सामाजिक उत्तरदायित्व बढाउनतर्फ मिडियालाई सुझाव, सम्पादक संवाद
रासंसा/काठमाण्डौ, माघ २७,
मुलुकमा युट्युबसहित सामाजिक सञ्जालले पहुँच लसँगै सामाजिक उत्तरदायित्व बढाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने धारणा सञ्चारका विज्ञहरुले राख्नुभएको छ । प्रेस काउन्सिल नेपालले सामजिक संजालले पत्रकारितामा पारेको प्रभावका विषयमा शुक्रबार आयोजना गरेको सम्पादक सम्वादका सहभागीले पेसालाई मर्यादित, विश्वसनीय र दिगो बनाउनका लागि सामाजिक उत्तरदायित्वलाई केन्द्रबिन्दु बनाउनुपर्ने सुझाव राख्नुभएको हो । पछिल्लो समय समाचारमा नभइ नहुने तत्वको अभाव देखिएको भन्दै मूलधारका सञ्चार माध्यमले समेत अधुरो समाचार दिने गरेको उल्लेख गर्नुभयो । उहाँले भएका कानुनको समेत कार्यान्वयन नहुँदा सामाजिक सञ्जाल, नयाँ सञ्चार माध्यम र पत्रपत्रिकामा सङ्कट देखिएको बताउनुभयो । उहाँले पछिल्लो समय सरकार सामाजिक सञ्जाल र सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने दिशातर्फ उन्मुख देखिएको बताउनुभयो । सहभागी सम्पादकहरुले सूचना प्रविधिमा आएको परिवर्तनसँगै युट्युबसहित सामाजिक सञ्जालको सञ्चार माध्यममा देखिएका प्रभाव र चुनौतीलाई सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो । “भ्युअर्स बढाउन मात्र दौडिएर भएन, देश र समाजप्रतिको उत्तरदायित्व के हो भन्ने पत्रकारले बिर्सनुभएन । सामाजिक सञ्जाल प्रयोगकर्ताले समेत यी कुरा बुझ्नुपर्ने भएको छ” कार्यक्रमका सहभागी नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष किशोर नेपालले भन्नुभयो । पछिल्लो समय प्रेस काउन्सिलले सामाजिक सञ्जालमार्फत चलेका सञ्चार माध्यममाथि गरेको निगरानी र अनुगमन प्रभावकारी हुँदै गएको उहाँले औँल्याउनुभयो । एउटा मान्छेलाई पछि लाग्ने र खेदिरहने प्रवृत्ति हुँदा अहिले मिडिया मिडियम भएको तर म्यासेज हुन नसकेकोतर्फ गम्भीर भइ सोच्नुपर्छ, उहाँले भन्नुभयो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युब प्लेटफर्ममार्फत चलेका मिडियालाई अन्य सञ्चार माध्यमसरह अनुगमन र निगरानी भइरहेको र त्यसलाई कसरी प्रभावकारी बनाउने भनी सम्पादक संवादबाट सुझाव अपेक्षा गरेको बताउनुभयो । पछिल्लो समय काउन्सिलले केही युट्युब च्यानललाई अनुगमन गर्दै आएको भन्दै उहाँले विद्यमान कानुनमा रहेको ‘पत्रपत्रिका’ शब्दको सट्टा ‘सञ्चार माध्यम’ भन्ने शब्द संशोधन गरेमा सबै सञ्चार माध्यमलाई अनुगमन र निगरानी गर्ने कानुनी अड्चन हट्ने उल्लेख गर्नुभयो । डिजिटल मिडिया सोसाइटीका अध्यक्ष समेत रहनुभएका बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतिक प्रधानले कुनै पनि घटनामा सामाजिक सञ्जालमार्फत कमेन्ट गर्दा विचार गर्नुपर्ने बताउनुभयो । विज्ञापनदाताले सामाजिक सञ्जालमार्फत सिधै विज्ञापन दिँदा अहिले व्यवसायिक पत्रकारिता मर्न लागेको उहाँको भनाइ छ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले मुलधारका सञ्चार माध्यममा सामाजिक सञ्जालले समाचार सामग्री, विज्ञापन, पाठकलगायतका विषयमा प्रभाव पारेको बताउनुभयो । उहाँले युट्युब लगायतका सामाजिक सञ्जालका समाचार सामग्रीमा अनुगमन, नियन्त्रण र सम्पादन नहुँदा समाजमा नकारात्मक असर पर्नेगरेको बताउनुभयो । अध्यक्ष विपुल पोखरेलले लोककल्याणकारी