भाइटीका, महागुरु फाल्गुनन्द जयन्ती तथा किजा पूजा { भ्रातृत्व, आध्यात्मिक चेतना, सांस्कृतिक पहिचान र सामाजिक सद्भावको अनुपम सङ्गम
राष्ट्रसंरक्षण डटकम/काठमाण्डौ, कार्त्तिक २५,

डा. के. बि. सम्राट
प्रेम, विश्वास र पारिवारिक एकताको प्रतीक भाइटीका; किरात धर्मदर्शनका महान् समाजसुधारक महागुरु फाल्गुनन्दको जन्मजयन्ती; नेवार समुदायको सांस्कृतिक परम्परा किजा पूजाले नेपाली समाजलाई एकता, सहिष्णुता, सदाचार र मानवताको अमूल्य सन्देश प्रदान गर्दछन्। नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न अनुपम राष्ट्र हो। यहाँका चाडपर्व, धार्मिक अनुष्ठान, महापुरुषका जन्मजयन्ती र सांस्कृतिक परम्पराहरू केवल उत्सव मनाउने माध्यम मात्र होइनन्, बरु पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका जीवनदर्शन, नैतिक मूल्य, सामाजिक सम्बन्ध र राष्ट्रिय एकताका जीवन्त आधार हुन्। भाइटीका, महागुरु फाल्गुनन्द जयन्ती तथा किजा पूजा यस्तै विशिष्ट महत्त्व बोकेका पर्व तथा स्मृति दिवस हुन्। यी तीनवटै अवसरको मूल सन्देश फरक सांस्कृतिक पृष्ठभूमिमा आधारित भए पनि तिनले प्रेम, सम्मान, सदाचार, आत्मीयता, पारिवारिक सम्बन्ध, सामाजिक सुधार र मानवीय एकताको साझा भावनालाई उजागर गर्दछन्।
भाइटीका – दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र अटुट सम्बन्धको पर्व :
नेपालीहरूको दोस्रो महान् सांस्कृतिक पर्व तिहारको अन्तिम दिन मनाइने भाइटीका दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आत्मीयता र पारस्परिक संरक्षणको अनुपम प्रतीक हो। यस दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिने, मखमली तथा सयपत्रीका माला पहिराइदिने र विशेष परिकार खुवाउने परम्परा रहेको छ। धार्मिक मान्यताअनुसार यमराज र यमुनासँग सम्बन्धित पौराणिक कथाले पनि भाइटीकाको महत्त्वलाई विशेष रूपमा व्याख्या गर्दछ। यमुनाले आफ्ना दाजु यमराजलाई टीका लगाई सत्कार गरेको प्रसङ्गसँग जोडेर यस पर्वलाई दाजुभाइको दीर्घायु तथा दिदीबहिनीको स्नेहको प्रतीकका रूपमा लिइन्छ।
भाइटीका केवल टीका लगाउने औपचारिकता होइन। यो त परिवारभित्रको माया, सम्मान, जिम्मेवारी र आपसी सहयोगलाई नवीकरण गर्ने पवित्र अवसर हो। आधुनिक व्यस्त जीवनशैली, पारिवारिक दूरी र सामाजिक परिवर्तनका बीच यस पर्वले आफन्तसँग जोडिने, मनमुटाव हटाउने र सम्बन्धलाई पुनः सुमधुर बनाउने प्रेरणा दिन्छ। यस पर्वले दाजुभाइलाई दिदीबहिनीको सम्मान, सुरक्षा र अधिकारप्रति जिम्मेवार बन्न तथा दिदीबहिनीलाई पनि पारिवारिक सम्बन्धमा समानता, सद्भाव र आत्मीयता कायम राख्न प्रेरित गर्दछ। त्यसैले भाइटीकाको वास्तविक सार लैङ्गिक समानता, पारस्परिक सम्मान र निःस्वार्थ प्रेममा निहित छ।
