अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न महासचिव गुटेरेसको भ्रमण महत्वपूर्ण, प्रधानमन्त्री प्रचण्ड
रासंसा/काठमाण्डौ, कार्तिक १२,
मुलुकका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयु्क्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणबाट राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायसँग नेपालको सम्बन्ध मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्री दाहालले भने,’ असाध्यै सकारात्मक छलफल भएको छ । यहाँको राजनीतिक उतारचढाव र शान्ति प्रक्रियाबारे उहाँलाई राम्रो थाहा छ। मौसम परिवर्तनका असरबारे पनि छलफल भयो।’ महासचिव गुटेरेससँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको औपचारिक भेटवार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय क्षेत्रसँग सम्बन्ध विस्तार तथा सहजीकरण गर्न भ्रमणले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका हुन्। उनले सौहार्दपूर्ण वातावरणमा दुईपक्षीय हित र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयमा छलफल भएको उल्लेख गर्दै मुख्यरुपमा जलवायु परिवर्तनको विषयमा गम्भीररुपमा चर्चा भएको बताए । नेपालको आर्थिक विकास र समृद्धिका बारेमा पनि छलफल भएको र नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नति हुनेक्रममा रहेकाले यो प्रक्रिया सहज बनाउन तथा तोकिएको समयमा दिगो विकास लक्ष्य हासिल गर्नका लागि सहयोग गर्न पनि प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघ महासचिव गुटेरेससँग आग्रह गरे। प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालमा जलवायु परिवर्तनका नकारात्मक असरको न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायमा संयुक्त राष्ट्रसंघको महासचिवको हैसियतले उहाँले खेल्नु भएको भूमिकाको उच्च प्रशंसा गर्यौ| ।’ उनले भने,’नेपालको राजनीतिक उतारचढाव र शान्ति प्रक्रियाबारे महासचिव गुटेरेसलाई राम्रो थाहा छ। मौसम परिवर्तनका असरबारे पनि छलफल भयो । यसैगरी, महासचिव गुटेरेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। महासचिव गुटेरेसले आजै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेका थिए।