सुजन राउत बुबाको उपचारमा लागेको ऋण तिर्न धेरै कमाइ हुने ठाउँमा जान चाहन्थे

Share to:

टिकाराम सिङ/सुर्खेत, पौष १४,

मुलुकमा शुक्रबार बालकुमारीमा ईपीएस कोरियन भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित युवामध्ये एक थिए सुजन राउत । आन्दोलनमा सहभागी भएकै अवस्थामा मृत्यु भएका उनी घरको जेठो छोरा थिए । बुबाको उपचारमा लागेको ऋण तिर्नका लागि धेरै कमाइ हुने ठाउँ जान चाहन्थे सुजन । बुबाको उपचारका लागेको ऋण तिरौँला, परिवारलाई खुसी राखौँला भन्ने सपना बोकेका सुजन आफ्नो बुबाको वर्ष दिनको काम सकेर कोरिया जाने तयारीमा लागे । ‘ब्रेन ट्युमर’का कारण सुजनका बुबा भक्तबहादुर रावतको गत वर्ष मृत्यु भएको थियो । त्यसपछि परिवारको सम्पूर्ण जिम्मेवारी २१ वर्षीय (प्रहरीले २३ वर्ष भनेपनि परिवारले २१ वर्ष भनेका छन्) सुजनको काँधमा आयो । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा महावु गाउँपालिका–६, का सुजन पनि मिसिएका थिए । आन्दोलनमा प्रहरीको निर्घात कुटपिटबाट उनी सडकमै ढले । घाइते अवस्थामा रहेका उनलाई उपचारका लागि किष्ट अस्पतालमा लगियो । त्यहाँ डाक्टरले उनलाई मृत घोषणा गरे । सुजन शुक्रबार आन्दोलनमा नभइ त्यहाँको अवस्था हेर्नका लागि त्यहाँ पुगेको रोशनको भनाइ छ । रोशनका अनुसार सुजनको घर महावु भए पनि उनको सम्पूर्ण परिवार दैलेख सदरमुकाममा बस्छन् । सुजनका बुबा उद्योग वाणिज्य संघ दैलेखको उपाध्यक्षसमेत भइसकेका थिए । लामो समयदेखि सदरमुकाममा हार्डवेयर पसल सञ्चालन गर्दै आएका थिए भक्तबहादुरले । सुरुमा प्रहरीको गोली लागेर मृत्यु भएको भनिए पनि प्रहरीको निर्घात कुटपिटबाट मृत्यु भएको उनका दाजु (मामाका छोरा) रोशन कटुवालले हामिलाई बताए । सुजनको मृत्यु पश्चात रोशन अहिले किष्ट अस्पतालमा पुगेका छन् । ‘गोली लागेको हैन, प्रहरीको बन्दुकको पछाडि भागले छातीमा हानेको छ, भित्र निकै गहिरो चोट लागेकाले मृत्यु भएको हो,’ उनले भने, ‘शरीरमा निल डाम छ ।’ राउत दैलेख बजारका सफल व्यवसायीका रुपमै चिनिन्थे । उनलाई ब्रेन ट्युमर भयो । उनी बिरामी भएपछि उनको व्यवसाय पनि कमजोर हुँदै गयो । भएको सम्पत्ति सबै उपचारका लाग्यो, नपुगेर लाखौँ रकम ऋण लाग्यो । तर, उनी बचेनन् । ‘तर, भाइ कोरिया जान पाएन । बुबाको उपचारमा धेरै खर्च भयो, ऋण थियो । पसल गर्दा पनि ऋण थियो,’ रोशनले भने, ‘त्यही रकम तिरौँला, कोरिया गएपछि आम्दानी पनि धेरै हुने, ऋण पनि चाँडो तिरिने भएर कोरियातिर जाने सोच बनाएको थियो ।’ उपचारकै क्रममा ०७९ मङ्सिरमा उनको मृत्यु भयो । बुबाको मृत्यु र व्यवसाय पनि संकटमा भएकाले सबै जिम्मेवारी काँधमा बोकेका सुजनलाई कोरिया जानुपर्ने बाध्यता बनेको दाइ रोशन बताउँछन् । उनका अनुसार सुजन निकै मेहनती र इमानदार थिए । यसअघि सुजन नेपालगञ्ज बसेर ओभरसियर पढ्थे । अन्तिम सेमिस्टरमा एउटा विषय बाँकी थियो । बुबाको मृत्यु भएपछि उनले पढाइ पनि पूरा गर्न पाएका थिएनन् । घरमा आमा नन्दाकुमारी, एक भाइ र दिदी छन् । सदरमुकामको काँडाचौरमा उनीहरु बस्छन् । रोशनका अनुसार सुजनकै साइँला बुबाको छोरा पनि कोरिया नै जाने भनेर सँगै लागेका थिए । रोशनका अनुसार सुजनसँगै रहेका अंकलको छोरा (सुजनको दाइ)ले आन्दोलनमा नगएको तर, हेर्नका लागि त्यहाँ पुगेको बताइरहेका छन् । सुजनका अंकल नन्दु राउतका अनुसार भक्तबहादुरको मृत्यु पश्चात सुजनको आमा नन्दा कुमारीले रसिया पठाइदिने कुरा सुनाएकी थिइन् । ‘रसियामा अहिले आर्मीका रुपमा जान्छन् नि, त्यसैमा पठाइदिन्छु बाबु, यहाँ जागिर पनि केही छैन । अन्यत्र गर्ने पनि केही छैन, व्यवसाय पनि डुबिरहेको छ भनेर भाउजूले मलाई भन्नुभएको थियो,’ नन्दु भन्छन्, ‘पछि रसिया नगई कोरियाको तयारीमा रहेछ ।’

Like