नेपाली खेलकुदलाई नयाँ उचाइमा पु-याउने ‘कर्णाली रंगशाला’
टिकाराम सिंह/सुर्खेत, पौष २९,
मुलुकमा मुलुकमा नयाँ बनिरहेका संरचनाहरूमध्ये सकारात्मक सन्देश दिने एउटा भव्य र अद्वितीय आर्किटेक्चरको नमुना हो, वीरेन्द्रनगरस्थित कर्णाली रंगशाला । आधुनिक वास्तुकला र नवीनतम डिजाइनका कारण पछिल्लो समय सामाजिक सञ्जालमा पनि यसका फोटा तथा भिडियोहरू व्यापक छाइरहेका छन् । रंगशालाको समग्र दृश्य, यसको आर्किटेक्चर, रंगीन संरचनाहरूको दृश्यलाई देखेर मानिसहरूले यसलाई रमणीय स्थलका रूपमा चित्रित गर्ने गरेका छन् । प्रदेश गौरवका आयोजनाका रूपमा अघि बढाइएको रंगशालाको २० मंसिर २०७८ मा तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले शिलान्यास गरेका थिए । ९ बिघा क्षेत्रफलमा रहेको रंगशाला १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार रुपैयाँ लागतमा निर्माण भएको हो । ‘रंगशालाको डिजाइन, सन्देश र सौन्दर्यका पाटोबाट हेर्दा जति भव्य छ, यसको निर्माणले नेपाली खेलकुद क्षेत्रलाई त्यति नै नयाँ उचाइमा पु¥याउनेछ,’ कर्णाली प्रदेश खेलकुद विकास परिषद्का निवर्तमान सदस्य सचिव विश्वामित्र सञ्ज्याल भन्छन्, ‘यसले कर्णालीको प्रतिष्ठा बढाउने काम गरेको छ, प्रदेशले आफ्नै सामथ्र्यमा विकास र समृद्धिको अभियान अघि बढाउन सक्छ भन्ने सन्देश प्रवाह भएको छ ।’ रंगशाला निर्माणको जिम्मेवारी भारतीय र नेपाली ठेकेदारसहितको एमएसी÷जीएसएल जेभी कम्पनीले पाएको थियो । १० हजार दर्शक अट्ने क्षमताको रंगशालाभित्र फिफा मापदण्डअनुसारको फुटबल मैदान बनाइएको छ । जसको लम्बाई १ सय ५ मिटर तथा चौडाई ६८ मिटर छ । मैदानमा नयाँ प्रविधिबाट पानी छर्किने स्प्रिङ्कल छन् । ३० मिनेटभित्र मैदान सिँचाइ हुने सातवटा प्वाइन्ट जडान गरिएको छ । प्रदेश खेलकुद विकास परिषद्का अनुसार रंगशालाभित्र १६ वटा खेल खेलाउन सकिनेगरी पूर्वाधार बनाइएको छ । यहाँ दुई कभर्डहल, एथलेटिक्स, दुई आउटडोर, भलिबल कोर्ट, बास्केटबल, ह्यान्डबल, कबड्डी, क्रिकेट मैदान, स्वीमिङ पुल, सटरसहितको कम्पाउन्ड र अन्डरग्राउन्ड पार्किङ स्थल छन् । त्यस्तै, १० हजार दर्शक अट्ने भूकम्प प्रतिरोधी प्याराफिट, दुईतले भीआईपी प्याराफिट निर्माण गरिएको छ । खेलाडीको चेन्जिङ रुम, शौचालय, मिडिया ग्यालरी, क्यान्टिन, रेफ्री रुम, मेडिकल रुम, फिजियोथेरापी रुम, भीआईपी वेटिङ रुम पनि छन् । व्यापारिक तथा सुरक्षा प्रयोजनका लागि ४० सटर र कम्पाउन्ड वाल निर्माण गरिएको छ । कलात्मक शैलीका कम्पाउन्ड वाल र मूल ढोकामाथि पञ्चदेवलका आकृति राखिएको छ । खेलप्रेमीहरूका भनाइमा यस रंगशालाले कर्णालीको नभई समग्र नेपाली खेल जगतकै गौरव बढाएको छ । ‘यसले खेलकुद क्षेत्रको विकासमा ठूलो मद्दत पु¥याएको छ, काठमाडौंबाहिर पनि अन्तर्राष्ट्रियकरण ठुल्ठुला प्रतियोगिता आयोजना गर्न सकिने पूर्वाधार छन् भन्ने सन्देश दिएको छ,’ सुर्खेत निवासी राखेप बोर्ड सदस्य नन्दा बस्याल भन्छिन्, ‘पूर्वाधार निर्माणसँगै नियमित खेल गतिविधि सञ्चालन हुन जरुरी छ, रंगशालालाई बहुआयामिक उपयोगमा ल्याएर प्रदेशले आम्दानीको स्रोतका रूपमा अघि बढाउनुपर्छ ।’ यद्यपि, २०७९ जेठमा पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापनका बेला राखेपले १०औं खेलकुदका लागि २ देखि ९ मंसिर २०८१ को मिति प्रस्ताव गरेको थियो । रंगशालाको भौतिक प्रगतिमा ढिलाइ, राखेप बोर्डमा राजनीतिक नेतृत्व र पदाधिकारीबीचको बेमेलका कारण प्रतियोगिता मंसिरबाट धकेलिएको हो । राखेपमा सचिवालय स्थापना गरेलगत्तै सुर्खेत आइपुगेका परिषद्का सदस्य सचिव टंकलाल घिसिङ आगामी चैतमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता अब कुनै पनि कारणले नरोकिने दाबी गर्छन् । वीरेन्द्रनगर उपत्यकाको मध्यभागमा अवस्थित छ, कर्णाली रंगशाला । यो स्थान वीरेन्द्रनगर–८ मा पर्छ । यही रंगशालामा आगामी २३ देखि ३० चैतसम्म नेपाली खेलकुदको महाकुम्भ आयोजना गर्ने सरकारको तयारी छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठकले सो मिति प्रस्ताव गर्दै १०औं खेलकुद प्रतियोगिताका लागि तयारी गर्न सचिवालयसमेत स्थापना गरिसकेको छ । कर्णाली खेलकुद विकास परिषद्का अध्यक्ष एवं प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी संघीय सरकारले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका सम्बन्धमा कार्यविधि पारित गरी प्रदेशलाई व्यवस्थापनको जिम्मेवारी दिनुपर्ने बताउँछन् । ‘राखेपले गर्नुपर्ने के–के हो ? प्रदेश सरकारले गर्नुपर्ने कामहरू के–के हुन् ? छिटो टुंगो नलगाउँदा तयारीमा समस्या पर्छ,’ उनी भन्छन्, ‘प्रतियोगिताको आयोजक संघीय सरकार भएकाले बजेट र व्यवस्थापनको विषयमा संघ–प्रदेशको भूमिका प्रस्ट हुनुपर्छ ।’ ‘रंगशालालगायतका आवश्यक भौतिक पूर्वाधार सम्पन्न भइसकेका छन्, सुर्खेतमा आवास व्यवस्थापनमा अलिकति चुनौती देखिन सक्छ,’ उले भने, ‘यसका लागि उद्घाटन र समापनलाई मध्यनजर गरी प्रतियोगिता सञ्चालन गर्न सकिने आधारहरू छन् ।’ राखेपको आगामी ३ माघमा बस्ने बोर्ड बैठकबाट राष्ट्रिय खेलकुद’bout थप निर्णयहरू हुने उनको भनाइ छ । कर्णाली खेलकुद विकास परिषद्ले राखेपसमक्ष १०औं राष्ट्रिय खेलकुदका लागि २४ वटा खेल खेलाउन सकिने आधार पेस गरेको छ । प्रदेश रंगशालामा ब्याडमिन्टन, तेक्वान्दो, उसु, भलिबल, क्रिकेट, फुटबल, बास्केटबल, ह्यान्डबल, खो–खो, पौडी, एथलेटिक्स खेलाउने तयारी छ भने कुस्ती, जुडो, शारीरिक सुगठन, भारोत्तोलन, कबड्डी, कराँते, टेबलटेनिस, बुद्धिचाल, रग्बी, बक्सिङ रंगशालाबाहिर खेलाइनेछ । १०औं राष्ट्रिय खेलकुदका लागि मिति नजिकिँदै गर्दा कर्णालीमा भने प्रदेश खेलकुद विकास परिषद्का पदाधिकारीको कार्यकाल सकिएको छ । परिषद्का उपाध्यक्ष प्रमोद हमाल, सदस्य सचिव विश्वामित्र सञ्ज्यालसहित सदस्यहरूको पदावधि गत ६ पुसमा सकिएको हो । प्रदेश सरकारले पदाधिकारी नियुक्तिको प्रक्रिया अघि बढाएको छैन । परिषद्का अध्यक्षसमेत रहेका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी तत्काल प्रक्रिया अघि बढाउने बताउँछन् । ६ पुस २०७७ मा नियुक्त भएका परिषद्का उपाध्यक्ष हमाल एमाले र सदस्य सचिव सञ्ज्याल माओवादी कोटानिकट हुन् । तत्कालीन नेकपाकालमा महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले परिषद् गठन गर्दा सदस्यहरू पनि एमाले–माओवादी निकटलाई नै नियुक्त गरिएको थियो । तर, कांग्रेसले परिषद्मा आफूनिकट सदस्य नभए पनि १०औं खेलकुदको व्यवस्थापन गर्नुपर्ने चुनौतीपूर्ण अवस्थामा अनुभवी नेतृत्वलाई केही समयसम्मका लागि निरन्तरता दिन सकिने तर्क अघि सारेको छ । प्रदेश सरकारको नेतृत्वसमेत गरिरहेको एमालेले यस सम्बन्धमा कुनै धारणा सार्वजनिक गरेको छैन । सत्तारूढ दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच परिषद्का पदाधिकारीको नियुक्ति प्रक्रियामा कुरा नमिलेको बताइएको छ । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले रंगशालाको रङरोगन, फिनिसिङ र सरसफाइको काम भइरहेको र १०औं खेलकुदको तयारीमा जुट्नुपर्ने बेला नयाँ नियुक्तिको साटो पुरानै पदाधिकारीलाई जिम्मेवारी दिनुपर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।