चुनौती बन्दै पौडेललाई राजधानी मुद्दा
रासंसा/रुपन्देही, कार्तिक २६,
मुलुकमा रूपन्देही निर्वाचन क्षेत्र नं २ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादी (नेकपा एस) का राजु गुरुङको उम्मेदवारी रद्द भएपछि एमालेसमर्थकले निर्वाचनअघि नै आफ्नो ‘खाता खुलेको’ भन्दै खुसीयाली व्यक्त गरे। यो क्षेत्रमा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल उम्मेदवार छन्। यसरी सत्ता गठबन्धन उम्मेदवारविहीन बन्दा देशभरका एमालेका नेता–कार्यकर्ताले खुसीयाली मनाएका थिए तर सत्ता गठबन्धन उम्मेदवारविहीन बसेन। राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशवबहादुर थापाले यही क्षेत्रबाट उम्मेदवारी दिएका थिए। गठबन्धनले उनैलाई सहयोग गर्ने निर्णय लियो। चेक बाउन्स प्रकरणमा कालो सूचीमा रहेकाले गुरुङको उम्मेदवारीमाथि दाबी विरोध परेको थियो। सोहीअनुसार निर्वाचन आयोगले उनको उम्मेदवारी रद्द गरेको थियो; जसलाई सर्वोच्चले समेत सदर गरिसकेको छ। सत्ता गठबन्धनले थापालाई समर्थन गरे पनि एमालेले उनलाई अझै प्रतिस्पर्धी देखिरहेको छैन तर आन्तरिक रूपमा भने ऊ डराइरहेको स्थिति छ। डरका कारण थापाको बलियो जनमतभन्दा बढी पौडेलकै विगतका अभिव्यक्ति र आश्वासन चुनौती बनेका छन्। त्यसमा प्रदेश स्थायी राजधानीको मुद्दा पेचिलो बनेको छ। उक्त भिडिओ क्लिपमा पौडेलले भनेका छन्, ‘रूपन्देहीका जनता चाहन्छन्। यो बुटवल, यो रूपन्देही ५ नं. प्रदेशको राजधानी बन्नुपर्दछ। कांग्रेस के भन्छ ? माओवादी के भन्छ ? कांग्रेसले भन्छ– हामी बुटवलको राजधानी बन्न दिँदैनौं। गठबन्धनको सरकारले उच्च अदालत बुटवलमा राख्न दिएनन्; जसले उच्च अदालत बुटवलमा राजधानी बन्न दिएन, उसले बुटवलमा राजधानी दिन्छ ? दिँदैन। म तपाईंहरूलाई भन्न चाहन्छु– नेकपा एमालेले आफ्नो पार्टीको प्रदेश कमिटीको कार्यालय बुटवलमा राखेको छ। तपाईं नेपाली कांग्रेस प्रदेश कमिटीको कार्यालय बुटवलमा देख्नुहुन्छ ? देख्नुहुन्न। माओवादीको प्रदेश कार्यालय बुटवलमा देख्नुहुन्छ ? देख्नुहुन्न। जसले आफ्नो प्रदेशको कार्यालय बुटवलमा स्थापना गर्दैन, त्यसले बुटवललाई प्रदेशको राजधानी बन्न दिन्छ ? दिँदैन। तर हामी भन्न चाहन्छौं– बुटवल प्रदेशको राजधानी बन्ने छ, हामी बनाएरै छाड्ने छौं।’ बरु राजधानी तोकिएको केही समयमै पौडेल दोस्रोपटक अर्थमन्त्री नियुक्त भए। सोही कारण उनीमाथि ‘अर्थमन्त्री पदसँग राजधानी साटेको’ आरोप लागिरहेको छ। यहीकारण बाहिर सहज देखिए पनि राजधानी मुद्दाकै कारण आन्तरिक रूपमा पौडेललाई निकै चुनौती देखिएको छ। राजधानीकै सवालमा एमालेले उठाएका प्रदेशसभाका उम्मेदवारहरूकै कारण पनि पौडेललाई थप चुनौती छ। प्रदेशसभा ‘क’ निर्वाचन क्षेत्रमा लीला गिरीलाई एमालेले उठाएको छ। उनी प्रदेशसभाले राजधानी तोक्दा पर्यटनमन्त्री थिए। यहीकारण उनलाई प्रस्तावक बसेको आरोप छ। उता प्रदेशसभा ‘ख’ मा भोजप्रसाद श्रेष्ठलाई उम्मेदवार उठाएको छ। उनी पनि राजधानी घोषणा गर्दा मतदान गरेको भन्दै आरोपित छन्। यही निर्वाचन क्षेत्र भएर बग्ने तिनाउ खोलाआसपासको बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिका क्षेत्रमा झन्डै चार सयभन्दा बढी परिवार सुकुम्बासी छन्। उनीहरूको मुख्य माग नै लालपुर्जा हो। यही समस्यासँग जानकार पौडेलले ‘निर्वाचनपछि सबै सुकुम्बासीले सिरानीमा लालपुर्जा राखेर सुत्न पाइने’ भन्दै आश्वासन दिएका थिए। त्यही आश्वासन पाएका सुकुम्बासीले धमाधम उनैलाई भोट हाले। राजधानीबाहेक अर्को पेचिलो मुद्दा सुकुम्बासी समस्या पौडेलका अगाडि तेर्सिएको छ। अघिल्लो निर्वाचनमा उनले आफ्नो निर्वाचन क्षेत्रभित्र रहेका सुकुम्बासीलाई तत्कालै लालपुर्जा उपलब्ध गराउने आश्वासन दिएका थिए। ‘अघिल्लो चुनावमा अब लालपुर्जा सिरानीमा हालेर सुत्न पाइन्छ भनेर भोट माग्नुभएको थियो’, बुटवल नगरपालिका– १७ रानीगञ्जकी सुकुम्बासी सविता मल्लाले भनिन्, ‘अहिलेसम्म न लालपुर्जा आयो न मान्छे ! बरु हामी नै यहाँबाट विस्थापित हुनुपर्ने हल्ला छ। अब भोट दिउँला र ?’ तर सुकुम्बासी समस्या समाधान अहिलेसम्म भएको छैन्, बरु बुटवलमै बन्ने भनिएको मोतीपुर औद्योगिक क्षेत्रका लागि सुकुम्बासीलाई त्यहाँबाट हटाउने गरी योजना अगाडि बढाइएको छ। यस्तै तिनाउ करिडोर निर्माणका लागि पनि केही सुकुम्बासीका घर मासिने अवस्था छ। यस निर्वाचन क्षेत्रमा सबैभन्दा तरल मत यही सकुम्बासी बस्तीलाई मानिन्छ। यहाँ लालपुर्जाको आश्वासनले अघिल्लो पटक मत बटुलेका पौडेलका लागि अहिलेको चुनाव कठिन देखिएको छ। सोही ठाउँकी रमा कुमालको परिवारले दुई वर्षअघि मात्रै मजदुरी गरेको कमाइले सानो घर बनाएका छन्। लालपुर्जाकै लागि अघिल्लोपटक मतदान गरेको उनको परिवारकहाँ अहिलेसम्म लालपुर्जा दिने मान्छे आएका छैनन्। ‘लालपुर्जा दिनेभन्दा घर हटाउन भन्ने सरकारी मान्छे आए’, उनले दुखेसो गरिन्, ‘अब उसैलाई कसरी भोट हाल्ने ?’ यसबाहेक पौडेललाई पुराना आश्वासन पूरा नगरेको आरोपले पनि लखेटिरहेको छ। झुम्सा खानेपानी आयोजना, बुुटवल–बेलहिया ६ लेन सडक, पुरानो बटौलीलाई रात्रिकालीन बजार बनाउने, सिद्धबाबा सडकलाई सुरक्षित बनाउनेलगायतका आश्वासन पूरा नगरेको भन्दै विपक्षीले आरोप लगाइरहेको छ। यसबाहेक बालुवाटार जग्गा प्रकरणलाई पनि विपक्षीले उठाइरहेका छन्। गएको स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार यहाँ सत्ता गठबन्धनको मत एमालेभन्दा अघि छ। यहाँ बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगपालिका र सैनामैना नगरपालिकाको भूगोल पर्छ। यी तीनवटै तहको नेतृत्वमा कांग्रेसले जितेको छ। यस्तै एमालेको ३३ हजार १ सय ८७ मत छ। एमालेलाई यो क्षेत्रमा राप्रपा र जसपाले समर्थन गरिरहेका छन्। यहाँ राप्रपाको तीन हजार ९२० र जसपाको १८३ मत छ। यसरी यो गठबन्धनको ३७ हजार २९० मत मात्रै हुन्छ। वडाध्यक्ष मतअनुसार यहाँ सत्ता गठबन्धनका दलहरूमा कांग्रेसको ३४ हजार ९ सय ५०, माओवादी केन्द्रको तीन हजार १ सय ८८ मत, नेकपा एसको १ हजार ३ सय ८२ मत गरी जम्मा ३९ हजार ५२९ मत छ। यहाँ उम्मेदवार थापाको पनि स्थानीय जनाधार रहेको मानिन्छ। राजधानी मुद्दा, विकासमा ढिलासुस्ती, सुकुम्बासी समस्या भन्ने कुरा विपक्षीले उठाएका राजनीतिक प्रचारबाजी मात्रै रहेको पाण्डेले बताए। ‘सबै कुरा जनताले बुझेका छन्, चुनावबाटै प्रस्टीकरण आइहाल्छ’, उनले भने। सत्ता गठबन्धनका ठूला दलका आफ्नै उम्मेदवार नरहेकाले मत ‘सुरक्षित’ नहुने एमालेको दाबी छ। ‘कांग्रेसले त स्थानीय वस्तुस्थिति बुझेरै उम्मेदवारी नदिएको हो। माओवादी केन्द्र र नेकपा एसको त जनमत नै छैन’, एमाले उम्मेदवार पौडेलका सहयोगी यम पाण्डेले भने, ‘राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका निर्वाह गर्नेलाई नै यो क्षेत्रले जिताउँछ। प्रतिस्पर्धा नै हुन्न।’ उनी एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष पनि हुन्। पौडेलले यही निर्वाचन क्षेत्रबाट लगातार तीन चुनाव जितिसकेका छन्। ०६४ र ०७० को संविधानसभा निर्वाचन र ०७४ को प्रतिनिधिसभा निर्वाचन जितेका थिए। ०७० मा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि पौडेलसँग हारेका थिए। यसबाहेक बुटवल उपमहानगरपालिकामा पनि लगातार पौडेलनिकट नेताकै दबदबा रहँदै आएको थियो। उता कांग्रेसका क्षेत्रीय सभापति परशुराम ढकालले जनतालाई बारम्बार धोका भएकाले यसपटक गठबन्धनलाई धमाधम भोट हाल्ने दाबी गरे। ‘हर कुरामा छलछाम, झुट तथा भ्रम मात्रै छर्नेविरुद्ध जनता सचेत भइसके’, उनले भने, ‘यसैले यसपटक यहाँ गठबन्धन सजिलै जित्छ।’ गएको स्थानीय तह निर्वाचनमा भने सत्ता गठबन्धनले जितेको छ। यसबाहेक आफ्ना पुराना आश्वासन पूरा गर्न नसक्दा पौडेलका लागि अहिलेको चुनाव भने फलामको च्युरासरह रहेको विश्लेषण हुने गरेको छ।
