खुँडा हानेर मान्छे मार्नेलाई आममाफी
रासंसा/बाँके, आश्विन ११,
मुलुकमा हप्ता असुलीको विरोध गर्ने चेतन मानन्धरलाई नियन्त्रणमा लिएर नेपालगन्जको चोकमा दिनदहाडै खुँडा प्रहार गरी हत्या गर्ने रिगल भनिने योगप्रसाद ढकालले सरकारबाट आममाफी पाएका छन्, किनकि उनी तरुण दल बाँके–३ का सभापति थिए । दोषीले फूलमाला र लावालस्करसहित उन्मुक्ति पाउँदा पीडित परिवार भयभीत भएका छन् । चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका बाँके, नेपालगन्जका गुन्डा नाइके रिगल भनिने योगराज ढकालले अदालतबाट ठहर भएकोमध्ये १२ वर्ष सजाय काट्न बाँकी थियो, तर सरकारले आममाफी दिएको छ । उनी अबिर र माला लगाएर गाडीका लावालस्करसहित रिहा हुँदा पीडित परिवार आतंकित छन् । पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ढकालसहित ६ सय ७० जनालाई आममाफी दिएका थिए, त्यो पनि असोज ३ मा, संविधान दिवसका अवसरमा । संविधान दिवसमा अपराधीलाई आममाफी दिने प्रचलनले संविधानको धज्जी र परिवारको चैन उडाएको छ । हत्या गरिएका चेतन मानन्धरका आमाबुवा (बायाँ) र राष्ट्रपतिद्वारा आममाफी पाएपछि हत्याका मुख्य योजनाकार मानिएका रिगल भनिने योगराज ढकालको अबिर जात्रा । तरुण दल बाँके–३ का तत्कालीन सभापतिसमेत रहेका गुन्डा नाइके रिगल भारतबाट सञ्चालन हुने बसहरूबाट अवैध हप्ता असुली गर्थे । असुलीमा व्यवधान गरेको भन्दै २०७२ असार २८ मा अपराह्न ३ बजे मानन्धरलाई नियन्त्रणमा लिएर सुर्खेत रोडस्थित एक होटलमा खुँडा प्रहार गरी हत्या गरेका थिए । हत्या अभियोगमा बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ वैशाख ११ मा रिगललाई हत्याका मुख्य योजनाकारका रूपमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । त्यस घटनामा छविलाल बस्नेत, प्रशान्त भन्ने प्रेमध्वज खत्री, मोहनलाल खड्का र नवराज खत्रीलाई जन्मकैद, सोहनसिंह ढकाललाई १० वर्ष, दीपेन्द्र मल्ललाई ५ वर्ष तथा हरि वली, यामबहादुर बुढामगर, मनीष चौलागाईं, विवाद पाठक, केशव रोकाय, माधव परियार, प्रीतम थापालाई ३/३ वर्ष कैद सजाय सुनाएको थियो । हत्यापछि फरार रिगलले अदालतमा आत्मसमर्पण गरेका थिए । त्यो बेला गुन्डा नाइकेहरूविरुद्ध प्रहरीले इन्काउन्टर शृंखला चलाएपछि रिगलले ज्यान जोगाउने उद्देश्यले आत्मसमर्पण गरेको प्रहरीको भनाइ छ । ढकाललाई जन्मकैद फैसला भएपछि मानन्धर परिवारले न्यायको अनुभूति गरेको थियो । साबिक मुलुकी ऐन २०२० अनुसार उनी २० वर्ष कैद बस्नुपर्ने हो, गत असोज २ सम्म उनी कैद बसेको अवधि ८ वर्ष पुग्दै थियो । तर, कांग्रेससहितको गठबन्धन सरकारले उनलाई रिहा गरेको छ । घटनास्थल नजिकै रहेको सिद्धार्थ कटेजको गेटबाट भागेका नवराज खत्री, विशाल बस्नेतसहितलाई मानपुरबाट, प्रीतम थापा र माधव परियारलाई घटनास्थल नजिकै घरमा लुकेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । हत्यामा संलग्न रिगल, मनीष चौलागाईं, विवाद पाठक, हरि वली, यामबहादुर बुढा, सोहन सिंह ढकाल र दीपेन्द्र मल्ल फरार थिए । जब, संविधान दिवसमा राष्ट्रपतिबाट सजाय मिनाहा पाउनेको सूचीमा रिगल समेटिए, त्यही दिन उनी जिल्ला कारागार दाङबाट ‘विजय जुलुस’ र सवारी लावालस्करसहित नेपालगन्ज पुगेका थिए । उनको रिहाइको निर्णयलाई सरकारले प्रतिरक्षा गरेको छ । तर, हत्यारालाई तोकिएको सजाय पूरा नगरी राजनीतिक शक्तिका आडमा उन्मुक्ति दिएकामा जनस्तरबाटै विरोध भइरहेको छ । चेतनको हत्या हुँदा उनका छोरा दुई वर्षका थिए, अहिले ११ वर्षका भए । उनलाई बुवाको सम्झना छैन । तर अहिले समाचारबाट बुवाका बारेमा थाहा पाउँदै छन् । चेतनको हत्यापछि उनकी पत्नीलाई परिवारले नै दोस्रो बिहे गरिदिएको छ । ‘घरबाटै बिहे गराइदियौं,’ चेतनका बुवा किशोर मानन्धरले भने, ‘यही एउटा नातिलाई हेरेर छोरोको न्यास्रो मेटाउँछौं ।’ छोरा गुमाएकी ६२ वर्षीया आमा दुर्गादेवीलाई सरकारको निर्णयले झन् ठूलो पीडा दिएको छ । ‘त्यो मान्छे छुटेको दिन रातभर निदाउन सकिनँ । मन अहिले पनि पोलिरहेको छ,’ नेपालगन्ज–७ मदन–आश्रित टोलमा बस्दै आएकी उनले भनिन्, ‘हामीसँग न पैसा छ, न पावर । हामी के नै गर्न सक्छौं र ? रुनेबाहेक उपाय केही रहेन ।’ खासमा आफ्नो छोरा किन मारिएको हो भन्ने आमालाई अहिले पनि थाहा छैन । ‘सोमबार व्रत बसेको भोको छोरोलाई मारिदिए । सरकारले त न्याय दिने हो, उसले त अपराधीलाई पो पुरस्कृत गरेको छ,’ दुर्गादेवीले भनिन्, ‘पार्टीको मान्छे परे भनेर अपराधीलाई पनि छोड्न थालियो भने हामीले कहाँ गएर न्याय खोज्ने ?’ दाइका हत्यारा छुटेपछि आफूहरूलाई झन् असुरक्षित महसुस भइरहेको चेतनका भाइ चिरञ्जीवीले बताए । ‘जन्मकैद पाएको अपराधी जेलबाट छुट्छ, उसलाई अबिर–माला लगाएर स्वागत गरिन्छ भने यस्तो समाजबाट कस्तो सुरक्षाको आस गर्ने ?’ उनले भने, ‘हामी त अहिले झन् असुरक्षित महसुस गरिरहेका छौं ।’ आफूहरूको पहुँच नभएका कारण हत्यामा संलग्नलाई सजाय दिलाउन पनि धेरै मुस्किल भएको उनले सुनाए । हत्यामा संलग्नमध्येका यामबहादुर बुढा मगरले पनि रिगलको नेतृत्वमा आफूहरूले विभिन्न गाडी समिति, निर्माण व्यवसायी, इन्डियन समितिबाट मासिक असुली गर्ने गरेको र त्यसमा मानन्धरले अवरोध पुर्याएपछि हत्या गरेको स्वीकार गरेका थिए । रिगलले नै होटल इन्द्रेणीमा कोठा खोज्न लगाई मानन्धरको निगरानीमा खटाएको उनको बयानमा उल्लेख छ । चेतनका बुवा किशोरले