राहुल गान्धीको सर्वोच्चको आदेशपछि सांसद पद जोगियो
एजेन्सी,
भारतीय कङ्ग्रेस नेता राहुल गान्धीको सांसद पद पुनर्बहाली हुने भएको छ। सर्वोच्च अदालतले उनीमाथि लगाइएको सजायमाथि रोक लगाएसँगै उनको सांसद पद पुनर्बहाली हुने भएको हो। सर्वोच्चका न्यायाधीश जस्टिस् बिआर गवई, पीएस नरसिम्हा र संजय कुमारको संयुक्त इजलाशले राहुललाई दिएको सजायमाथि रोक लगाएको हो। मोदी थर प्रकरणमा राहुललाई सुरतस्थित तल्लो अदालतले दोषी ठहर्याउँदै दुई वर्षको सजाय तोकेको थियो। चार वर्ष पुरानो मानहानी मुद्दामा दोषी देखिएपछि संसद सचिवालयले उनको पद खारेज गरेको थियो। पीटीआईका अनुसार अधिकतम सजाय तोक्नै कुनै कारण नभएको र यस मामिलामा अन्तिम फैसला नआएसम्म यसअघिका सबै फैसलामाथि रोक लगाएको हो। सर्वोच्चको आदेशपछि राहुल गान्धीले सत्यको जीत भएको बताएका छन्। उनले आज नभए भोलि, भोलि नभए पर्सी सत्यकै जित हुने उल्लेख गरेका छन्।