पेट्रोलियम पदार्थको मूल्य घट्ने सूचनाथाहा भएपछि हाहाकार

Share to:

रासंसा/धनुषा, मार्ग २,

मुलुकमा शुक्रबार विहान नेपाल आयल निगमको धनुषास्थित महेन्द्रनगर डिपोमा २० वटा गाडी (टयांकर) तेलको माग आयो। कर्मचारी नियमितरूपमा काम गरिरहेका बेला केही बेरमै ती मागहरू विस्तारै रद्द हुन थाल्यो। दिउँसो २ बज्दा २० ट्यांकर माग रहेको तेल झरेर ८ टयांकरमा आइपुग्यो। यसरी तेलको माग ह्वात्तै घट्नुको मुख्य कारण तेलको मूल्य घट्ने सूचना चुहिनु हो। शुक्रबार २० ट्यांकर तेलको माग रहेको नेपाल आयल निगम लिमिटेड महेन्द्रनगर धनुषा डिपोमा रद्द भएर ८ ट्यांकरमात्र खपत भएको थियो। तर शनिबार ११ बजेसम्म मात्र ३० टयांकर तेलको माग आएको महेन्द्रनगर डिपोका एक उच्चस्थ पदका कर्मचारीले नाम नबताउने शर्तमा बताए। उनले भने, ‘हाकिमको मिलोमत्तोमा विदाको दिनमा पनि कार्यालय खोलेर तेलको बिलिङ गर्ने गरेको छ।’ तेलको मूल्य घटने सूचना पर्खिएर बसेको पेट्रोलियम व्यवसायीहरू रातिसम्म मूल्य घटेर आउने बाटो कुरेर बसे। तर संयोगबस तेलको मूल्य घटेर आएन। मूल्य नघटेपछि शनिबार विहानैदेखि विदाको दिनमा पनि बिल काट्ने काम भने रोकिएको छैन। ‘जुन दिन भाउ बढ्छ त्यो दिनभन्दा एकै दिन अगावै ३० देखि ३५ केएल गाडी एकैदिन निस्किन्छ, तर जुन दिन मूल्य घटछ त्यो दिन बिक्री वितरण नै हुँदैन,’ निगमका एक अधिकारीले भने, ‘यसमा हाम्रो हाकिम सापको पनि मिलोमत्तो हुन्छ। नत्र शुक्रबार २० टयांकर तेल माग गरेको व्यवसायीले रद्द गरेर फेरि शनिबार ३० टयांककर माग गर्नु सूचना चुहिनुको प्रमाण हो।’आयल निगम लिमिटेड महेन्द्रनगर धनुषा डिपोका प्रमुख दिलिप चौधरीले बजारको मागअनुसार आपूर्तिका लागि शनिबार पनि कार्यालय खोलेर तेलको माग पूरा गरिरहेको बताए। अन्नपूर्णकर्मीले शुक्रबार तेलको माग रद्द गरेर किन शनिबार तेल दिन लागिएको छ? भन्ने प्रश्नमा चौधरीले पछि कुरा गरौंला भन्दै फोन काटेका थिए। पेट्रोलको मूल्य बढ्ने सूचना पाएपछि व्यवसायीहरूले एक ट्यांकरको ठाउँमा चारवटासम्म खरिद गर्ने गरेको उनको भनाइ छ। कतिपयले त तेल हुँदाहुँदै पनि पेट्रोल पम्प बन्द गर्ने गरेको स्थानीहरूको गुनासो छ। धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले तेलको विषयमा आफूहरूलाई धेरै थाहा नहुने बताए। तेलसम्बन्धी विवरण नेपाल आयल निगमको प्रवक्तासँग बुझ्ने विषय भएको उनले बताए। उनले भने, ‘तेलको हाहाकार भएको विषयमा आधिकारिक सूचना छैन। तर बजारमा तेल नभएको मैले पनि सुने।’
नेपाल आयल निगम लिमिटेड महेन्द्रनगर डिपोमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा तेलको माग घट्ने र बढ्दा तेलको माग बढ्ने तथ्यांकले देखाउँछ।

Like