनसान बस्तीमा आउटलेट खोल्न बुवाले मान्नुभएको थिएन,’ प्रज्ञा भन्छिन्, ‘त्यसैले यो हाम्रा लागि चुनौती थियो तर छोटो समयमा नै सफल भयौं, जहाँ बेकरी छैन त्यहाँ हामी पुग्नुपर्छ भन्ने हाम्रो योजना छोटो समयमै सफल भयो ।’ ६ दशकसम्म कमलपोखरीमा सीमित रहेको कृष्ण पाउरोटी उद्योगलाई विस्तार गर्ने योजनाअनुरूप १० वर्षअगाडि पहिलो पटक भैंसेपाटीमा आउटलेट खोलिएको थियो । व्यापार सहरमा र भीडभाडमा मात्र सञ्चालन हुन्छ भन्ने बुवा पुस्ताको सोचाइलाई छोरीहरूले चुनौती दिएका थिए । उक्त आउटलेटले एक वर्षमै नाफा पनि आर्जन कृष्ण पाउरोटी भण्डार यतिबेला काठमाडौंबाट ललितपुरसम्म फैलिरहेको छ । इमाडोल, सातदोबाटो, खुमलटार र भैंसीपाटीमा ४ आउटलेट सञ्चालनमा छन् । हात्तीवनमा फ्रेन्चाइजमा सञ्चालित छ । नयाँ पुस्ताको हातमा व्यवसाय आइपुग्दा कृष्ण पाउरोटी भण्डार पाउरोटी उत्पादनमा मात्र सीमित छैन, माग र समयअनुसार २ सय किसिमका बेकरी आइटम उत्पादन गरिरहेको छ । छोरीहरूको मुख्य लक्ष्य नै युवापुस्तामा पुग्नु छ । ब्रान्ड बुझाउनु छ । ‘अहिलेको युवापुस्ता कृष्ण पाउरोटीबारे जानकार छैन,’ सृष्टि भन्छिन्, ‘त्यसैले युवापुस्तासम्म पुग्नका लागि विद्यार्थीलाई बेकरी भिजिट गराउनेदेखि कृष्ण पाउरोटी भण्डारको इतिहास बुझाउने प्रयास गरिरहेका छौं ।’ नयाँ पुस्ता पाउरोटीमा विविधता खोजिरहेको पूजा बताउँछिन् । ‘अहिलेको युवापुस्ता हेल्थ कन्सस छ,’ उनले भनिन्, ‘शुभकामना आदानप्रदानमा कार्ड बाँड्ने चलन अहिले केकमा पुगेको छ, हरेक सेलिब्रेसन केकमार्फत हुन थालेको छ ।’