नेपालको लागि यो वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ०७ मिनेटमा रहेको छ। बिहान सबेरैदेखि घरघरमा चहलपहल सुरु भइसक्यो होला, दिदीबहिनीहरू दाजुभाइलाई टीका लगाउन माइती पुगिसक्नुभयो होला भने कति जना दाजुभाइ आउने प्रतीक्षा र हर्षमा टीका लगाउने चाँजोपाँजो पो मिलाउँदै हुनुहुन्छ कि? झिलिमिली, उज्यालो, पशुपन्छीको पूजा, भाइबहिनीको प्रेम, सेलरोटी र मिठाइ, फूलमाला, देउसीभैलो तथा नेपाल संवत्को प्रारम्भ, महाकवि जयन्तीजस्ता विशेषता बोकेको तिहार आएको छ।
सप्तरङ्गी टीका, कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सेलरोटी, अनर्सा, मिठा स्वादिला चकलेट, काजु, किसमिस, नरिवल, छोकडा, मिठाई, मरमसलालगायतका खानेकुराहरूसहित आज दिदीबहिनीले दाजुभाइको पूजा गर्ने चलन छ।
भाइटीकाका विषयमा एउटा अत्यन्त प्रचलित जनउक्ति रहेको छ। एक पटक एउटी चेलीले आफ्नो दाजुलाई टीका लगाउँदै गर्दा यमराजको दूत उनको दाजुलाई लिन आइपुग्छ। यमदूतका अनुसार उनका दाजुको आयु पुगिसकेको हुन्छ र अब उनको मृत्यु निश्चित हुन्छ। ती चेलीले यमदूतलाई टीका–टालो नसकुन्जेलसम्म पर्खिन भन्छिन् र टीका–टालाका क्रममा यमदूतलाई पनि सँगै राखेर टीका–टालो लगाई पूजा गर्छिन्। यसरी चेलीको श्रद्धा र सम्मानबाट खुसी भएका यमदूतले प्रसन्न भएर चेलीसँग वरदान माग्न भन्छन्। उनले आफ्ना दाजुलाई नलैजानुहोस् भनी वरदान मागेर दाजुलाई बचाउँछिन्। अर्थात्, चेलीको मायाले दाजुभाइको मृत्युसमेत टर्छ भन्ने जनविश्वास रहेको छ। यमराजले पनि आफ्नी बहिनीसँग यमपञ्चकको पाँचौँ दिन टीका लगाउँदा बहिनीले वरदानस्वरूप हरेक वर्ष दाजुलाई यसै गरी टीका लगाउन र पूजा गर्न पाऊँ भन्ने वरदान मागेकाले भाइटीकाको चलन चलिआएको किंवदन्ती रहेको छ।
विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपाली मूलका नागरिकहरू तथा सनातन धर्मावलम्बीहरूका लागि यो वर्षको तिहार अन्तर्गत भाइटीकाको दिन टीकाको उत्तम साइत निम्नानुसार निर्धारण गरिएको छ । स्थान र देश, मिति, टीकाको साइत (स्थानीय समयानुसार)
१ .काठमाडौं, नेपाल, कार्तिक २५ गते, प्रात: ११:०७
२.दिल्ली, भारत ,११ नोभेम्बर प्रातः ११:२१
३.न्युयोर्क, अमेरिका, १० नोभेम्बर प्रातः ११:२५
४.फ्रयांकफर्ट,केन्टुकी, अमेरिका, १० नोभेम्बर प्रातः ११:२३
५.वोवेन्सवोरो, केन्टुकी, अमेरिका १० नोभेम्बर प्रात: ११:१३
६.टेक्सास, अमेरिका, १० नोभेम्बर प्रातः ११:३५
७.क्यालिफोर्निया, अमेरिका, १० नोभेम्बर प्रातः ११:०५
८.टोरेन्टो, क्यानडा, १० नोभेम्बर प्रातः ११:५७
९.भ्यानकुभर, क्यानडा, १० नोभेम्बर प्रातः ११:५५
१०.टोकियो, जापान, ११ नोभेम्बर प्रातः११:०१
११.सिड्नी, अस्ट्रेलिया,११ नोभेम्बर प्रातः ११:४५
१२.मेलवर्न, अस्ट्रेलिया, ११ नोभेम्बर प्रातः ११:५०
१३.ब्रिसबेन, अस्ट्रेलिया,११ नोभेम्बर प्रातः १०:५५
१४.क्यानबेरा, अस्ट्रेलिया,११ नोभेम्बर प्रातः ११:२१
१५.एडीलेड,अस्ट्रेलिया, ११ नोभेम्बर प्रातः ११:२९
१६.न्युजिल्याण्ड,११ नोभेम्बर प्रात: ११:५५
१७.पर्चुगल,१० नोभेम्बर प्रात: ११:५७
१८.लण्डन, बेलायत, ११ नोभेम्बर प्रात: ११:३१
१९.पेरिस, फ्रान्स, १० नोभेम्बरप्रात: ११:३५
२०.ओस्लो, नर्वे, १० नोभेम्बरप्रात: ११:५५
२१.मलेसिया, ११ नोभेम्बर प्रात: ११:३३
