उपप्रधानमन्त्री खड्का र प्रमुख आयुक्त थपलियाबीच उपनिर्वाचन विषयमा छलफल

Share to:

रासंसा/काठमाण्डौ, माघ २१,

मुलुकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले रिक्त रहेका विभिन्न २५ पदमा हुने उपनिर्वाचनका सम्बन्धमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छलफल गरेका छन्। विभिन्न कारणले रिक्त रहेका ती पदमा आयोगले उपनिर्वाचन गराउन लागेको हो। निर्वाचन आयोगका अनुसार हाल प्रतिनिधिसभा र प्रदेश सभा सदस्यमा एक–एक पद रिक्त छ। प्रमुख निर्वाचन आयुक्त थपलियाले आइतबार सिंहदरबारस्थित रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री खड्कासँग हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचन र अब गर्नुपर्ने उपनिर्वाचनका विषयमा छलफल गरेका हुन्। प्रतिनिधिसभा र प्रदेश सभा सदस्य तथा रिक्त स्थानीय तहको उपनिर्वाचनका लागि आयोगले सरकारसँग परामर्श गर्दै आएको छ। इलाम निर्वाचन क्षेत्र २ बाट निर्वाचित नेकपा (एमाले)का सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो भने सुदूरपश्चिम प्रदेशको बझाङ निर्वाचन क्षेत्र नं. १ प्रदेश १ बाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी निधन भएपछि ती स्थानमा उपनिर्वाचन हुने भएको हो। आयोगका अनुसार हाल प्रतिनिधिसभा सदस्यमा एक, प्रदेश सभा सदस्यमा एक, जिल्ला समन्वय समिति प्रमुखमा दुई, नगर उपप्रमुखमा एक, गाउँपालिका अध्यक्षमा एक, गाउँपालिका उपाध्यक्षमा दुई र विभिन्न पालिकाका १७ वडाध्यक्ष गरी २५ रिक्त पद छन्। ती पदमा उपनिर्वाचनका लागि आयोगले उपप्रधानमन्त्री खड्कासँग आवश्यक छलफल गरेको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ।

Like