चितवन–३ प्रचण्डले छाडेपछि के भन्छन् मतदाता ?

Share to:

रासंसा/चितवन, कार्तिक २६,

मुलुकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन क्षेत्र नम्बर ३ छाडेर यस पटक गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएकोमा मतदाताले मिश्रित प्रतिक्रिया जनाएका छन् । चितवन–३ का केही मतदाता प्रचण्डले चितवन छाडेर गोरखाबाट उम्मेदवारी दिनु पार्टीकै हितका निम्ति हुन सक्ने बताउँछन् भने केहीले आफूहरुलाई बीचमै छाडिदिएको भन्दै दुःखेसो व्यक्त गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २५ का शिवराज अधिकारीले प्रचण्ड राष्ट्रिय नेता भएका कारण देशको आवश्यकता, पार्टीको हितका लागि जहाँबाट उम्मेदवारी दिए पनि फरक नपर्ने बताए । राष्ट्रिय स्तरको नेता भएकाले जुनसूकै क्षेत्रका मतदाताले आफ्नो क्षेत्रबाट उम्मेदवार बनिदिए हुन्थ्यो भन्ने आकांक्षा राख्नु स्वाभाविक भए पनि त्यस्ता नेताले देशको आवश्यकता, पार्टीको हितलाई ध्यानमा राखेर आफू उम्मेदवार बन्ने क्षेत्र छनोट गर्नुपर्ने दायित्व अनुसार नै प्रचण्ड यस पटक गोरखाबाट उम्मेदवार बन्ने निष्कर्षमा पुगेको हुन सक्ने उनको भनाइ छ । आफू चितवन छाडेर गोरखाबाट उम्मेदवार बने पनि चितवन–३ मा योग्य व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै उनले प्रचण्डले थालेका कतिपय कामलाई निरन्तरता दिने अपेक्षा आफूले राखेको जनाए । उनले भने, ‘राष्ट्रिय स्तरको नेता जहाँबाट उम्मेदवार भए पनि देशलाई नै हेर्ने हो, देशकै नेतृत्व गर्ने हो ।’ यद्यपि आफ्नै क्षेत्रबाट २०७४ को निर्वाचनमा जितेका नेता अहिले अर्को क्षेत्रमा जाँदा स्वाभाविक रुपमा केही दुःख लागेको उनले बताए । यहाँबाट एक पटक जितिसकेका कारण अब अर्को ठाउँबाट लडेर पनि जितौं भन्ने लागेर प्रचण्डले यस पटक गोरखा रोजेको हुन सक्ने उनको अनुमान छ । यद्यपि, चितवन क्षेत्र नम्बर ३ मा प्रचण्डको ठाउँमा अहिले गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका भोजराज अधिकारी पनि आफूले योग्य नै पाएको उनले बताए । माडी नगरपालिका वडा नम्बर ८ का चक्रबहादुर आले मगर प्रचण्डले चितवन क्षेत्र नम्बर ३ नछाडेको भए हुन्थ्यो भन्ने धारणा राख्छन् । ‘उहाँ जत्तिको मान्छे आफ्नो क्षेत्रको जनप्रतिनिधि हुनु गौरबको कुरा हुन्थ्यो हामीलाई,’ उनले भने, ‘त्यसैले उहाँले यो क्षेत्र नछाडेको भए हुन्थ्यो भन्ने लागेको छ । तर ठुलो मान्छे भएपछि ठुलै योजना हुन सक्छ, उहाँले गोरखाबाट उम्मेदवारी दिनुमा पनि कारण हुन सक्छ, त्यस्तो कुरा त हामीले के जान्नु ?’ माडी नगरपालिका वडा नम्बर ९ का मानबहादुर रुम्बा भने प्रचण्डले चितवन छाडेकोमा सन्तुष्ट छैनन् । ‘उहाँले किन यो क्षेत्र छाड्नु भयो भन्ने कुरा हामीले बुझ्न सकेका छैनौं, २०७४ को निर्वाचन उहाँले यहीँबाट जित्नु भएको हो,’ उनले भने, ‘उहाँ यो क्षेत्रबाट उम्मेदवार हुनु र जित्नु हाम्रो लागि नै गर्वको कुरा हुन्थ्यो ।’ माडी वडा नम्बर ८ की बुद्धिसरा विक भने प्रचण्ड यो क्षेत्रबाट उम्मेदवार भए पनि र नभए पनि यो क्षेत्रका लागि प्रचण्डको अपनत्वमा कुनै फरक नपर्ने बताउँछिन् । आफूले छाडेर गए पनि क्षेत्रका लागि आफ्नो प्रतिनिधिकै रुपमा प्रचण्डले योग्य व्यक्तिलाई नै उम्मेदवार बनाएको भन्दै उनले प्रचण्डको अधुरा काम अब आउने नेतृत्वले प्रचण्डकै सल्लाह बमोजिम पूरा गर्ने विश्वास व्यक्त गरिन् । प्रचण्ड उम्मेदवार बन्दा हरेक मतदाताका लागि परिचित र देशकै प्रमुखमध्येको एक नेता भनेर छुट्टै महत्त्व हुन्थ्यो भन्ने उनको तर्क छ । त्यो तहको नेता नहुँदा आफूलाई अहिले खिन्न लागेको उनले बताए । प्रचण्डको ठाउँमा अहिले उम्मेदवार बनेका नेतालाई आफूले नचिनेको र नदेखेको उल्लेख गर्दै उनले यस क्षेत्रका लागि प्रचण्डको अभाव महसुस भइरहने बताए । माडी वडा नम्बर ९ की मनिता विक आफूहरुले प्रचण्डलाई यो क्षेत्रमा उम्मेदवारका रुपमा नपाउँदा खल्लो लागेको बताउँछिन् । ‘योभन्दा अघिको चुनावमा उहाँ यो क्षेत्रबाट उम्मेदवार बन्नुभयो, हामीले जिताएर पठायौं,’ उनले भनिन्, ‘जितेर गइसकेपछि यहाँ धेरै काम गर्नुभयो, कतिपय काम आधा अधुरै छाडेर अहिले अर्को क्षेत्रमा जानुभयो, कतै बाटो पिच हुन बाँकी छ, कतै पुल बन्न बाँकी छ । उहाँ अर्को जिल्लामा गएपछि ती काम अल्झिने हो कि भन्ने चिन्ता छ हामीलाई ।’

Like