२२.यु.ए.ई.,११ नोभेम्बर प्रात: ११:११
२३.दोहा, कतार,११ नोभेम्बर प्रात: ११:२५
२४.थाईल्याण्ड, ११ नोभेम्बर प्रात: १०:५७
२५.दक्षिण कोरिया, ११ नोभेम्बर प्रात: ११:५५
२६.इजरायल, १० नोभेम्बर प्रात: ११:०१
२७.सिङ्गापुर,११ नोभेम्बर प्रात: ११:२३
२८.हङ्कङ्ग, ११ नोभेम्बर प्रात: ११:१५
२९.साउदी अरेबिया,११ नोभेम्बर प्रातः ११:५१
३०.याङ्कन, म्यानमार,११ नोभेम्बर प्रात: ११:५७
३१.स्वीट्जरल्याण्ड,१० नोभेम्बर प्रात: ११:४५
३२.तस्मनिया,अस्ट्रेलिया ११ नोभेम्बरप्रात: ११:०३
३३.वासिङ्टन डि.सी १० नोभेम्बरप्रात: ११:३३
३४.पर्थ,अस्ट्रेलिया ११ नोभेम्बर प्रात: ११:११
३५.फिनल्याण्ड ११ नोभेम्बर प्रात :११:४५
दिदीबहिनीले पान, सुपारी, नरिवल या मिठाईलगायतका कुराहरू दिएर दसैँ पछि दाजुभाइलाई भाइटीकाको निम्तो दिने चलन छ। यसरी निम्तो पाएका दाजुभाइहरू आज दिदीबहिनीसँग टीका लगाउँछन्। टीका लगाउनुअघि दिदीबहिनीले दाजुभाइलाई विशेष पूजा गर्न भुइँमा चकटी ओछ्याएर बसेको ठाउँ वरिपरि कलशमा तेल–पानी राखेर हरियो दुबोबाट पातलो धारा बगाउँदै पाँच पटक अथवा सात पटक घुमेर घेर्ने कार्यबाट पूजा प्रारम्भ गरिन्छ। त्यसपछि अक्षता, फूल, चन्दन, धानलाई भुटेर तयार पारिएको लाभा छर्कँदै कलशको पानीलाई दुबोले अभिषेक गर्दै पूजा गरिन्छ। यमराजको प्रतीक मानेर बिमिरा (एक प्रकारको ठूलो कागती प्रजातिको फल) को पूजा गरिसकेपछि, ढोकामा ओखर राखेर ढुङ्गाको लोहोरोले फुटाई ढोका ढ्याप्प लगाएर काललाई छेक्ने चलन छ। कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सदैव हरियो रहने दुबो अनि सयपत्रीको माला लगाएर आफ्ना दाजुभाइको आरोग्य र दीर्घायुको कामना गर्ने चलन छ।
शिरमा तोरीको तेल लगाएर दाजुभाइको कपाल कोरेर अनि सप्तरङ्गी टीका लगाइदिएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिन्छन्। सप्तरङ्गी टीकाको रङ एकअर्काको निधारमा सप्रेम लगाइसकेपछि दिदीबहिनीहरू आफ्नो गच्छेअनुसार फलफूल, नैवेद्य, मरमसला दाजुभाइलाई प्रदान गर्दछन् भने दाजुभाइले पनि आफ्नो गच्छेअनुसारको दक्षिणा या अन्य उपहार दिदीबहिनीको पाउमा राखेर ढोग्दछन्।
आजको दिन अधिकांश निधारहरू सप्तरङ्गी हुन्छन्। दिदीबहिनी नभएकाहरूले कसैलाई दिदीबहिनी मानेर या मठमन्दिरमा अनि काठमाडौँको रानीपोखरीमा गएर टीका लगाउने अनि सामूहिक भाइटीकामा सहभागी हुने चलन पनि छ।
आजको दिन लामो समयदेखि भेटघाट नभएका दाजुभाइ तथा दिदीबहिनीको भेटघाट हुँदै छ। आपसमा माया र सद्भाव साटासाट हुँदै छ। नेपाल, भारत, भुटान, म्यानमार अनि थाइल्यान्डमा समेत यो चाड आ–आफ्नै तरिकाले मनाउने चलन छ। भ्रातृत्व र आत्मीयताको यो दिन साँच्चै नै अत्यन्त महत्त्वपूर्ण र रमाइलो हुन्छ। यस महान् पर्व तिहारको आज पाँचौँ दिन यमपञ्चकको औपचारिक अन्त्य हुँदै छ। दसैँलाई बिस्तारै बिदा गरेर तिहारको रमाइलोमा लुटपुटिँदै गर्दा तिहारको झटपट बिदाइले साह्रै नरमाइलो पनि लाग्छ। बिदाहरू सकिएर अब विद्यालयहरू सुचारु हुन्छन्, कार्यालयमा पनि नियमित दैनिकीका कामकाजले आफ्नो गति लिन थाल्दछ। हिउँदका छोटा दिनहरू बढ्दै जाँदा न्यानो कपडा अनि तातो खानपानसमेत प्राथमिकतामा पर्न थाल्दछ।
