आज पापांकुशा एकादशी व्रत, अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस मनाइदै
रासंसा/काठमाण्डौ, आश्विन २७,
पापकुंश एकादशी व्रत
मुलुकमा एकादशीहरूमा विशेष महत्व भएको अशोज शुक्ल एकादशी, पापांकुशा एकादशी हो । भगवान स्वरुप पदमनभको अर्चना गरिने यस एकादशीलाई सबैभन्दा कठिन एकादशी पनि भनिन्छ । यस एकदाशीको व्रत बसेपछि यमलोकको यातना सहन गर्न नपर्ने मान्यता छ । यस वर्षको दशमी को भोलीपल्टको एकादशी अर्थात् पापांकुश एकादशी महात्मेयमा स्वागत छ । नेपालका कतिपय ठाँउहरुमा दशमीको दिन टीको थाप्न आउन नभ्याउने , पर घर भएका चेलीवेटी र करकुटुम्बका लागि एकादशी देखि कोजाग्रत पूर्णिमामा को फुलपाती नसेलाउन्जेल सम्म टीको लगाउने चलन छ ।
सार्वजनिक सवारी र बाटाघाटामा घुईँचो छ, बटुवाहरु अधिकांशको निधारमा टीकको रंग कुनै न कुनै हिसाबले देखिएको छ । नयाँ कपडामा कहिँकतै राता छापहरु बसेका हुनसक्छन्, टीका ले गर्दा । नयाँ कडककडिया नोटहरुले बजार छपक्कै पारेको छ, बुढाबुढीको हात टीकोको लेपले रातो छ भनें केटाकेटीको हृदय दक्षिणा गन्दै फरर भएको छ । हिन्दु तिथीको ११औँ दिनलाई एकादशी भनिन्छ
भागवत पुरानका अनुसार भगवान विष्णुका भक्तहरु अर्थात वैष्णवहरुकालागी यस्ता एकादशीले विशेष महत्व राख्दछ । दशैको टीकाको भोलीपल्टपर्ने यो एकादशीको पनि आफ्नो विशेष महत्व छ । दुर्गा भवानीको अर्चना गरिएको नवरात्रि पछि ठ्याक्कैपर्ने यो एकादशीको नाम अनुसार पाप गर्नेहरुलाई नाश गर्ने एकादशीकारुपमा प्रख्यात छ । पर घर भएका आफन्त, छोरीचेली अनि ढिलो आउने मान्छेहरुलाई आजवाट कोजाग्रत पूर्णिमा सम्म दशैको टीका र जमरा लगाइदिने चलन धेरै ठाँउमा छ, आजको दिन पनि घरघरमा टीका थाप्न जानेहरुको विशेष चहलपहल रहन्छ । यस एकादशीको वारेमा भगवान श्रि कृष्ण र यूधिष्ठीर विचको संवादमा वर्णन पाइन्छ, कृष्णका अनुसार यस एकादशीमा व्रत वसेर भगवानको उपासना गर्नाले भगवान पदमनभको कृपाले सम्पूर्ण पापहरु मोचन हुनेछ । विष्णु सहस्त्रनाम अनि श्रि राम र श्रि कृष्णको अश्तोतरा श्रवण या अध्यन गर्ने अनि यस एकादशीमा तिर्थाटन गर्नु एकदमै महत्वपूर्ण रहेको वताइएको छ । यस्ता दिनमा व्रत वसेर भक्ति अनुष्ठान गरेमा गंगा, गया, काशी या पुस्कर नदिस्नान भन्दापनि धेरै गुण धेरै फल पाइने कुरा कृष्णले उल्लेख गर्नुभएको छ । दिउँसोको समयमा व्रत वस्ने र भगवानको भजन गर्दे रातीपनि जाग्राम वसेर हरि किर्तन गरेमा धेरै पुन्य मिल्ने र मृत्यूपर्यन्त पनि भगवान विष्णु को पाउकमलमा मोक्ष मिल्ने वताइन्छ । यो एकादशी विष्णु भक्त वैष्णव अनि शिवभक्तहरु दुबैका लागी उक्तिकै महत्वपूर्ण छ । विष्णु पुराण्को ( ५ः३३ः४६) खण्डमा यदि कोही शिव र विष्णु फरक हुन भनि सोच्दछ भने उ सोझै नर्क जानेछ भनेर उल्लेख गरिएको छ तसर्थ यो एकादशीलाई हरेक दृष्टिकोणले एउटा अदभुत र अलौकिक फल प्राप्त हुने एकादशीकारुपमा हिन्दुधधर्मावम्वीहरुले लिने गर्दछन् । आखिर यसै उसै गर्दै यस बर्षको दशैं ले पनि त बिट मार्न आँटेको छ । हिन्दु तिथीको ११औँ दिनलाई एकादशी भनिन्छ, एकादशी अर्थात दशको एकाहा अर्थात एघारौँ तिथी र यो तिथीमा वर्त वस्ने, फलाहारहरुमात्र सेवन गर्ने अनि एकादशी महात्मयको कथा सुन्ने चलन छ ।
