पाकिस्तान निर्वाचन, पूर्व प्रधानमन्त्री नवाजको पार्टीलाई अग्रता

Share to:

एजेन्सी,

पाकिस्तानमा भएको आम निर्वाचनको मतगणना जारी छ। बिहीवार भएको राष्ट्रिय सभा र विधानसभा निर्वाचनको मतगणना बिहीवार अबेर रातिबाट सुरु भएको हो। पाकिस्तान चुनाव आयोगका अनुसार पूर्व प्रधानमन्त्री एवं पीएमएल–एन का अध्यक्ष शहबाज शरीफ लाहोरको एनए–१२३ सिटमाथि ६३ हजार ९५३ मतका साथ विजयी भएका छन्। बीबीसीका अनुसार हालसम्म गणना गरिएको मत अनुसार पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफ नेतृत्त्वको पाकिस्तान मुस्लिम लीग नवाजको अग्रता देखिएको छ। त्यस्तै पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीके इन्साफ (पीटीआई) ले निर्वाचनमा धाँधली भएको आरोप लगाएको छ। सुस्त गतिमा भइरहेको मतगणना अनुसार नवाज शरिफको पार्टीले अग्रता लिइरहेको हुँदा उनी नै सत्तामा आउने आँकलन पनि सुरु भएको छ। पाकिस्तानी सञ्चार माध्यम डनका अनुसार मतगणनाको सुरुवाती परिणाम अनुसार चार सिटमा भने पीटीआइ उम्मेदवारले जित हात पारेका छन्। पाकिस्तान चुनाव आयोगका अनुसार राष्ट्रिय सभाको ३३६ सिटमध्ये आज २६६ सिटका लागि मतदान भएको छ। निर्वाचनमा २/२ जना यौनिक तथा अल्पसङ्ख्यक समुदायका उम्मेदवारसहित ५ हजार १ सय २१ जना उम्मेदवार चुनावी मैदानमा छन्। मतदानका लागि देशभर ९० हजार ५८२ मतदान केन्द्र निर्धारण गरिएको थियो भने मतदानको क्रममा देशभरको इन्टरनेट र मोबाइल सेवा बन्द गरिएको थियो। निर्वाचनमा १२ करोड ८५ लाख मतदाताले भाग लिएको तथा १६७ राजनीतिक दल वा स्वतन्त्रले भाग लिएक छन्। इमरान खान पदबाट अपदस्थ भएको २ वर्ष पछि निर्वाचन भएको हो।

Like