महागुरु फाल्गुनन्द जयन्ती – धर्म, दर्शन, नैतिकता र समाज सुधारको महान् प्रेरणा :
नेपालको धार्मिक, सांस्कृतिक तथा सामाजिक इतिहासमा महत्त्वपूर्ण स्थान ओगट्नुभएका महागुरु फाल्गुनन्द लिङ्देन किरात धर्मदर्शनका महान् प्रवर्तक, आध्यात्मिक चिन्तक, समाज सुधारक तथा राष्ट्रिय विभूति हुनुहुन्छ। उहाँको जन्म वि.सं. १९४२ साल कात्तिक २५ गते इलाममा भएको थियो। उहाँको जीवन मानवता, नैतिकता, धार्मिक चेतना, सामाजिक सुधार र मौलिक संस्कृतिको संरक्षणका लागि समर्पित थियो। महागुरु फाल्गुनन्दले किरात समुदायको धार्मिक आस्था, मौलिक भाषा, लिपि, संस्कार, संस्कृति तथा सामाजिक पहिचानको संरक्षण र प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउनुभयो। उहाँले समाजमा विद्यमान विकृति, विसङ्गति, अन्धविश्वास, कुरीति र अनावश्यक खर्चिलो प्रथाहरूलाई हटाउँदै नैतिक तथा अनुशासित जीवनशैली अपनाउन प्रेरित गर्नुभयो।
उहाँको समाज सुधार अभियानसँग जोडिएको सत्यधर्म मुचुल्का विशेष ऐतिहासिक महत्त्वको दस्तावेज हो। वि.सं. १९८८ वैशाख २४ गते जारी गरिएको यस मुचुल्काले किरात समाजमा धार्मिक तथा सामाजिक सुधारको मार्ग प्रशस्त गर्ने उद्देश्य राखेको थियो। यसले समाजलाई सदाचार, संयम, अहिंसा, नैतिकता र सामूहिक उत्तरदायित्वतर्फ अभिप्रेरित गरेको मानिन्छ। महागुरु फाल्गुनन्दको दर्शनको मूल भाव मानिसले आफ्नो जीवनलाई पवित्र, अनुशासित र सदाचारयुक्त बनाउनुपर्छ भन्ने हो। धर्मको नाममा विभेद, हिंसा र अन्धविश्वासलाई प्रश्रय दिनुभन्दा मानवता, प्रेम, सहिष्णुता र प्रकृतिप्रतिको सम्मानलाई प्राथमिकता दिनुपर्ने उहाँको समाज सुधारको सन्देश आज पनि उत्तिकै सान्दर्भिक छ।
उहाँको योगदान कुनै एउटा जाति वा समुदायमा मात्र सीमित छैन। नेपाली समाजमा धार्मिक सहिष्णुता, सांस्कृतिक विविधताको सम्मान, सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावना विकास गर्न उहाँको जीवनदर्शन प्रेरणादायी छ। महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाउनु भनेको उहाँको तस्बिरमा माल्यार्पण गर्नु र औपचारिक कार्यक्रम आयोजना गर्नुमा मात्र सीमित हुनु हुँदैन। उहाँले देखाउनुभएको सत्य, धर्म, नैतिकता, अनुशासन, सदाचार र समाज सुधारको मार्गलाई व्यवहारमा आत्मसात् गर्नु नै उहाँप्रतिको वास्तविक सम्मान हो।
भनिन्छ, युगपुरुषहरूको जन्मका लागि निकै लामो समय लाग्छ; एउटा लामो कालखण्डमा एक जना मात्र युगपुरुषको जन्म हुन्छ भन्ने विश्वास पनि गरिँदै आएको छ। यस्ता युगपुरुषहरूले आफ्नो ज्ञान, अनुभव र सीपका आधारमा युगौँयुगसम्म पनि समाजमा सकारात्मक प्रभाव पार्ने र समाजलाई उत्प्रेरणाको पथमा अविचलित यात्रा गराइरहने विश्वास पनि गरिन्छ। यस्ता युगपुरुषहरूले आफूले मोक्ष मात्र प्राप्त गर्दैनन्, समाजका लागि उपयोगी होस् भनेर ज्ञानको भण्डार बाँड्ने पनि गर्छन्। यस्ता युगपुरुषहरूबारे पनि विभिन्न सामग्री प्रकाशित गर्दै आएको छ। उनीहरूको जन्मजयन्तीका अवसरमा इतिहासका विभिन्न पक्षहरूलाई हामीले उजागर गर्दै आएका छौँ।
