‘चियापान रणनीति’ निषेध संस्कृतिविरुद्ध सफल

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक १६,

मुलुकमा दसैंलगत्तै राजनीतिक दलहरूले आयोजना गर्ने शुभ-कामना आदानप्रदान तथा चियापान कार्यक्रम शीर्ष नेताहरूको सम्बन्ध सुधार गर्ने माध्यम बन्ने गरेको छ । दसैंलगत्तै नेपाली कांग्रेसको चियापान होस् या बुधबार एमालेले गरेको चियापान, यी दुवैमा शीर्ष नेता सहभागी भए अनि खुलेर कुराकानी पनि गरे । चियापान समारोहमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले दलहरूबीच विश्वासको वातावरण बन्दै गएको बताए । आफूले सुरुआती चरणदेखि नै दलहरूलाई एकै ठाउँमा ल्याउन पहल गरिरहेको उनले बताए । ‘मैले जहिले पनि दलहरूलाई एकै ठाउँमा ल्याउन पहल गरेको छु, आज (बुधबार) बिहानको मिटिङ पनि त्यही पहल हो, सकारात्मक भएको छ, नेपाली कांग्रेसले गरेको चियापानसहितको शुभकामना आदानप्रदान र एमालेले गरेको त्यस्तै कार्यक्रमले पार्टीबीच समझदारी कायम गर्ने राम्रो वातावरण बनेको महसुस गरेको छु,’ दाहालले भने । कांग्रेसको चियापानमा दल र नेतामाथि उठेका प्रश्नको एकमुष्ट जवाफ दिने भनेका नेताले एमालेको कार्यक्रममा चियापान आपसी समझदारी बढाउने माध्यम बनेको बताए । राष्ट्रिय अजेन्डामा दलहरू एक ठाउँ उभिँदा सकारात्मक सन्देश जान्छ । त्यसैले नेतालाई समझदारीमा ल्याउने एउटा माध्यम चियापान बनेको छ । एमाले चियापानमा सहभागी नेताले यही विषयलाई महत्त्व दिए । त्यसलगत्तै एमाले अध्यक्ष ओलीले पनि दलहरूबीच सकारात्मक समझदारी बनेको संकेत गरे । उनले समझदारीका लागि लक्षण राम्रो भएको बताएका थिए । ‘उहाँ (पुष्पकमल दाहाल) सँग मेरो बिहान भेट भएको थियो । तपाईंहरूले देखिहाल्नुभयो, हाम्रो चेहरा देख्नुभयो, हाउभाउ देख्नुभयो, हात हल्लाएको देख्नुभयो, हात मिलाएको देख्नुभयो, राम्रै लक्षण छ नि होइन,’ ओलीले भने । त्यसअघि ओलीले चियापानकै सन्दर्भलाई जोडेर संक्रमणकालीन न्यायलाई पीडितकेन्द्रित भएर टुंग्याइने बताएका थिए । एमालेको चियापानअघि प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष ओली र सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेस सभापति शेरबहादुर देउवाले संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई कसरी टुंग्याउने भन्नेबारे छलफल गरेका थिए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटका क्रममा एमाले ओलीले प्रधानमन्त्री दाहालका कारण शान्ति प्रक्रियाको बाँकी काम पूरा नभएको आरोप लगाएका थिए । गुटेरेस फर्केलगत्तै दाहाल, देउवा र ओलीबीच भेटघाट भएको हो । ‘सहमतिका साथ पीडितकेन्द्रित भएर संक्रमणकालीन न्याय टुंग्याउनुपर्छ, सर्वोच्चको आदेशलाई मानेर टुंग्याउनुपर्छ, अन्तर्राष्ट्रिय समुदाय खासगरी मानव अधिकारवादी संघहरूमा पनि केही कुरा भएको छ, त्यसलाई पनि ध्यान दिनुपर्छ,’ ओलीले भने । चियापान कार्यक्रममा एमाले अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, केन्द्रीय सल्लाहकार कमिटी अध्यक्ष अमृत बोहोरालगायतले आगन्तुकलाई स्वागत गरेका थिए । एमालेले विशिष्ट पाहुनालाई छुट्टै व्यवस्था गरेको थियो । एमालेले कांग्रेस सभापति देउवासहित सबैलाई एउटै राउन्ड टेबलमा राखेको थियो । चियापानमा नेकपा एकीकृत समाजवादी (नेकपा एस) का सम्मानित नेता झलनाथ खनाल सहभागी भए पनि अध्यक्ष माधव नेपाल भने अनुपस्थित रहे । निर्वाचन क्षेत्रको कार्यत्रम राखेर उनी बुधबार बिहानै रौतहट पुगेकाले कार्यक्रममा सहभागी नभएका हुन् । एमालेले नेकपा एसका अध्यक्ष नेपालसहितका नेतालाई निम्ता गरेको थियो । चियापानमा सहभागी नेता खनालले एमाले अध्यक्ष ओलीसँग निकैबेर कुराकानी गरे । एमालेले आफूबाट चोइटिएर बनेको नेकपा एसलाई दोस्रो पटक पार्टीका रूपमा सम्बोधन गरेर पत्राचार गरेको थियो । नेकपा एसकी सचिव रामकुमारी झाँक्री चियापानमा सहभागी हुन च्यासल पुगेपछि उनको पक्षमा हुटिङ भयो । झाँक्रीलाई एमाले अध्यक्ष ओलीले स्वागत गरे । ओलीलाई पुष्पगुच्छा दिएकी उनी अष्टलक्ष्मी शाक्यको अँगालोमा बाँधिइन् ।
चियापानमा सहभागी एमाले नेता भीम रावलसँग प्रधानमन्त्री दाहालले असन्तुष्टि प्रकट गरे । रावलले सामाजिक सञ्जालमा लेखेको स्टाटसको विषयलाई लिएर प्रधानमन्त्री दाहालले असन्तुष्टि जनाएका थिए । नमस्कार गर्दै आफू नजिकै पुगेका रावलसँग दाहालले ‘सामाजिक सञ्जालमा के लेख्नुभएको त्यस्तो ? पुरानो स्टेटमेन्ट पनि हेर्नुप¥यो नि’ भन्दै असन्तुष्टि प्रकट गरेका थिए । ‘संयुक्त राष्ट्रसंघले अल्झाउन खोजेको शान्ति प्रक्रिया संयुक्त राष्ट्रसंघको नियोगलाई नेपालबाट बिदा गरेपछि मात्र अघि बढेको जान्दाजान्दै प्रधानमन्त्री दाहालले नेपालको हातमा आएको अधिकार फेरि राष्ट्रसंघलाई बुझाउन खोज्नु गैरजिम्मेवार र निकम्मा चरित्रको द्योतक हो, यस्तो कुकर्म नहोस्,’ रावलले सामाजिक सञ्जालमा लेखेका थिए ।

Like