प्रधानमन्त्री प्रचण्डको विश्वासको मत प्रतिनिधि सभा बैठकको कार्यसूचीमा

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ ६,

मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चौथो पटक सोमबार विश्वासको मत लिने भएका छन्। आइतबार बेलुका संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने उल्लेख छ। जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन वैशाख ३१ गते फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिन लागेका हुन्। यस अगाडि प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिनका लागि व्यवस्था मिलाउन संघीय संसद्‌ सचिवालयलाई पत्र पठाएका थिए। जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन वैशाख ३१ गते फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिन लागेका हुन्। कार्यसूचीमा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गर्नुहुने र उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने उल्लेख छ। संविधानको धारा १०० को उपधारा (२)मा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न १३८ सांसदको समर्थन आवश्यक पर्छ। सरकारमा हाल एमाले (७८ सभामुखसमेत),माओवादी केन्द्र (३०), रास्वपा (२१), जसपा (७), एकीकृत समाजवादी (१०) सहभागी छन्। नागरिक उन्मुक्ति र र स्वतन्त्र तीन सांसदको समर्थन रहेको छ। संसदको गतिरोध कायम रहेको,नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने भएकाले त्यस अगावै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। जेठ १ गते सरकारले नीति तथा कार्यक्रमा ल्याएको छ तर छलफल हुन सकेको छैन। जेठ १५ गते बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था छ। आइतबारको बैठकमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले कांग्रेस उठाएका प्रश्नको जवाफ दिएपछि सोमबारसम्म स्थगित भएको छ। प्रचण्डले पछिल्लोपटक २०८० फागुन ३० गते विश्वासको मत पाएका थिए । प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रतिनिधिसभामा तेस्रो पटक विश्वासको मतका लागि पेश गरेको प्रस्तावको पक्षमा १५७ मत र विपक्षमा ११० मत खसेको थियो। प्रधानमन्त्री प्रचण्डलाई नेकपा एमाले,माओवादी केन्द्र,रास्वपा, जसपा, नेकपा एकीकृत, नागरिक उन्मुक्ति र तीनजना स्वतन्त्र सांसद ( प्रभु साह,अमरेश कुमार सिंह र योगेन्द्र मण्डल) ले विश्वासको मत दिएका हुन्। कांग्रेस,राप्रपा,लोसपा,जनमतलगायतले मत दिएका थिएनन्। गत २०७९ पुस १० गते कांग्रेसको गठबन्धन तोडेर एमाले नेतृत्वको गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका हुन्। प्रचण्डले त्यसअघि २६ पुस २०७९ मा पहिलो पटक र ६ चैत्रमा दोस्रो पटक विश्वासको मत लिएका थिए। पहिलो पटक बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले प्रचण्डलाई मत दिएका थिए। दोस्रो पटक बैठकमा उपस्थित २६२ सांसदमध्ये १७२ जनाले मत दिएका थिए।

Like