आज चर्चा गरौँ, त्यस्तै एक महापुरुष गुरु फाल्गुनन्दबारे। वि.सं. १९४२ सालमा नेपालको पूर्वी भागमा पर्ने इलाममा जन्मिएका गुरु फाल्गुनन्दमा अद्भुत तथा चमत्कारिक गुण रहेको विश्वास गरिन्छ। पूर्वी नेपालका विभिन्न ठाउँमा किरातहरूको माङहिम मन्दिर स्थापना गर्न उनको विशेष तथा महत्त्वपूर्ण योगदान र सहभागिता रहेको मानिन्छ। पूर्वी नेपालका पहाडी जिल्लामा बसोबास गर्ने अत्यन्त शालीन अनि प्रकृतिप्रेमी किरात समुदायलाई विकासको मूलधारमा ल्याउन, सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा अझ प्रगाढ बनाउन अनि शिक्षाको प्रसार गर्न गुरु फाल्गुनन्दको विशेष भूमिका रहेको मानिन्छ। त्यस्तै, किरात समुदायलाई रूढिवादी परम्पराबाट बाहिर ल्याउन पनि गुरु फाल्गुनन्दको ठूलो भूमिका छ। त्यसैले पनि वर्षौँपछि पनि विशेष गरी किरात समुदायमा गुरु फाल्गुनन्दको चर्चा निकै चल्ने गरेको छ।
नेपाल सरकारले वि.सं. २०६६ साल मङ्सिर १६ गते फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो। उनको सम्मानस्वरूप पाँचथर जिल्लामा एक गाउँपालिकाको नाम फाल्गुनन्द गाउँपालिका राखिएको छ। अनि झापा जिल्लाको शान्तिनगरमा उनको पूर्ण कदको प्रतिमा पनि स्थापित गरिएको छ। त्यस्तै, दमक, झापा, इलाम, ताप्लेजुङ, पाँचथर हुँदै चीन जोड्ने सडकमार्गलाई पनि नेपाल सरकारले फाल्गुनन्द राजमार्ग नामकरण गरेको छ। प्रेम र अहिंसाका अनुयायी तथा प्रतीकका रूपमा पनि चिनिने गुरु फाल्गुनन्दको तस्बिर प्रयोग गरेर नेपाल सरकारले हुलाक टिकट पनि जारी गरेको छ।
नेपालमा मात्र होइन, भुटान र भारतमा फैलिएका किरात समुदायले पनि आजको दिनलाई गौरवशाली दिनका रूपमा लिने गरेका छन्। फाल्गुनन्द जयन्तीको अवसरमा किरात समुदायका अगुवाहरूले विभिन्न कार्यक्रम गरिरहेका हुन्छन्।
समाज सुधारकका रूपमा पनि लिइने फाल्गुनन्दको पूरा नाम चाहिँ फाल्गुनन्द लिङ्देन हो। उनलाई अति प्रतिष्ठित गुरु, सत्य वक्ता र साधुका रूपमा पनि लिने गरिएको छ। उनले दिएका दिव्य ज्ञान अनि परम सत्य वचनहरूले आज पनि मानव जीवनका विभिन्न कालखण्डमा सत्मार्ग देखाउने गरेको पाइन्छ। यिनै सामाजिक अनि आध्यात्मिक चिन्तनका गुरु फाल्गुनन्दको सम्झनामा नेपालका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रमहरू पनि गरिन्छ।
गुरु फाल्गुनन्दका दिव्य वचन तथा ज्ञानलाई आत्मसात् गर्दै वि.सं. २०७० सालमा पहिलो पटक नेपालमा लिम्बू सम्मेलन पनि आयोजना गरिएको थियो। ‘आदिवासी जनजातिको शान, आत्मसम्मान, प्रतिष्ठा र पहिचान लिम्बुवान राष्ट्रिय जागरण, कियाचु युप्पा तङ्बेरेन् हेःक्याम्’ मूल नाराका साथ यो सम्मेलन आयोजना गरिएको थियो। यो सम्मेलनले लिम्बूहरूलाई अन्तर्राष्ट्रिय स्तरमै संस्थागत तथा सङ्गठित हुने वातावरण सिर्जना गरेको विश्वास गरिन्छ। गुरु फाल्गुनन्दका अहिंसाका सिद्धान्तहरू उदाहरणीय भएको पनि मानिन्छ।
