शीर्ष नेतासँग संसदको गतिरोध अन्त्य गर्न छलफल गर्दै सभामुख

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ ५,

मुलुकमा सभामुखसहित शीर्ष नेताको बैठक आज दिउँसो बस्ने भएको छ। संसदमा उत्पन्न गतिरोध अन्त्य गर्न विभिन्न चरणमा सत्ता पक्ष र प्रतिपक्षबीच छलफल भएपनि निष्कर्षविहीन बनेपश्चात आज पुन:सभामुख देवराज घिमिरेले बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न लागेका हुन्। प्रमुख प्रतिपक्षी दल कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने अडान राखेको छ। बैठक सुरु हुने बित्तिकै प्रतिपक्षले अवरोध गरेपनि सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए। त्यसपश्चात गृहमन्त्री लामिछानेलाई बोल्न समय पनि दिएपनि लामिछाने बोल्न पाएनन्। सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार आज दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सदन खुलाउने विषयमा प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री ओलीसँग संयुक्त छलफल गर्न लागेका हुन्। समय व्यवस्थापन भए प्रमुख प्रतिपक्ष दल कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि सभामुखले छलफल गर्ने बताइएको छ। कांग्रेसले निरन्तर अवरोध गरेपश्चात संसदमा सहकारीको रकम हिनामिनाबारे आफूमाथि लागेको आरोपबारे गृहमन्त्री लामिछानेले जवाफ दिन पाएका छैनन्। शुक्रबारको बैठकमा धकेलाधकेल, सत्ता पक्ष र प्रतिपक्षबीच मुठभेटको अवस्थासमेत भएपछि बैठक स्थगित भएको थियो। संसदीय छानबिन समिति बनाउने विषयमा सहमति नजुटेपछि शुक्रबार बोलाइएको प्रतिनिधि सभा बैठक आइतबार ११ बजे बस्नेगरी बैठक स्थगित भएको छ। संसदीय छानबिन समिति बनाउने विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्ष आ-आफ्नो अडानमा छन्।

Like