१७ हजार दुर्घटनामा गएको ५ महिनामा ९ सयको मृत्यु
रासंसा/काठमाण्डौ, चैत्र ८,
मुलुकमा एक्कासि आइपरेको बज्रपातको खबरले सिस्ने गाउँपालिका–६ रुमालबाराकी रश्मी परियारलाई संसारै खसेजस्तो भएको छ । गत सोमबार साँझ ५ बजेतिर बागलुङको निसीखोला–६ जाउलेपानीमा रुकुम पश्चिमबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा ज्यान गुमाउने ९ जनामध्ये एक थिए उनका छोरा विक्रम परियार । ‘मैले त पढ्न पाइनँ तर भाइले आफ्नै मिहिनेतले पढ्यो । अब बीए पढ्छु भन्थ्यो, मैले पनि सकेको गरौँला भनेको थिएँ । नफर्किने गरी गयो,’ अमृत भक्कानिँदै भन्छन् । विक्रमसँगै काम गरेका पत्रकार जयमान बुढाले आफूलाई रित्तो–रित्तो लागिरहेको बताए । राष्ट्रिय दलित पत्रकार संघको केन्द्रीय अधिवेशनमा सहभागी हुन विक्रम सोमबार दिउँसो २ बजेतिर रुकुमकोटबाट काठमाडौंका लागि बस चढेका थिए । रुकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं हिँडेको वाग्मती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस बागलुङको निसीखोला–६ जाउलेपानीमा भीरबाट खस्दा ९ जनाको ज्यान गएको थियो । ६ वर्षयता रुकुम पूर्वमा सक्रिय पत्रकारको परिचय बनाएका विक्रमको देहान्तपछि परिवार, आफन्त र सहकर्मी गहिरो शोकमा छन् । १० वर्षअघि ०७० चैत ३ गते बुबा रञ्जितको मृत्युपछि परिवारको भरोसा रहेका विक्रमको मृत्युले बज्रपात भएको आमा रश्मीले बताइन् । ‘घरको एउटा बलियो खाँबो गर्ल्याम्म ढल्यो,’ उनले भनिन् । ओरालो र घुम्ती बाटोमा अगाडिका गाडीलाई ओभरटेक गर्न खोज्दा साँझ साढे ५ बजेतिर दुर्घटना भएको थियो । घटनामा घाइते भएका २८ जनामध्ये बलबहादुर पुनले यात्रु बटुल्ने होडमा तीव्र गति र ओभरटेक गर्दै हिँडेका कारण बस दुर्घटना भएको बताए । ‘हामीले रुकुमकोटदेखि नै तीव्र गति भयो भनिरहेका थियौं,’ गुल्मी घर भएका पुनले भने, ‘यात्रु चढाउन जथाभावी ओभरटेक पनि गरेका थिए ।’ जतिबेला पनि हुने दुर्घटनाको डरलाग्दो जोखिममा को–कहाँ कतिबेला पर्छ कुनै पत्तो छैन । किनकि झन्डै १० वर्षको हारहारीमा सवारी दुर्घटनामा मात्रै २४ हजार ४ सय २९ जनाको ज्यान गइसकेको छ । यही तथ्यांक काफी छ, हरेक दिन सवारी दुर्घटनामा ७ जनाभन्दा बढीको ज्यान गइरहेको तथ्य बुझाउन । झन्डै १० वर्षको अवधिमा सवारी दुर्घटनामा ५१ हजार ३ सय ५५ जना गम्भीर घाइते भएको देखिन्छ । अर्थात् हरेक दिन सवारी दुर्घटनामा ४ सय ५४ जनाभन्दा धेरै गम्भीर घाइते हुन्छन् । आडैमा बसेका अर्का युवक गति कम गर्न भन्दै चालकसम्म पुगेको पुनले बताए । उक्त रुकुमकोट नजिकै पनि एकपटक झन्डै खस्नबाट बचेको पुनले बताए । फागुन २३ गते भैरहवाबाट काठमाडौं