तर, वि.सं. १९४२ सालमा जन्मिँदा फाल्गुनन्दका सुरुवाती दिन सहज थिएनन्। बाबु जगनबाज लिम्बु र आमा हंसमती लिम्बुका साहिँला छोराका रूपमा जन्मिएका फाल्गुनन्दको न्वारनमा नरध्वज लिङ्देन नाम राखिएको थियो। तर, बाल्यकालमा सिकिस्त बिरामी भएपछि उनका बाबुले फलामका चुरा बनाएर हातमा लगाइदिएपछि उनको नाम फलामसिंह रहन गयो। पछि बेलायती सेनामा भर्ती हुन जाँदा फलामसिंहको नाम परिवर्तन गरेर फाल्गुनन्द राखिएको हो।
आठ वर्षको उमेरमै हत्या र हिंसाको विरोधमा फाल्गुनन्दले आफ्ना धारणा राखेका थिए। उनले नारी जाति सृष्टिकर्ता भएकाले उनीहरूलाई समाजमा उच्च सम्मान दिनुपर्ने, आफ्नो कुलदेवताको बिहान र बेलुका पूजा–आराधना गर्नुपर्ने, माछामासु र मदिरा सेवन गर्न नहुने धारणा राख्थ्यो। सेनामा रहँदा पनि साँझबिहान पूजापाठमा लीन रहने भएकाले उनका साथीहरूले उनलाई ध्यानी, योगी, तपस्वीलगायतका उपनामले बोलाउने गरेका थिए। लडाइँबाट विश्वमा शान्ति स्थापना नहुने निष्कर्ष निकालेर गुरु फाल्गुनन्दले बेलायती सेनाको जागिरबाट राजीनामा दिएका थिए।
हत्याहिंसाका विरोधी, सत्यवचन र धर्मकर्ममा निष्ठावान्, समाज सुधारक महागुरु फाल्गुनन्दको आज परेको जन्मजयन्तीमा उनीप्रति श्रद्धासुमन!
किजा पूजा – नेवार सभ्यता, पारिवारिक आत्मीयता र सांस्कृतिक गौरवको पर्व :
नेपालको मौलिक नेवार सभ्यता र संस्कृतिमा किजा पूजाको विशेष महत्त्व रहेको छ। नेवार समुदायमा तिहारलाई स्वन्ति नखःका रूपमा मनाइन्छ। यसअन्तर्गत लक्ष्मी पूजा, म्हः पूजा र किजा पूजा विशेष महत्त्वका साथ सम्पन्न गरिन्छन्।
किजा पूजा मूलतः दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै विधिपूर्वक गरिने पूजा हो। यसलाई नेवार समुदायको भाइटीकाका रूपमा पनि चिनिन्छ।
यस पर्वमा दिदीबहिनीले घरको आँगन वा पूजास्थलमा चामलको पीठोबाट मण्डल तयार गरी दाजुभाइलाई त्यसमा राखेर पूजा गर्ने परम्परा छ। पूजा गर्दा तेलको घेरा बनाउने, बत्ती बाल्ने, फूल, अक्षता, फलफूल तथा विभिन्न पूजासामग्री अर्पण गर्ने चलन रहेको छ। त्यसपछि टीका, माला र सगुन प्रदान गर्दै दाजुभाइको सुखद तथा दीर्घ जीवनको कामना गरिन्छ।
किजा पूजा नेवार समुदायको धार्मिक आस्था र सांस्कृतिक पहिचानको जीवन्त अभिव्यक्ति हो। यसले परिवारभित्रको सम्बन्धलाई बलियो बनाउनुका साथै नेवार समुदायको मौलिक भाषा, परम्परा, संस्कार र सांस्कृतिक सम्पदाको पुस्तान्तरणमा योगदान पुर्याउँछ।
यस पर्वको अर्को महत्त्वपूर्ण पक्ष सामूहिक पारिवारिक सहभागिता हो। दाजुभाइ, दिदीबहिनी, आफन्त र परिवारका सदस्यहरू एकै ठाउँमा भेला भई परम्परागत विधिअनुसार पूजा गर्ने भएकाले यसले पारिवारिक एकता र सामाजिक आत्मीयतालाई थप प्रगाढ बनाउँछ।
किजा पूजाको वास्तविक सन्देश पनि प्रेम, सद्भाव, पारस्परिक सम्मान, कृतज्ञता र पारिवारिक जिम्मेवारी हो। आधुनिक समाजमा मौलिक संस्कार र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तालाई आफ्नो सभ्यतासँग परिचित गराउनु यस पर्वको महत्त्वपूर्ण उपलब्धि हो।
