सुहाङको मत निरन्तर मतान्तर हुने गति बढ्दै

Share to:

रासंसा/इलाम, बैशाख १७,

मुलुकमा इलाम क्षेत्र २ को शनिवार सम्पन्न मतदानको मतगणनामा नेकपा (एमाले)का सुहाङ नेम्बाङले निरन्तर मतान्तर बढाइरहेका छन्। फाकफोकथुम गाउँपालिकाका सबै र चुलाचुली गाउँपालिकाका पाँच वटा वडाको मतगणना सकिँदा सुहाङले सात हजार ६ सय ७७ मत प्राप्त गरेका छन्। यस्तै पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले चार हजार ५८ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलनकुमार योङहाङ लिम्बूको अहिलेसम्ममा एक हजार १६२ मत आएको छ। नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले पाँच हजार ३९५ मत प्राप्त गरेका छन्। सुरुआती चरणमा अग्रता लिएका खड्का अहिले सुहाङलाई पछ्याइरहेका छन्। अहिले चुलाचुली वडा ६ र माङ्सेबुङ वडा १ को मतगणना जारी छ। यो क्षेत्रका छ पालिकाका ४२ वटा वडामध्ये अहिलेसम्म ११ वटा वडाको गणना सकिएको हो। क्षेत्र २ मा ६९ हजार २ सय ८७ मत खसेकामा अहिलेसम्ममा १८ हजार ९४८ मत गणना भइसकेको छ।
यो क्षेत्रमा एक लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६९ हजार दुई सय ८७ मत खसेको छ।

Like