आइरहेको लु २ ख २१२१ नम्बरको बस धादिङको घाटबेंसीमा त्रिशूली नदीमा खस्दा १० जनाको मृत्यु भएको थियो । ३९ जना घाइते भएका थिए । एक जना अझै बेपत्ता छन् । चालकसहित ५२ जना सवार बस त्रिशूली नदीमा खस्दा सात जनाको घटनास्थलमै मृत्यु भएको थियो भने चार जना बेपत्ता भएका थिए । तीमध्ये तीन शव भेटिएको धादिङ प्रहरीले जनाएको छ । गन्तव्यमा पुग्न नपाई मृत्युको मुखमा पुगेका यात्रुको लामो फेहरिस्त छ । जस्तो कि, कञ्चनपुर भीमदत्त नगरपालिका–१ बाह्रकुण्डाका राहुल कामीको फागुन ५ गते शनिबार काठमाडौंबाट मलेसिया जाने टिकट थियो । वैदेशिक रोजगरीका लागि फागुन २ गते बुधबार घरबाट बिदावारी भएर हिँडेका कामीको कपिलवस्तुको शिवराज नगरपालिका–१ दोबाटोनजिक भएको सुनौलो महाकाली यातायातको सुपप्र ०२–००१ ख ००९८ नम्बरको बस दुर्घटनामा १० जनासँगै ज्यान गयो । दुर्घटनामा कञ्चनपुरका मात्रै सात जनाको मृत्यु भयो । दुर्घटनाका शृंखलाबद्ध खबरहरूमा चैत १ गते धरानबाट घोडेटार हुँदै भोजपुरतर्फ गइरहेको को १ ज २५९३ बोलेरो जिप उदयपुरको बेलुका नगरपालिका–७ मैनामैनी चुहारमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भयो भने ९ जना घाइते भएको खबर एउटा दुर्घटना मात्रै थिएन् । क्षमताभन्दा धेरै यात्रु, तीव्र गति र कमजोर सडक सुरक्षा प्रणालीको मूल्य सर्वसाधारण नागरिकले हरेक दिन चुकाइरहेका छन् । उदयपुरका प्रहरी प्रमुख एसपी रमेष थापाले यो घटनामा १२ यात्रु क्षमताको बोलेरोमा चालक र दुई नाबालकसहित १७ जना सवार भएको बताउँदै क्षमताभन्दा धेरै यात्रु हुनु पनि दुर्घटनाको एउटा कारण हुन सक्ने बताए । महेन्द्रनगरबाट दिउँसो साढे ३ बजे काठमाडौंका लागि छुटेको ४० जना सवार बस राति १२ बजे ३५ मिनेटतिर दुर्घटनामा परेको थियो । घाइते यात्रुका अनुसार एक्कासि आवाज आएको केहीबेरमै बस अनियन्त्रित भएको थियो । घाइते भएका बस चालक पूर्णबहादुर चन्दले ओरोलामा ब्रेक फेल हुँदा बस अनियन्त्रित भएर खसेको बताएका थिए । ‘१२/१ बजेतिर हो गाडीको ब्रेकफेल भएर ओरालोमा सम्हाल्न खोजे हुँदै भएन । भित्तातिर च्याप्न खोजे गाडी फर्केर खस्यो,’ उनले भने । दुर्घटनामा बाँचेका दुई/तीन जना जसोतसो बसबाट निस्किएर बाटोमा उक्लिएर चन्द्रौटातिर जाने बस/ट्रक रोकेर जानकारी दिन खोज्दा कसैले रोकेनन् । उक्त ठाउँमा मोबाइल सम्पर्क पनि हुँदैन । एक जना नजिककै उकालो ठाउँमा चढेर टावर टिपेपछि प्रहरीको सय नम्बरमा फोन गरेर जानकारी दिएका थिए । तीव्र गति र क्षमताभन्दा बढी भार बोक्ने गरेका कारण सवारी दुर्घटना नियन्त्रण हुन सकेको छैन । प्रहरीका अनुसार चालु आर्थिक वर्षको मंसिरसम्म १७ हजार ३२ सवारीसाधन दुर्घटना हुँदा ९ सय १६ जनाको मृत्यु भएको छ । यो अवधिमा २ हजार ७ सय ५१ जना गम्भीर घाइते भएका छन् भने ११ हजार ९१ जना सामान्य घाइते भएका छन् । जिल्ला प्रहरीले घटनास्थल नजिकको वडा प्रहरी चन्द्रौटालाई जानकारी दिएपछि पहिलो टोली २ बजेतिर घटनास्थल पुगेको थियो । फागुन १ गते मंगलबार क्षमताभन्दा दोब्बर यात्रु बोकेर पाल्पाको तिनाउ गाउँपालिका–६ शिखरडाँडा जाँदै गरेको जिप चिदिस लुम्पेक डाँडामा लु १ ज २३७१ नम्बरको मुस्ताङ जिप दुर्घना हुँदा आठ जनाको ज्यान गयो । दुई महिने बालिकासहित १९ जना घाइते भए । कच्ची, उकालो र घुम्ती सडकमा दुर्घटना भएको ट्राफिक प्रहरीको भनाइ छ । ग्रामीण क्षेत्रका कच्ची सडकमा अधिकांश जिपले ‘ओभरलोड’ यात्रु बोक्ने गरेका छन् । श्रीनगर यातायात व्यवसायी कम्पनी प्रालिका कार्यालय प्रमुख भविन्द्र गौतमका अनुसार १३ सिट पास जिपले क्षमताभन्दा बढी यात्रु बोकेको स्विकारे । गत आर्थिक वर्षमा ३७ हजार ३ सय ९२ दुर्घटनामा २ हजार ३ सय ६८ जनाको ज्यान गएको थियो भने ५ हजार ७ सय ३८ जना गम्भीर घाइते भएका थिए । ०६५/६६ देखि चालु आर्थिक वर्षको मंसिरसम्म ३ लाख १६ हजार २ सय ९२ सवारीसाधन दुर्घटना भएको प्रहरीको तथ्यांकमा छ । यो अवधिमा सवारी दुर्घटनाबाट ३२ हजार ८ सय ६१ जनाको ज्यान गएको छ भने ७१ हजार ७ सय ९९ जना गम्भीर घाइते भए । पछिल्लो १५ वर्षमा सबैभन्दा बढी आर्थिक वर्ष ०७६/७७ मा २५ हजार ७ सय ८८ सवारी दुर्घटना भएका थिए । नेपाल रोड सेफ्टी एक्सन प्लानमा पाँच वर्षको दुर्घटनाको तथ्यांक विश्लेषण गर्दा ग्रामीण सडकहरूको तुलनामा सहरी र रणनीतिक सडकमा दुर्घटनाको दर बढिरहेको देखिन्छ । यो सरकारी प्रतिवेदनमा सहरी क्षेत्रका सडक अन्य सडकको तुलनामा निकै असुरक्षित रहेको उल्लेख छ । अध्ययनमा अनुसार सहरी सडकको एक सय किलोमिटर खण्डमा ६ सय ४६ वटा सवारी दुर्घटना भएका छन् । जबकि सोही दूरीमा रणनीतिक सडकमा ६३ र अन्य सामान्य सडकमा तीनवटा मात्रै दुर्घटना भएका छन् । नेपाल रोड सेफ्टी एक्सन प्लान (२०२१–२०३०) मा नेपालमा सडक दुर्घटनाबाट सबैभन्दा धेरै क्षति व्यहोरिरहेकाहरूबारे उल्लेख छ । जसअनुसार सन् २०१७/१८ मा भएका सवारी दुर्घटनामा ज्यान गुमाउने २ हजार ४ सय ८५ मध्ये २८ प्रतिशत पैदलयात्रु थिए । जसमध्ये २४ प्रतिशत पैदलयात्रुको मृत्युको मुख्य कारण बस र ट्रक थिए । सन् २०१७/१८ मा भएका जम्मा दुर्घटनामध्ये ३८ प्रतिशत त मोटरसाइकल दुर्घटनाका घटना मात्रै थिए । जसमा १ हजार ३२ जनाको मृत्यु भएको थियो । यसमा जम्मा सवारी दुर्घटनामध्ये आधाभन्दा धेरै दुर्घटना २५ देखि ४० वर्ष उमेर समूहका चालकबाट भइरहेको पनि उल्लेख छ ।