विभिन्न मौलिक चाडबाड, सभ्यता तथा संस्कारका धनी नेवा: समुदायले पनि काग तिहार र कुकुर तिहार मनाए तापनि मूल रूपमा लक्ष्मी पूजा, म्हः पूजा र किजा पूजा भनी भाइटीका मनाउँदै आएका छन्। तीन दिनसम्म लगातार रूपमा मनाउँदै आएको कारणले नै स्वन्ति नखः भनिएको हो। नेवा: भाषामा स्वन्हु भनेको तीन दिन र नखः भनेको चाडपर्व हो।
कृषिप्रधान नेवा: समुदायमा तीन दिनको यो चाड स्वन्ति नखःमा खेतबाट आएको धान भित्र्याउने र वर्षभरिको हिसाबकिताब सम्पन्न गर्ने अर्थात् साल तमाम गर्नुका साथै आफ्नो शरीरलाई पूजा गरी नयाँ वर्षका लागि सङ्घर्ष गर्दै अगाडि बढ्न आवश्यक पौष्टिकता ग्रहण गर्ने पर्वका रूपमा लिएको पाइन्छ।
यस दिनमा म्हः पूजाकै दिनमा जस्तै तयार गरी मण्डप लेख्ने गरिन्छ। बिमिरोदेखि सबै प्रकारका फलफूलसमेत मण्डपमा राख्ने गरिन्छ। नेवा: समुदायमा भने पञ्चरङ्गी टीका नभई अक्षता, अबिर, दही, चिउरा र पानी राखेको रातो टीका लगाइन्छ, जसलाई नेवारी संस्कारमा ‘जाकि सिन्ह’ भनिन्छ। नेवार समुदायमा म्हः पूजाकै दिनमा जस्तै पूजा गरेपछि पञ्चतत्त्वको सगुन दिने र आफ्नो भाइको दीर्घायुको कामना गर्ने गरिन्छ। हरेक मानिसभित्रको देउता अनि दिदीबहिनीबीचको आत्मीयताका लागि नेवा: समुदायमा तिहार प्रसिद्ध छ। काग, कुकुर, गाई, गोरु अनि देउसीभैलोका आशीर्वाद हामीलाई लागून्, वर्षभरि खुसीका प्रकाशहरू आँगनमा फैलिरहून् अनि माया, प्रेम र सद्भाव गहिरिँदै जाऊन्।
तीनवटै पर्वको साझा सन्देश – प्रेम, सदाचार र राष्ट्रिय एकता :
भाइटीका, महागुरु फाल्गुनन्द जयन्ती र किजा पूजा फरक–फरक धार्मिक तथा सांस्कृतिक परम्परासँग सम्बन्धित भए पनि यी तीनवटै अवसरले नेपाली समाजलाई सकारात्मक जीवनदर्शन प्रदान गर्दछन्।
• भाइटीका ले पारिवारिक प्रेम, दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता र पारस्परिक जिम्मेवारी सिकाउँछ।
• महागुरु फाल्गुनन्द जयन्ती ले सत्य, धर्म, नैतिकता, सामाजिक सुधार र आध्यात्मिक चेतनाको मार्ग देखाउँछ।
• किजा पूजा ले नेवार सभ्यताको मौलिक पहिचान, सांस्कृतिक निरन्तरता र पारिवारिक सद्भावको महत्त्व स्थापित गर्छ। यी पर्वहरूले हामीलाई एउटा महत्त्वपूर्ण सत्य सम्झाउँछन्—मानिसको वास्तविक महानता उसको धन, पद र प्रतिष्ठामा होइन, उसको चरित्र, व्यवहार, संस्कार र अरूप्रतिको सम्मानमा निहित हुन्छ।
वर्तमान विश्व तीव्र रूपमा प्रविधि, विज्ञान, आर्थिक प्रतिस्पर्धा र आधुनिक जीवनशैलीतर्फ अघि बढिरहेको छ। यस्तो अवस्थामा मौलिक धर्म, संस्कृति, भाषा, लिपि र परम्पराको संरक्षण गर्नु चुनौतीपूर्ण बन्दै गएको छ। विशेषगरी युवा पुस्तालाई आफ्ना मौलिक चाडपर्वको ऐतिहासिक पृष्ठभूमि, धार्मिक महत्त्व र सामाजिक सन्देशबारे जानकारी गराउनु आवश्यक छ। विद्यालय, विश्वविद्यालय, सञ्चारमाध्यम, सामाजिक संस्था र सांस्कृतिक अभियन्ताहरूले यस दिशामा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ।
