निजीको २५ र विद्युतीयको ३० वर्ष सवारी साधन आयु

Share to:

रासंसा/काठमाण्डौ, माघ २१,

मुलुकमा गण्डकी प्रदेशमा निजी सवारी साधनको आयु २५ वर्ष मात्र तोकिएको छ। गण्डकी प्रदेश सवारी तथा यातायात नियमावली, २०८० ले निजी सवारी साधनको आयु २५ वर्ष मात्र तोकेको हो। नेपालमा सार्वजनिक यातायातका सवारी साधनको आयु तोकिए पनि निजी सवारी साधनको आयु यसअघि तोकिएको थिएन। नेपालमा सार्वजनिक यातायातका सवारी साधनको आयु २० वर्ष तोकिएको छ। तर यसको कार्यान्वयन नभइरहेका बेला गण्डकी प्रदेशले निजी सवारी साधनको पनि आयु तोकेको हो। यसअघि नियमावली जारी नहुँदा विसं २०७६ मा बनेको गण्डकी प्रदेशको सवारी तथा यातायात व्यवस्था ऐन कार्यान्वयनमा आएको थिएन। तर नियमावली जारी भएसँगै ऐन कार्यान्वयनमा आउने भएको छ। नेपालमै पहिलो पटक निजी सवारीसाधनको आयु २५ वर्ष तोकिएको मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले जानकारी दिए। उनले भने, ‘हामीले निजी सवारी साधनको आयु २५ वर्ष तोकेका छौं। निजी सवारी साधनको आयु तोकिएको नेपालमै पहिलो पटक हो।’ नियमावलीमा विद्युतीय सार्वजनिक सवारी साधनको आयु भने ३० वर्ष तोकिएको छ। नियमावलीमा भनिएको छ, ‘विद्युतीय सार्वजनिक सवारी साधनको आयु ३० वर्ष तोकिएको र त्यसपछि पत्रु कायम गर्नुपर्ने व्यवस्था गरिएको छ।’ सार्वजनिक सवारीसाधनको २० वर्षमै पत्रु कायम गरेर लगतकट्टा गर्नुपर्ने व्यवस्था राख्ने तर निजी सवारीसाधन जति वर्ष पनि चलाउन पाउने व्यवस्था असमान देखिएकाले निजी सवारी साधनको पनि आयु तोकिएको उनको भनाई छ। नियमावलीमा सार्वजनिक तथा अन्य सवारी साधनलाई विद्युतमैत्री सवारीसाधनमा रूपान्तरण गर्न मन्त्रालयले आवश्यक मापदण्ड बनाई जारी गर्न सक्ने व्यवस्था गरिएको छ। गण्डकी प्रदेशमा दर्ता भएका सवारीसाधनको हकमा २५ वर्षमा अनिवार्य लगतकट्टा गरेपछि मात्रै अर्को दर्ता हुने र बाहिर दर्ताकाको हकमा २५ वर्ष पुगेका सवारीसाधनलाई चल्न नदिने नीति अपनाइने प्रवक्ता पौडेलले बताए। मन्त्रालयले पत्रु कायम हुने ट्याक्सीको लगतकट्टा गरेर अर्को दर्ता गर्दा अनिवार्य रुपमा इलेक्ट्रिक हुनुपर्ने गरी मापदण्ड बनाउने तयारी गरेको प्रवक्ता पौडेलले बताए। गण्डकी सरकारले राईड सेयरिङलाई वैधानिक मान्यता दिने तयारी पनि गरेको छ। प्रदेश यातायात नियमावलीमा चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधनमा हुने राईड सेयरिङलाई वैधानिक बनाउने बाटो खुलाउँदै त्यसलाई नियमन गर्ने व्यवस्था गरेको प्रवक्ता पौडेलले बताए। नेपालमा पठाओ, टुटल, इनड्राइभ, सहारा, सजिलो, ट्याक्सीमाण्डू, क्याब ट्याक्सी लगायत राइड सेयरिङ’ एप सञ्चालनमा छन्। ती मध्ये केहीले पोखरामा पनि सेवा प्रवाह गरेका छन्। उनले भने, ‘नियमावलीको दफा १३ मा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चार पाङ्ग्रे तथा पाङ्ग्रे सवारी साधनले आवश्यक प्रक्रिया पूरा गरी तोकिएका भाडामा बिमा गरेर यात्रु बोक्न पाउने व्यवस्था कार्यान्वयनका लागि मापदण्ड बनाउने उल्लेख छ।’ गण्डकी सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले सार्वजनिक यातायात सेवालाई समयसापेक्ष र प्रविधिमैत्री बनाउन नियमावली महत्त्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरे। उनले भने, ‘नियमावली गण्डकी प्रदेशको यातायात क्षेत्र सुधारका लागि कोशेढुङ्गा साबित हुनेछ।’

Like