दुई अर्ब चार वर्षमा डलर कार्डबाट बाहिरियो

Share to:

रासंसा/काठमाण्डौ, भाद्र २४,

मुलुकमा गएको चार वर्षमा डलर कार्डमार्फत नेपालबाट करिब २ अर्ब रुपैयाँ बाहिरिएको छ । विदेशबाट आयातित विभिन्न वस्तु तथा सेवाबापतको अनलाइन भुक्तानीका लागि ०७७ चैतदेखि गत असारसम्म डलर कार्डबाट मात्र १ करोड ३९ लाख ६५ हजार अमेरिकी डलर (१ अर्ब ८५ करोड ७३ लाख रुपैयाँ) मुलुकबाट बाहिरिएको राष्ट्र बैंकले जनाएको छ । पछिल्ला महिनामा कार्ड जारी, कार्डमा रकम लोड (भर्ने) र खर्च सबै उल्लेख्य रूपमा बढेको राष्ट्र बैंकको भनाइ छ । यसअनुसार औसतमा हरेक महिना एक हजारदेखि १५ सयसम्म डलर कार्ड जारी हुने गरेको छ । ती कार्डमा मासिक औसत १५ लाख अमेरिकी डलर लोड हुने र १० देखि १२ लाख अमेरिकी डलर भुक्तानी हुने गरेको राष्ट्र बैंकको तथ्यांक छ । डलर कार्डबाट हुने भुक्तानी हरेक महिना बढ्दै गएकाले त्यसको सदुपयोगिताबारे फेरि अध्ययन गर्ने तयारी रहेको राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं विदेशी व्यवस्थापन विभाग प्रमुख रामु पौडेलले बताए । कार्डमार्फत भएको भुक्तानी हेर्दा सबैभन्दा बढी सामाजिक सञ्जालमा गरिएको विज्ञापनबापतको भुक्तानीमा बाहिरिएको छ । दोस्रो धेरै रकम भुक्तानी पुस्तक, विभिन्न जर्नलहरूमा भएको देखिन्छ भने तेस्रोमा टोफेल, आईईएलटीएसलगायत विभिन्न अनलाइन अध्ययन तथा परीक्षाबापत शुल्क भुक्तानीका लागि खर्च भएको राष्ट्र बैंकले बताएको छ । ‘हामीले गत वर्ष डलर कार्डबाट भएको भुक्तानी उपयोगसम्बन्धी अध्ययन गरेका थियौं, अध्ययन प्रतिवेदनको सिफारिसका आधारमा १८ वटा कोडबाट भुक्तानी हुने वस्तुमा कार्डमार्फत भुक्तानी गर्न नपाइने निर्देशन जारी गरेका छौं,’ उनले भने, ‘पछिल्ला महिनामा पनि कार्डमार्फतको भुक्तानी बढिरहेकाले त्यसको उपयोगिता सम्बन्धमा पुनः अध्ययन गर्ने तयारी छ ।’ हाल कार्डमार्फत भएको कुल भुक्तानीमा आधाभन्दा बढी सामाजिक सञ्जालमा गरिएको विज्ञापनको शुल्क तिर्न उपयोग भएको भेटिएको कार्यकारी निर्देशक पौडेलको भनाइ छ । कार्डमार्फत ५ सय अमेरिकी डलरसम्म विदेशी मुद्रामा भुक्तानी गर्न पाउने व्यवस्थापछि मुलुकमा विदेशी मुद्रा भित्रिने राष्ट्र बैंकको दाबी थियो । यद्यपि गत असारसम्म करिब ५५ हजार अमेरिकी डलर (करिब ७३ लाख रुपैयाँ) मात्र आएको देखिन्छ । ‘केही वर्षयता नेपालबाटै विदेशमा सूचना प्रविधिसम्बन्धी काम गर्ने जमात बढ्दो छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘यसकारण ती मानिसमार्फत विदेशी मुद्रा भित्रिने अपेक्षा थियो । तर अपेक्षाअनुसार आएन ।’ नेपाल राष्ट्र बैंकले ०७७ चैतमा नेपालबाटै कार्डमार्फत विदेशी मुद्रामा भुक्तानी गर्न पाउने नीतिगत व्यवस्था गरेको थियो । उक्त व्यवस्था भएदेखि गत ०८० असारसम्म ६६ हजार ८ सय २५ वटा यस्ता कार्ड जारी भएका छन् । ती कार्डमा करिब १ करोड ८७ लाख अमेरिकी डलर भरिएको (लोड भएको) छ । लोड भएकोमध्ये करिब १ करोड ३९ लाख ६५ हजार अमेरिकी डलर भुक्तानी भइसकेको छ । उक्त अवधिमा सर्वसाधारणले विदेशबाट खरिद गरेका पुस्तक, दैनिक पत्रपत्रिका, खेलौना, सूचना प्रविधि सेवा, विज्ञापन आदिबापतको भुक्तानी कार्डमार्फत गरेको राष्ट्र बैंकले बताएको छ । नेपाल राष्ट्र बैंकले ०७९ भदौमा निर्देशन जारी गरेर क्यासिनो, अनलाइन जुवा, बिमा, डेटिङ सेवाको भुक्तानी जस्ता १८ प्रकार (कोड) का वस्तुमा डलर कार्डबाट भुक्तानी गर्न नपाइने व्यवस्था गरेको छ । विदेशी बिमाको अन्डरराइटिङ तथा प्रिमियमबापत भुक्तानी गर्न डलर कार्ड प्रयोग गर्न नपाइने व्यवस्था छ । विदेशका रियल इस्टेट एजेन्ट तथा व्यवस्थापकलाई भाडा तिर्न, कोषबापत रकम स्थानान्तरण गर्न, डेटिङ सेवाको भुक्तानी गर्न, क्यासिनो तथा अनलाइन जुवा, घोडा तथा कुकुर दौड खेलको भुक्तानी गर्न, सट्टेबाजी तथा काल्पनिक खेलको भुक्तानी गर्न, राजनीतिक तथा धार्मिक संगठनलाई रकम दिन पनि डलर कार्ड प्रयोग गर्न राष्ट्र बैंकले रोक लगाएको छ । हाल वाणिज्य तथा विकास बैंकहरूले एक व्यक्तिलाई वार्षिक ५ सय डलरसम्म खर्च गर्न पाउने गरी डलर कार्ड दिने गरेका छन् । यस्तो डलर कार्ड विशेषतः विभिन्न फिल्म तथा प्रसारित कार्यक्रम हेर्न र सामानको भुक्तानीमा बढी प्रयोग हुने गरेको छ । डलर कार्डबाट विदेशमा कसैलाई रकम स्थानान्तरण गर्न पाइनेछैन । प्रत्यक्ष बिमा सेवामा भुक्तानी गर्न, स्ट्याम्प तथा सिक्काको भुक्तानी गर्न, विदेशी वित्तीय संस्थाका सदस्यलाई नगद र व्यापारिक सामान तथा सेवाको भुक्तानी गर्न पनि डलर कार्डको प्रयोग गर्न पाइनेछैन । कार्डबाट विदेशी धितोपत्र ब्रोकर तथा डिलरलाई भुक्तानी गर्न पनि पाइँदैन । डलर कार्डमार्फत विदेशी मुद्रामा बैंक खाता नभएका वा विदेशी मुद्रा आर्जनको स्रोत नभएका सर्वसाधारणले पनि वार्षिक ५ सय अमेरिकी डलर बराबरको भुक्तानी विदेशी मुद्रामा गर्न पाउँछन् । सर्वसाधारणले आफ्नो खाता रहेको वाणिज्य बैंक वा विकास बैंकमा गएर ‘प्रिपेड कार्ड’ बनाउनुपर्छ । सोही कार्डमार्फत विदेशबाट खरिद गरेको सामानको भुक्तानी अनलाइनबाट कार्डमार्फत विदेशी मुद्रामै गर्न सकिन्छ । यस्तो कारोबारका लागि वार्षिक अधिकतम ५ सय अमेरिकी डलरको सीमा तय गरिएको छ । सर्वसाधारणले एकै पटक वा पटकपटक गरी एक वर्षमा उल्लिखित सीमा बराबरको भुक्तानी मात्र विदेशी मुद्रामा गर्न पाउँछन् । यस्तो कारोबारमा तोकिएको सीमाभित्र रहेर नेपालको कानुनले वञ्चित नगरेका सबै प्रकारका वस्तु तथा सेवा खरिद गर्न सकिने प्रावधान छ । यी कार्डबाट एटीएम कार्डबाट जस्तो नगद निकाल्न भने पाइँदैन । विदेशबाट सामान खरिद गर्दा विद्युतीय माध्यमबाट भुक्तानीका लागि मात्र कार्ड प्रयोग गर्न पाइन्छ ।

Like