हाम्रा पर्वहरूलाई केवल उपभोग, प्रदर्शन र औपचारिकतामा सीमित नराखी तिनको वास्तविक मर्मलाई जीवन व्यवहारमा उतार्नुपर्छ। चाडपर्वका नाममा हुने अनावश्यक खर्च, देखासिकी र आर्थिक बोझ घटाउँदै मानवीय सम्बन्ध, सांस्कृतिक चेतना र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्छ। यसका साथै सञ्चारमाध्यमले नेपालको बहुसांस्कृतिक पहिचान, ऐतिहासिक व्यक्तित्व र मौलिक परम्पराको तथ्यपरक प्रचारप्रसार गर्दै नयाँ पुस्तामा राष्ट्रिय गौरवको भावना जागृत गराउनुपर्छ।
नेपालको संविधानले धार्मिक तथा सांस्कृतिक स्वतन्त्रता र विविधताको सम्मानलाई महत्त्व दिएको छ। त्यसैले राज्यले सबै समुदायका मौलिक पर्व, धार्मिक सम्पदा र सांस्कृतिक परम्पराको संरक्षण तथा प्रवर्द्धनमा समान दृष्टिकोण अपनाउनुपर्छ। यसका लागि:
महागुरु फाल्गुनन्दजस्ता राष्ट्रिय विभूतिहरूको योगदानलाई राष्ट्रिय पाठ्यक्रममा उचित स्थान दिनुपर्छ।
किरात धर्मदर्शन, भाषा, लिपि र सांस्कृतिक सम्पदाको संरक्षण गर्नुपर्छ।
नेवार समुदायको स्वन्ति नखः, म्हः पूजा र किजा पूजाजस्ता मौलिक पर्वको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वलाई राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्नुपर्छ।
भाइटीकाको अवसरमा दाजुभाइ तथा दिदीबहिनीबीच समानता, सम्मान र आपसी सहयोगको भावना विकास गर्नुपर्छ।
धर्म, जाति, भाषा र संस्कृतिका आधारमा हुने विभेद अन्त्य गर्दै सहिष्णुता र राष्ट्रिय एकताको वातावरण निर्माण गर्नुपर्छ।
अन्त्यमा भाइटीका, महागुरु फाल्गुनन्द जयन्ती तथा किजा पूजा नेपाली समाजका तीन विशिष्ट सांस्कृतिक तथा आध्यात्मिक धरोहर हुन्। यी अवसरहरूले हामीलाई पारिवारिक सम्बन्धको महत्त्व, आध्यात्मिक जीवनको गरिमा, सामाजिक सुधारको आवश्यकता र मौलिक संस्कृतिको संरक्षण गर्न प्रेरित गर्दछन्।
भाइटीकाले सम्बन्धमा प्रेम र विश्वासको दीप प्रज्वलित गर्छ। महागुरु फाल्गुनन्दको जीवनदर्शनले सत्य, धर्म, नैतिकता र सामाजिक रूपान्तरणको बाटो देखाउँछ। किजा पूजाले हाम्रो मौलिक नेवार सभ्यता र पारिवारिक आत्मीयताको गौरवलाई जीवन्त राख्छ। आज नेपाललाई राजनीतिक स्थिरता, आर्थिक समृद्धि, सामाजिक न्याय, सुशासन र राष्ट्रिय एकताको आवश्यकता छ। यी लक्ष्य प्राप्त गर्न भौतिक विकाससँगै नैतिक, सांस्कृतिक र आध्यात्मिक चेतनाको विकास पनि उत्तिकै अपरिहार्य छ।
हामीले बुझ्नुपर्छ—संस्कृति हाम्रो पहिचान हो, संस्कार हाम्रो चरित्र हो र मानवता हाम्रो साझा धर्म हो। विविधताभित्र एकता, परम्पराभित्र प्रगतिशीलता र आध्यात्मिकताभित्र मानवताको भावनालाई आत्मसात् गर्न सके मात्र समुन्नत, सभ्य र समृद्ध नेपालको निर्माण सम्भव हुनेछ। भाइटीकाको प्रेम, महागुरु फाल्गुनन्दको सत्य र सदाचारको दर्शन तथा किजा पूजाको सांस्कृतिक आत्मीयतालाई जीवनको व्यवहारमा उतार्दै प्रेम, शान्ति, सद्भाव र राष्ट्रिय एकताको सुन्दर समाज निर्माणमा जुटौँ।
(लेखक डा. के. बि. सम्राट ओम कैलाश शिवढुंगा शिवशक्ति महापीठ धामका महासचिव तथा राष्ट्र संरक्षण डट कमका संचालक हुनुहुन्छ)
