गणना र प्रमाणीकरणमा बाधा पुर्याएको आरोप, चुनावी परिणाम उल्टाउन खोजेको आरोपमा ट्रम्पविरुद्ध मुद्दा मत संकलन
एजेन्सी,
अमेरिकामा सन् २०२० मा भएको चुनावी परिणाम उल्टाउन षड्यन्त्र गरेको आरोपमा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा चल्ने भएको छ । ७७ वर्षीय ट्रम्पविरुद्ध वासिङ्टन डीसीस्थित एक संघीय अदालतमा बिहीबारदेखि सुनुवाइ थालिएको हो । यी चारै आरोपित काम उनी राष्ट्रपतिमा पराजित भएर राष्ट्रपति भवन छोड्नुअघिसम्म गरिएको बताइएको छ । पहिलो आरोप मत संकलन, गणना र प्रमाणित गर्ने काममा बाधा उत्पन्न गर्ने प्रयासमा आधारित छ । दोस्रो र तेस्रो इलेक्टोरल कलेजको मत प्रमाणीकरणमा बाधा पारेको र जसका कारण अमेरिकाको संघीय संसद्मा प्रदर्शन गराउन लगाएको घटनासँग सम्बन्धित छ । चौथो आरोप नागरिकको मत दिने र गणनाको अधिकारमा हस्तक्षेप गरेकोसँग सम्बन्धित भनिएको छ । मुद्दा अभियोजकहरूले यी आरोपलाई सन् २०२१ जनवरी ६ मा ट्रम्प समर्थकले अमेरिकाको संघीय संसद्मा गरेको कब्जालाई पनि जोडेका छन् । त्यतिबेला प्रदर्शनकारीले राष्ट्रपतिमा बाइडेनको जितलाई प्रमाणीकरण गर्न रोक्ने प्रयास गरेका थिए । ट्रम्पले त्यतिबेला आफ्ना हार स्वीकार्न अस्वीकार गरेका थिए भने चुनावमा धोखाधडी भएको आरोप लगाएका थिए । उनी आगामी वर्ष अमेरिकामा हुने राष्ट्रपतिको चुनावमा फेरि रिपब्लिकन पार्टीबाट उम्मेदवार बन्ने प्रयासमा छन् । तीन वर्षअघिको चुनावमा ट्रम्प हालका राष्ट्रपति जो बाइडेनसँग पराजित भएका थिए । तर, उनले सन् २०२१ जनवरी २० मा राष्ट्रपति भवन छोड्नुअघिसम्म चुनावी परिणाम उल्टाउन चलखेल गरेको आरोप छ । यसअघि ट्रम्पविरुद्ध सरकारको गोप्य फाइल गलत तरिकाले राखेको र एक पोर्नस्टारलाई अवैध रूपमा पैसा भुक्तान गरेको दुईवटा मुद्दा लागेको थियो । अहिले चुनावी परिणाम उल्टाउन उनले चार अवैध काम गरेको आरोप छ । उनले अमेरिकालाई धोका दिने षड्यन्त्र गरेको, सरकारी कारबाहीमा रोकावट, बाधा र नागरिकको अधिकारविरुद्ध षड्यन्त्र गरेको आरोप लागेको हो । अमेरिकामा पूर्वराष्ट्रपतिविरुद्ध संघ र राज्यस्तरमा आपराधिक मुद्दा चलेको यो पहिलो पटक हो । विश्लेषकहरूका अनुसार हालको तेस्रो मुद्दाले भने उनलाई कानुनी र राजनीतिक रूपमा पनि हानि पुर्याउन सक्ने बताएका छन् । ट्रम्पविरुद्धको मुद्दामा सरकारबाट नियुक्त वकिल ज्याक स्मिथले यो मुद्दामा छिटो सुनुवाइको माग गरेका छन् । यदि ट्रम्प दोषी पाइएमा कडा सजाय हुने सम्भावना छ । यो मुद्दामा सुनुवाइ न्यायाधीश तान्या चुटकनको इजलासमा हुनेछ । उनले दुई वर्षअघि ६ जनवरीमा भएको प्रदर्शनका दोषीलाई पनि कडा सजाय सुनाएकी थिइन् । ट्रम्पलाई गोप्य दस्तावेज गलत तरिकाले राखेको आरोपमा २० वर्षसम्मको सजाय हुन सक्ने अर्को मुद्दा त अदालत प्रक्रियामा छँदै छ । यद्यपि, यी मुद्दाका कारण ट्रम्पलाई आगामी राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गर्न भने बाधा पार्दैन । अमेरिकाको कानुनअनुसार कुनै व्यक्तिमाथि आपराधिक आरोप लागेमा वा जेलमा नै भए पनि ऊ राष्ट्रपतिको चुनाव लड्न सक्नेछ । ट्रम्पले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् । उनले यो मुद्दाको विषयमा बोल्दै आफ्नो २०२४ को चुनावी अभियानलाई रोक्न खोजिएको दाबी गरेका छन् । बाइडेन प्रशासनले आफ्नो भ्रष्टाचार, काण्ड र असफलता ढाकछोप गर्नका लागि यस्तो अभियोग आफूमाथि लगाएको उनको आरोप छ ।