म्याग्देमा खानेपानी समितिको २२औं साधारण सभा सम्पन्न: राम हरि घिमिरेको अध्यक्षतामा नयाँ समिति चयन

अन्जनराज न्यौपाने गण्डकी प्रदेश तनहु
तनहुँ, म्याग्दे ।
म्याग्दे गाउँपालिका वडा नं. ३ स्थित अधिकारी थोक धयेरे सिमल्टर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको २२औं साधारण सभा, अधिवेशन एवं डिपबोरिङ उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भयो।
संस्थाका सभापति केशव राज घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठ प्रमुख अतिथि र गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरे विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठ र विशिष्ट अतिथि घिमिरेले यस क्षेत्रको विगतको खानेपानी समस्या तथा अवस्थाबारे प्रकाश पारे। उहाँहरूले आयोजनाको निर्माण र खानेपानीको पहुँच विस्तारमा स्थानीय उपभोक्ता तथा सरोकारवालाहरूले पुर्याएको अतुलनीय योगदानको उच्च कदर एवं प्रशंसा गरे।
कार्यक्रममा गाउँ कार्यपालिका सदस्य जानकी थापा, जनप्रतिनिधि सुनिता नेपाली, जनगणपति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील न्यौपाने, पसले खानेपानीका अध्यक्ष दधी राज श्रेष्ठ, अधिकारी थोक टोल विकास संस्थाका अध्यक्ष धर्म राज घिमिरे, बेल्टार खानेपानीका अध्यक्ष पूर्ण चन्द्र घिमिरे तथा समाजसेवी राम भक्त घिमिरेले आयोजनाको सफलताको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरे।
कार्यक्रममा बसन्ती आलेले स्वागत मन्तव्य राखिन् भने कोषाध्यक्ष पूर्ण मान श्रेष्ठले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरे। सोही अवसरमा खानेपानी आयोजना निर्माणका लागि ०-४-०-२ क्षेत्रफल जग्गा निःशुल्क दान गर्नुहुने जग्गादाता प्रकाश घिमिरेलाई विशेष सम्मान गरियो। कार्यक्रमको सञ्चालन राम घिमिरेले गरे।
अधिवेशनले राम हरि घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्यो। निर्वाचन प्रक्रिया सम्पन्न गर्नका लागि समाजसेवी राम भक्त घिमिरेको संयोजकत्वमा पूर्ण चन्द्र घिमिरे र सुनिता परियार सदस्य रहेको निर्वाचन मण्डल गठन गरिएको थियो।
नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा राम हरि घिमिरे, उपाध्यक्षमा हरि भक्त अधिकारी, सचिवमा बिदुर घिमिरे र कोषाध्यक्षमा सकुन्तला घिमिरे चयन हुनुभएको छ। त्यसैगरी, सदस्यहरूमा राम माया वि.क., बुद्धि प्रसाद अधिकारी, बाल माया थापा, फुल माया थापा, धनु ब. शाही, दिनेश अधिकारी र जौ माया थापा रहेका छन्
निर्वाचन सम्पन्न भएपश्चात् निर्वाचन मण्डलका संयोजक राम भक्त घिमिरेले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई माला लगाएर बधाई ज्ञापन गरे भने निवर्तमान अध्यक्ष केशव राज घिमिरेले टीका लगाएर सफल कार्यकालको शुभकामना व्यक्त गरे।
पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष राम हरि घिमिरेले सम्पूर्ण उपभोक्ताहरूलाई नियमित, सर्वसुलभ र स्वच्छ खानेपानी उपलब्ध गराउन
आफू र आफ्नो टिम दृढ प्रतिबद्ध भएर लाग्ने बताए।
