नेपाल प्रहरीमा के भइरहेछ ?
रासंसा/काठमाण्डौ, बैशाख ०५,
मुलुकमा प्रहरी नियमावली, २०७१ अनुसार ३० वर्षे सेवावधि, पदावधि र उमेर हदबाट अनिवार्य अवकाशमा जाने प्रावधान छ। डिआइजी र एआइजीका हकमा उमेर हद ५६ वर्ष कायम गरिएको छ। ३० वर्षे सेवावधि अझै एक वर्ष रहँदा पनि उमेर हद सामुन्ने आएपछि भण्डारी र चौधरीको सेवाकालमा पूर्णविराम लाग्न थालेको हो। यसै साता नेपाल प्रहरीका दुईजना अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) उमेर हदका कारण अवकाशमा जाँदैछन्। प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरसँगै २०५१ चैत ५ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका एआइजीद्वय सन्दीप भण्डारी र मीरा चौधरी अनिवार्य अवकाशमा जान लागेका हुन्। भण्डारीले बुधबार र चौधरीले शुक्रबार अवकाश पाउनेछन्। भण्डारी र चौधरीको अवकाशपछि रिक्त हुने एआइजी पदपूर्तिका लागि गृह मन्त्रालयको पदपूर्ति समितिले काम थालिसकेको छ। समितिको सोमबार बसेको बैठकले प्रहरी नायब महानिरीक्षक (डिआइजी) द्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई बढुवा सिफारिस गरेको छ। उजुरी नपरे दुवैजना अर्को साता एआइजीमा बढुवा हुनेछन्। आगामी शुक्रबार एआइजी चौधरीसँगै डिआइजी विकासराज खनाल पनि उमेर हदकै कारण अवकाश जानेछन् भने जेठ १० डिआइजी सुरेन्द्र मैनालीको पनि अवकाश मिति हो। यस्तै असार २१ मा डिआइजी पोषराज पोखरेल र एआइजी श्यामलाल ज्ञवालीले भदौ तथा एआइजी किरण बज्राचार्यले कात्तिकमा अवकाश पाउनेछन्। जोशी र ढकाल पनि आइजिपी कुँवरकै ब्याचमेट अधिकृत हुन्। उनीहरू पनि यसै वर्ष उमेर हदका कारण अवकाशमा जाँदैछन्। जोशीले असार १९ र ढकालले असोजमा अवकाश पाउँदैछन्। यसपटक रिक्त हुन लागेका दुई एआइजी दरबन्दीमा डिआइजी बढुवा हुने बेलाका वरिष्ठतम अधिकृतहरूलाई मौका दिइएको छ। २०७९ असार ९ गते बढुवा सिफारिस भई अनुमोदन भएको वरीयताक्रम अनुसार जोशी र ढकाल वरिष्ठतम डिआइजी थिए। दोस्रोमा रहेका अशोक सिंह भने जन्ममितिको विवादमा एआइजी बढुवा हुनुअगावै राजीनामा दिएर बाहिरिइसकेका थिए। त्यसपछि अहिले बढुवा सिफारिस भएका जोशी ११औं र ढकाल १२औं नम्बरमा थिए। उतिबेलाको बढुवामा पहिलो नम्बरमा रहेका कुँवर आइजिपी हुँदा दोस्रो नम्बरमा रहेका टेकप्रसाद राई, चौथोमा रहेका दीपक थापा, पाँचौंमा रहेका श्यामलाल ज्ञवाली, छैटौंमा रहेकी किरण बज्राचार्य, सातौंमा रहेका सन्दीप भण्डारी, आठौंमा रहेका सुदीप गिरी, नवौंमा रहेकी मीरा चौधरी र १०औंमा रहेका टेकबहादुर तामाङ एआइजी छन्। आइजिपी कुँवर नेपाल प्रहरीमा रहेको ३० वर्षे सेवावधि नहटे आगामी चैतमा सेवावधिका कारण अवकाशमा जानेछन्। उक्त प्रावधान हटाउने चर्चा पनि छ। प्रहरी संरचनालाई व्यवस्थित गर्न तयार भइरहेको नयाँ प्रहरी विधेयकमा उक्त व्यवस्था हटाउन सरोकारवाला सहमत छन्। प्रहरीमा अनिवार्य अवकाशको अर्को मापदण्ड पदावधिको पनि छ। हालको नियमावलीले आइजिपीको हकमा चार वर्षको पदावधि कायम गरेको छ। आइजिपी कुँवर २०७९ चैत ११ गते आइजिपी नियुक्त भएका हुन्। यद्यपि ५८ वर्षे उमेर हद भने आइजिपी कुँवरको हकमा लागु हुने देखिँदैन। उनको जन्ममिति २०२६ चैत १५ गते हो। जसअनुसार उनको कार्यकाल २०८४ सम्म कायम हुन आउँछ। ३० वर्षे सेवावधि हटेर सोही मापदण्ड लागु भए उनी २०८३ चैतसम्म जिम्मेवारीमा हुनेछन्। यद्यपि प्रस्तावित पदावधि आइजिपीको हकमा तीन वर्षको राख्ने चर्चा पनि छ। उक्त प्रावधान लागु भए उनी २०८२ चैतसम्म कार्यरत रहनेछन्। उनीहरूले २०५१ भदौ २१ गतेबाट सेवा प्रवेश गरेका थिए। त्यतिन्जेल आइजिपी कुँवरका सबैजसो ब्याचमेट अवकाशमा गइसकेका हुनेछन्। आइजिपी कुँवरको कार्यकाल लम्बिने अवस्थामा भने अन्य प्रतिस्पर्धी पनि आउन सक्ने देखिन्छ। प्रहरीको बढुवामा राजनीतिक दाउपेच चल्ने गरेको इतिहासले यसै भन्न सकिने अवस्था नरहेको जानकारहरू बताउँछन्। नयाँ व्यवस्था लागु हुँदा र नहुँदा आगामी आइजिपीको सम्भावनामा भने असर गर्ने देखिन्छ। आइजिपी कुँवर ३० वर्षे सेवावधिकै कारण हट्ने अवस्था भए बहालवाला एआइजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङलाई फाइदा पुग्ने देखिन्छ।