उपत्यकामा फेरि कोरोना, १२ जनामा पुष्टि कडा लक्षण देखिएकाले आइसियुमा राखेर उपचार, दुई डिस्चार्ज

Share to:

रासंसा/काठमाण्डौ, चैत्र १४,

मुलुकमा काठमाडौं उपत्यकामा मौसमी फ्लु भनी अनुमान गरिएका केही बिरामीमा कोभिड १९ पुष्टि भएको छ। उपचारका लागि त्रिवि शिक्षण अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका बिरामीको जाँच गर्दा १२ जनामा कोभिड पुष्टि भएको हो। त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि पुगेका बिरामीमध्ये चार जनामा कोभिड पुष्टि भएको अस्पतालले जनाएको छ। आकस्मिक कक्षका प्रमुख डा. रमेश महर्जनका अनुसार सोमबार परीक्षण गरिएका नौवटा नमुनामध्ये चारवटामा कोभिड संक्रमण पाइएको हो। उनीहरू निमानियाको सिकायत लिएर अस्पताल पुगेका थिए। कोभिड पुष्टि भएका सबैलाई भर्ना गरिएको जानकारी डा. महर्जनले दिए। एक सातायता निमानियाको लक्षणसहित अस्पताल पुग्ने बिरामी बढेका छन्। कोभिड पुष्टि भएकालाई निमोनिया, श्वासप्रश्वास समस्या देखिएपछि आइसियुमै राखेर उपचार गर्नु परेको हो। निमोनिया, श्वासप्रश्वासको सिकायत लिएर अस्पताल पुग्नेमा ५०÷६० वर्षमाथिका र पहिला एकपटक कडा खालको कोभिड लागेका, मधुमेह र दम भएका बिरामी छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार मंगलबारसम्म आठजनामा कोभिड १९ पुष्टि भएको छ। पुष्टि भएका सबैलाई अस्पतालको आइसियु तथा हाइडिपेन्डेन्सी युनिटमा राखेर उपचार गरिएको छ। जसमध्ये दुईजना डिस्चार्ज भएका छन्। संक्रमित ६ जनाको उपचार भइरहेको शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले बताए। उनका अनुसार सोही अस्पतालमै परीक्षण गर्दा उनीहरूमा कोेभिड पुष्टि भएको हो। भर्ना भएका कोभिडका बिरामीलाई कडा समस्या देखिएपछि आइसियुमा राखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आइसियु इन्चार्ज उषा देवकोटाले बताइन्। ‘कोभिड महामारी अन्त्य भएपछि यसबाट संक्रमित छिटपुट रूपमा देखिने गरेकोमा एक सातायता धेरैजना भर्ना हुुनु प¥यो,’ उनले भनिन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मार्च १० भित्रको नमूना परिक्षण गर्दा बिभिन्न खालका मौसमी फ्लुहरू धेरै संख्यामा पुष्टि भएको छ। जनवरीदेखि मार्च १० भित्र परीक्षण गरेका २४ सय २६ वटा नमूनामध्ये चार सय १६ वटामा एचवान एन१, ३३ वटामा ए१ एच थ्री, ६२ वटामा कोभिड १९ र चारवटामा स्वाइन फ्लु पुष्टि भएको छ। पछिल्लो दुई साताको कोभिड परीक्षण तथ्यांक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग छैन। पछिल्लो दुई सातायता कोभिड १९ को जिन सिक्वेन्सिङ पनि नगरेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. राजराज भट्टले बताए। ‘एकै पटक धेरैजनामा पुष्टि भएपछि मात्र जिन सिक्वेन्सिङ गर्छाैं,’ उनले भने। इपिडिमियोेलोेजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकमा अहिले कोभिड १९ का सक्रिय संक्रमित ६ जना छन्। देवकोटाको अनुसार नेपाल–भारत सीमावर्ती क्षेत्रमा कोभिड १९ का बिरामी भेटिन थालेपछि अस्पतालहरूले थन्काएर राखेका उपकरणलई तयारी अवस्थामा राख्न लागेका छन्। ‘हामी बेड र उपकरण तयार गरी राख्दैछौं,’ उनले भनिन्।

Like