पूर्वराजा शाहको भनाई देशलाई निकास दिन अगाडि सर्ने बेला आइसक्यो
रासंसा/पर्सा, माघ १५,
मुलुकमा पूर्वराजा ज्ञानेन्द्र शाहले बढ्दो बेथिति र अन्यौलताबाट देशलाई निकास दिन अगाडि सर्ने बेला आइसकेको उद्घोष गरेका छन्। शनिबार वीरगन्जमा आयोजित स्वागत र नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै पूर्वराजा शाहले घुमाउरो पारामा अब देशमा पुनः राजतन्त्रको आवश्यकता भइसकेको उद्घोष गरेका हुन्। राजतन्त्रको विदाईपछि गणतन्त्र स्थापना भएयताको पछिल्लो १५ वर्षको अवधिमा जनतामा असन्तोष, चिन्ता र आक्रोश छताछुल्ल भएको उनले बताए। उनले भने, ‘राजदरबार परित्याग गर्दा २०६५ जेठ २९ गते नै मैले भनेकै थिएँ- देशमै बसेर नेपालको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्याउन चाहन्छु। स्वाभिमानी नेपालीको समग्र हित होस् कामना छ। हाम्रो राष्ट्रप्रेम र राष्ट्रिय सदाशयता कायम नरहँदा देशमा विषम परिस्थिति बढ्दै जान्छ। त्यस्तो विकृतिबाट आम जनातामा आक्रोश उत्पन्न हुन्छ भन्ने त्यतिखेरकै आँकलन हो। वितेका १५ वर्षपछि आज त्यही असन्तोष, चासो, चिन्ता र आक्रोश सर्वत्र छताछुल्ल भएको छ। मुलुकमा विद्यमान राजनीतिक अन्यौलता र अस्थितरताप्रति लक्षित सम्बोधनमा पूर्वराजा शाहले भने, ‘२०६५ जेठ २९ मा आफ्नो गरिमापूर्ण राजपाठबाट वियुक्त हुनुपर्दा मैले त्यसबेला व्यक्त गरेको राष्ट्रप्रेम, राष्ट्रियता, प्रजातान्त्रिक प्रतिवद्धता तथा देश र जनताको उत्थानमा क्रियाशील हुने भावनालाई मैले अहिले सान्दर्भिकरूपमा सम्झिरहेको छु।’ आज पनि आफूहरूले देशमै रहेर देशको गौरवगाथा गाइरहेको तथा अहिले पनि देशको उन्नति, सबै देशबासीको विकास हुँदै जाओस् भन्ने भावना आफूहरूमा कायमै रहेको उनले बताए। आफ्नो मौलिकता र पहिचान गुमाएर देशलाई विभाजनको खाडलमा लगेर देशमा सनातनदेखि रहँदै आएको सुमधुर सामाजिक सम्बन्धलाई बिथोलेर देशको भलो नहुने उनको कथन थियो। त्यसैले राज्यव्यवस्था, राजनीतिक, अर्थ व्यवस्था र राजनीतिक दूरावास्था सबैको मूल्यांकन गरेर ती सबैको सुधार गरी सबैको विकास र सबै समस्याको निकासको बाटोमा अब अगाडि बढ्नुपर्ने बेला आइसकेको उनले बताए। उनले भने, ‘२०५८ मा घटेको विनाशकारी घटना हाम्रो परिवारका लागि कहालाग्दी थियो । तर त्यसबेला राजनीतिक जालझेल गरी हामी प्रति नेपालीको मनमा अनेक भ्रम र नकरात्मक भवाना फैलाइयो। हाम्रो परिवारलाई घातक प्रहार पनि भयो। तर, सत्य सधैं सत्य नै हुन्छ। असत्यको विजय कहिल्यै पनि हुँदैन।’ पूर्वराजा शाहले राजदरबार हत्यकाण्डपछि आफूले ७ वर्षसम्म राष्ट्र प्रमुखको हैसियतामा आफ्नो दायित्व निर्वाह गरेको जिकिर गरे। तत्कालको अफ्ठ्यारो विषम परिस्थितिमा पनि देशको थप बर्बादी नहोस् र प्रजातन्त्रका मान्यता कायमै राखेर आफूले त्यसबेला राष्ट्रप्रमुखको जिम्मेवारी निभाएको उनले बताए। पछिल्लो दुई तीन दशक यता अवसर र रोजगारीको अभावले तराई-मधेसको जनशक्ति पातलिँदै गएको भन्दै चिन्ता व्यक्त गरे। उनले भने, ‘मधेस उजाड बन्दै गइरहेको छ। मरुभूमीकरणतर्फ अग्रसर देखिन्छ। यो गम्भीर कूरा हो। रोजगारी र अवसर दिन नसक्दा हाम्रो जमिन, स्रोतसाधन सबै सुक्दै जनशक्ति पातलिँदै गएको छ। यो दुःखको कुरा हो। त्यसका लागि अब सबैले सोचौं ,समीक्षा गरौं।’ उनले थपे, ‘देश बचाउन र बनाउनका लागि जनताका तर्फबाट निरन्तर आवाज हामीमाथि पनि आइरहेको छ। देशमा विद्यमान समस्याको निदान हामी आफैंबाट हुने हो। अरुले आएर गरिदिने होइन। तर, दुःखका साथ भन्नुपर्छ आज हाम्रो देश उजाड र खोक्रो बन्दै गइरहेको छ। यो अवस्थाको अन्त्य गर्नैपर्छ। यसका निम्ति अब सोच्ने बेला आएको छ। देशलाई झन् झन् बर्बादीतिर नलैजाऔं।’ उनले विभेद्, विखण्डन, विग्रह र निषेधको राजनीति त्याग्न अपील पनि गर्दै यसमै देश र देशबासीको भलो रहेको पनि बताए।