विज्ञापन चन्दा नभएर विज्ञापन भएको बताउनुभयो । “पत्रकारिता हामीलाई मात्र चाहिने होइन, सबैलाई चाहिने हो भने सबै गम्भीर हुनुपर्छ । सरकारले पनि सोच्नुपर्छ” प्रधानको सुझाव थियो । राष्ट्रिय समाचार समितिका प्रधान सम्पादक एकराज पाठकले कपी पेष्ट पत्रकारिताले पेसालाई अविश्वसनीय बनाएकाले रोक्नका लागि काउन्सिलले बढी ध्यान दिनुपर्ने बताउनुभयो । अग्रज पत्रकार शम्भु श्रेष्ठले छापामाध्यमलाई नयाँ प्रविधिसँग जोड्दै नगए संकट थपिदै जाने बताउनुभयो । प्रेस काउन्सिलले पत्रकारिताका पछिल्ला आयाम र चुनौति सम्बोधन गर्न गत साउनदेखि सम्पादक संवाद श्रृंखला सुरु गरेको हो । यसलाई निरन्तरता दिइने काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दिपक खनालले जानकारी दिनुभयो । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइँले विज्ञापन र मिडिया एकअर्कामा जोडिए पनि यसका बारेमा खासै चर्चा हुन नसकेको बताउनुभयो । कुनै पनि मिडियाले सामग्री सम्प्रेषण गर्दा निःशुल्क गर्न नहुने उहाँको धारणा छ । सामाजिक सञ्जालमा सिधैँ विज्ञापन गएर मिडियामा विज्ञापन घटेको भएपनि त्यसको व्यवस्थापनका लागि आवश्यक कानुन बन्न बाँकी रहेको उहाँले बताउनुभयो । व्यावसायिक पत्रकारिता अध्ययन केन्द्रको समन्वयमा भएको कार्यक्रममा केन्द्रका संस्थापक अग्रज पत्रकार किशोर नेपाल, पत्रकार विनु सुवेदी र रुची श्रेष्ठले प्रस्तुती राख्नुभएको थियो । कार्यक्रममा छापामाध्यम, अनलाइन, रेडियो, टिभि, युट्युब च्यानलसहितका सम्पादक र समाचार कक्षका प्रमुखसहित ९० जना सहभागी हुनुहुन्थ्यो । प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, मधेषी पत्रकार समाज, अनलाइन टिभी संघसहित विभिन्न सञ्चार संगठनका अध्यक्ष र प्रतिनिधि समेत सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा सम्पादकहरु गुणराज लुइटेल, हरिबहादुर थापा, अरुण बराल, गजेन्द्र बुढाथोकी, शिवकुमार भट्टराई, राजु सिलवाल, विमल गौतम, पुष्पहरी क्याम्प राई, मात्रिका पौडेल, सरोज मिश्र, राजेन्द्र बानिया, टीकाराम यात्री, कल्पना आचार्य, प्रकास रिमाल, मिलन तिमिल्सिना, केपी ढुंगाना, पदमराज जोशी, विष्णुगोपाल कुसी, उपासना घिमिरे, ज्योति जिसीसहितले विषयवस्तुमाथि संक्षिप्त सुझाव राख्नुभएको थियो । सञ्चारिका समूहकी महासचिव बसन्ती बाँस्तोलाले परिवारमा कतिपय कुरा साना सदस्यलाई सुनाउन हुँदैन भन्ने गरिएको भएपनि अहिले सामाजिक सञ्जालका कारण सबैले एकै पटक थाहा पाउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मिडियामा साहुजीले यसलाई ब्यवसाय र पत्रकारको लागि यो समाज सेवा भन्ने गरेको छ । यसलाई हटाउँदै जानुपर्छ” समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदीले अरु मिडियाको विश्वसनीयता घटेपछि अहिले पाठक सामाजिक सञ्जालतिर लागेको धारणा राख्नुभयो । पत्रकार आफैँले खोज्न र प्रस्तुत गर्न नसकेपछि सामाजिक सञ्जालले विश्वास जित्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “पत्रकारहरु आफैँ बसेर एकअर्काको गल्ती खोजेर समाधान गर्न सकिन्छ ।” अन्तराष्ट्रिय पत्रकार महासंघका केन्द्रीय सदस्य बद्री सिग्देलले अभिव्यक्ति स्वतन्त्रतालाई प्राथमिकता दिंदा काउन्सिल जस्ता निकायले आचारसंहिताको अनुगमन र नियमन गर्नुपर्ने बताउनुभयो ।