विहानै उठेर नुहाइधुवाई चोखो कपडा लगाएर व्रतको प्रारम्भ गरिन्छ, पूजावाठ अनि मन्दिरदर्शन पश्चात यस एकादशीको एकादशी महिमा सुन्ने चलन रहेको छ । भक्तिपूर्णरुपमा महिमा श्रवण गरिसकेपछि केही अन्न र गेडागुडी विहिन फलाहारहरु या फलफूलहरु सेवन गर्ने चलन छ । आजको एकादशीमा वर्त वस्नाले मामाघर तर्फवाट दश पुस्ता, पितृकुल तर्फवाट दश पुस्ता र श्रिमती या श्रिमानको कुलतर्फवाट दब पुस्ता पितृहरुले वैकुन्ठ प्राप्त हुने जनविश्वास रहेको छ ।
आजको दिन सुन, तिल, जौ, अन्न, भुमी, छाता अनि जुत्ता दान गर्नाले मनुष्यलाई मृत्यूपर्यन्त स्वर्गलोक प्राप्त हुने जनविश्वास रहेको छ । मानिसहरु भनेको सजीव र सामाजिक प्राणी हुन् तसर्थ आफूसँग भएको थोरैतिनो जे भएपनि गक्षअनुसार गरिव अनि दुख्खीहरुलाई दान गर्न धर्मशास्त्रले पे्ररित गरेको छ, दुख्खीको सेवा भन्दा ठूलो पराक्रम अरु संसारमा केही छैन । आजको दिन सहयोगी भएर, अरुको मुहारमा हाँसो ल्याउन सक्ने काम गरेर वितोस, हामीसबैलाई शुभकामना
विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस
प्राकृतिक प्रकोपसँग हामी जुध्न सक्दैनौ, हामीले केवल पूर्व तयारी तथा सतर्कता अपनाएर हुनसक्ने हानी न्यूनीकरण मात्र गर्न सक्दछौँ, हैन र ? सन् १९८९ को राष्ट्र सङ्घको साधारण सभाले प्राकृतिक विपत्ति विरुद्ध पूर्व तयारी र जागरणको अभिबृद्धिकालागि यस दिवसको सुरुवात गरिएको हो र आज पनि यस दिनमा विभिन्न सञ्चार माध्यमहरूले विश्वभर यस विषयमा प्रभावकारी ज्ञान, सीप र धारणाको प्रवाह गर्दछन् । अझ यस वर्ष त बाढीपहिरोले कुबेलामा नेपाली जनधनको ठूलै क्षति गरिदिएको छ । काठमाडौ जस्तो सुविधासम्पन्न मानिएको ठाँउमा समेत यतिको धेरै जनधनको क्षति भएको छ । प्राकृतिक प्रकोपले शहर, गाँउ, बटुवा, यात्री कसैलाई छाडेको छैन ।पृथ्वीका हरेक कुना अनि समग्र भूगोल नै विभिन्न प्राकृतिक प्रकोपहरूको सम्भाव्य जोखिममा रहेको छ । अझ मानवीय क्रियाकलाप, प्राकृतिक सम्पदाको अविवेकी प्रयोग, जलवायु परिवर्तन आदिले त झन् प्राकृतिक प्रकोपको जोखिम बढाएको छ ।हरेक वर्ष विश्व समुदायले अक्टोबर महिनाको १३ तारिखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रूपमा मनाउने गर्दछ । विभिन्न कार्यक्रम, सभा सम्मेलन, गोष्ठी इत्यादिले जनजागरण फैलाउने, अनि हानी न्यूनिकरणकालागि यस दिवसको महत्त्व धेरै छ ।
सन् २०२४ को नारा:
Empowering the next generation for a resilient future.
