मेलम्ची आयाेजनामा अनियमितताको मुद्दामा पूर्वसचिव भीम उपाध्यायसँग ५० हजार धरौटी माग
रासंसा/काठमाण्डौ, बैशाख १६,
मुलुकमा विशेष अदालतले पूर्वसचिव भीमप्रसाद उपाध्यायसँग ५० हजार रुपैयाँ धरौटी माग गरेको छ। उपाध्याय मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको भनी दायर मुद्दाका प्रतिवादी हुन्। गत ६ फागुनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनजना पूर्वसचिवसमेत १७ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो। उपाध्यायविरुद्ध चार करोड ११ लाख बिगो कायम गर्दै मुद्दा दायर भएको हो। पूर्वसचिव भीमप्रसाद उपाध्याय आइतबार अदालतमा उपस्थित भएका थिए। यस मुद्दामा अदालतमा उपस्थित हुने उनी दोस्रा प्रतिवादी हुन्। यसअघि रुद्रसिंह तामाङ पनि उपस्थित भइसकेका छन्। उनी मेलम्ची खानेपानी विकास समिति बोर्डको तत्कालीन अध्यक्ष हुन् भने खानेपानी मन्त्रालयका सचिवसमेत रहिसकेका छन्। मेलम्चीमा झन्डै सात अर्ब रुपैयाँ अनियमितता भएको अख्तियारको दाबी छ।