चीन भ्रमणमा परराष्ट्रमन्त्री श्रेष्ठ जाँदै
रासंसा/काठमाण्डौ, चैत्र ८,
मुलुकका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन्। उनी चैत ११ गते आइतबार बेइजिङ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो। गत चैत १ गते नेपालका लागि चिनियाँ राजदूत छन् सोङले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर बिआरआई परियोजना अघि बढाउन आग्रह गरेका थिए। चिनियाँ विदेश मन्त्रालयले पनि नियमित पत्रकार सम्मेलनमा नेपालको बदलिँदो सत्ता समीकरणसँग मिलेर काम गर्ने बताएको थियो। परराष्ट्रमन्त्री श्रेष्ठले चीनमा समकक्षी वाङ यीसँग भेटवार्ता गर्नेछन्। उनीहरूबीच बेइजिङमा बिआरआई परियोजना कार्यान्वयन गर्ने विषयमा विस्तृत छलफल हुने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो। बिआरआई परियोजना कार्यान्वयनको विषयलाई चीन सरकारले महत्व दिँदै आएको छ। तर, बिआरआई परियोजना चीनले सोचेअनुसार अघि बढ्न सकेको छैन।