लचिलो भविष्यको लागि अर्को पुस्तालाई सशक्त बनाउँदै भन्ने अर्थ लाग्दछ ।
यसका साथै समुदाय, राष्ट्र अनि क्षेत्रकै जागरण स्तर बढाउन्, पूर्व तयारी संरचनामाथिको पहुँच बढाउन अनि पीडितहरूको संरक्षण कालागि विशेष आह्वान गर्ने संयुक्त राष्ट्र सङ्घको योजना रहेको छ । छोटा-छोटा दूरीमा फरक भू-बनोट, हावा-पानी कालागि विश्व समुदायमा परिचित नेपालले पनि समय-समयमा धेरै प्राकृतिक विपत्तिहरूको सामना गर्नु परेको, समय-समयको भूँईचालो होस् या यस वर्षको भीषण बाढी पहिरो, भौगोलिक रूपमा विविधतासँगै जटिल नेपाल सदैव प्राकृतिक विपत्तिको उच्च जोखिम मै छ । यस वर्षको विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसको नारा चाहिँ प्राकृतिक प्रकोप नियन्त्रण र जोखिम न्यूनीकरणलाई विश्वव्यापी संस्कार बनाऔँ भन्ने छ ।
अव्यवहारिक विकासे ज्ञान जस्तै भुईँचालो आउँदा टेबल मुनी या घरभित्रै रोकिएर छेलिएर आडमा बस्ने भन्ने ज्ञानहरूले ठ्याक्कै विपरीत ज्यान जोखिममा पारेको र बाँच्नुपर्ने ज्यान पनि मृत्यु र अङ्गभङ्गको जोखिममा परेको उदाहरण भूँईचालो ताका देखिएको हो । माटो सुहाउँदो प्रविधि र प्रक्रियाको साटो हामी आयातित कुरामा सोलोडोलो लागेको परिणाम हुन सक्दछ, अझै पनि नेपाली भूमिमा प्राकृतिक प्रकोप भएमा न्यूनतम पूर्व तयारी पनि छैन । दुखद कुरा चाहिँ नेपालीहरूको अपर्याप्त प्रकोप नियन्त्रण सिप र जानकारी रहेकाले हुने थप हानी र जोखिमका कारणले हुन जान्छ । राजधानी काठमाडौँ कै मूलधारको खानेपानी, स्वास्थ्य सुविधा र आधारभूत कुराहरूको सुलभतामाथि भुईँचालोले कडा प्रश्न चिह्न उठाएको हामीले चाल पाएकै हौँ । राजधानीको त्यो हविगतले सापेक्षिक रूपमा दूर दराजका गाँउहरुको अवस्था सहजै बयान गर्दछ । नेपाली पाठ्यक्रममा अझै पनि प्राकृतिक प्रकोप नियन्त्रणका प्रयोगात्मक अभ्यास र व्यवहारिक शीर्षकहरू नहुनु झनै दुखदायी कुरा हो ।
फेरि प्राकृतिक प्रकोप नियन्त्रणको एकमुस्ट जिम्मा अनि जागरणका कार्यक्रम धेरै हदसम्म गैर सरकारी संस्थाको पोल्टामा पर्नु पनि दुर्भाग्य नै हो । शायद यसै कारणले पनि भूकम्प पश्चात् धर्म परिवर्तन र मानव तस्करका कुराहरू आएका हुन सक्छन् । यस्ता संवेदनशील कुरामा सरकारी र गैर सरकारी दुवै तहको समान सहभागिता जरुरी छ । आजको दिन यी सबै कुराहरू विश्व समुदायसँगै नेपालले पनि बुझ्न र आत्मसाथ गर्न जरुरी छ । प्राकृतिक प्रकोप निवारक अनि थाम्न सक्ने संरचनाहरू बनाऔँ, आउँदा पुस्तालाई यसको पूर्व तयारीप्रति सजग गराऔँ ।