दिएको किटानी जाहेरीमा छोराले रिगलको अपराधविरुद्ध बोल्ने गरेकाले हत्या भएको उल्लेख छ । ‘मेरो छोरा चेतनले रिगल ढकाल र निजको समूहमा हिँड्ने व्यक्तिहरूले गर्ने गरेको दादागिरीको विरोध गरेको हुँदा सोही कारण रिसइबी राखी ज्योति सिम्पाली होटल अगाडि सिध्याउने योजना बनाई धारिलो हतियार खुँडा प्रहार गरी कर्तव्य गरी मारेकाले कानुनबमोजिम कारबाही गरिपाउँ,’ जाहेरीमा भनिएको थियो । ‘सोहन सिंह, प्रेमध्वज खत्री र विशाल भन्ने छविलाल बस्नेतले हातमा एक एक खुँडा लिएर हामी सबै जना ज्योति सिम्ताली होटल अगाडिबाट चेतनलाई समातेर लछारपछार गर्दै रिगल ढकालको अगाडि पुर्याइदिएकोमा उनले आफ्नो साथमा बोकेको धारिलो खुँडाले चेतनको टाउको ताकी प्रहार गर्दा चेतनले आफ्नो दायाँ हातले छेकेकामा निजको हात कुहिनाको जोर्नीबाट काटिएको हो,’ दोषी ठहर यामबहादुरको बयानमा उल्लेख छ । सरकारले भने जघन्य अपराधमा सजाय भुक्तान गरिरहेको दोषीलाई स्वेच्छाचारी रूपमा रिहा गरेको छ । संविधानविद् विपिन अधिकारी हत्यामा जन्मकैद सजाय पाएका दोषीलाई दिइने माफी मिनाहा अपारदर्शी, विभेदकारी भएको र त्यसले पीडितलाई थप आहत दिने गरेको बताउँछन् । भन्छन्, ‘सरकारले जन्मकैदका दोषीलाई राजनीतिक निकटताका आधारमा उन्मुक्ति दिएको छ । जन्मकैद सजाय पाएका ती व्यक्तिले कानुनअनुसार नै ६० प्रतिशत सजाय मिनाहा पाएका हुन् भने यस्तै किसिमको कसुरमा जेलमा रहेका अरूले पनि त्यस्तै छुट पाए त ?’ उनले भने, ‘यहाँ कसले उन्मुक्ति पायो भन्ने होइन, केको आधारमा पायो भन्ने प्रश्न हो । सरकारले दलीय आधारमा अपराधीलाई उन्मुक्ति दिएको छ, यो आपत्तिजनक छ ।’ गलत प्रमाणका आधारमा दोषी किटान भएको रहेछ भने सजायबाट छुटकारा दिन राष्ट्रपतिमार्फत ‘आममाफी’ दिने प्रावधान राखिए पनि त्यसलाई अपराधबाट उन्मुक्ति दिने अस्त्र बनाइएको उनको टिप्पणी छ । पीडितलाई अन्याय हुने गरी दिइएका आममाफी र बाँकी सजाय मिनाहाविरुद्ध कसैले रिट दायर गरे सर्वोच्चले यसमा उचित व्याख्या गर्न सक्ने उनको भनाइ छ । अपराध हुँदा कायम कानुनी प्रबन्ध अनि सर्वोच्चको परमादेशलाई आधार मानेर रिगललाई बाँकी सजाय मिनाहा गरिएको दाबी सरकारको छ । कारागार व्यवस्थापन विभागका निर्देशक कमल पाण्डेले कानुनअनुसार नै रिगलसहितका कैदी संविधान दिवसका दिन छुटेको बताए । ‘४० प्रतिशत सजाय भुक्तान गरेको पाइएपछि प्रमुख जिल्ला अधिकारी र जेलरको सिफारिस भई आएर विभागबाट बाँकी ६० प्रतिशत कैद कट्टा गर्न गृह मन्त्रालयमा पठाइएको थियो,’ उनले कान्तिपुरसँग भने, ‘त्यसकै आधारमा मन्त्रिपरिषद्बाट निर्णय गरी राष्ट्रपतिमार्फत प्रतिवादीलाई बाँकी कैद कट्टा गरिएको हो ।’