महामन्त्रीको प्रस्तावले देउवामाथि नैतिक दबाब
रासंसा/काठमाण्डौ, श्रावण ३,
मुलुकमा पार्टीको वैचारिक र सांगठनिक धरातल उठाउन भन्दै महामन्त्री गगन थापाले एकवर्षे कार्यतालिका कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रस्ताव गरेपछि सभापति शेरबहादुर देउवा नैतिक दबाबमा परेका छन् । थापाले सत्ता राजनीतिको केन्द्रीयताले कमजोर बन्दै गएको उल्लेख गर्दै अर्का महामन्त्री विश्वप्रकाश शर्मासमेतको समर्थनमा मंगलबार प्रस्ताव अघि सारेका हुन् । दुई–दुई महिनामा बस्नुपर्ने केन्द्रीय कार्यसमितिको बैठक कहिले सत्ता राजनीतिको प्रतिकूल परिस्थिति त कहिले भुटानी शरणार्थी प्रकरणमा संलग्न पार्टीका नेता बालकृष्ण खाणलाई रक्षा गर्ने सवाल झिकेर सभापति देउवाले छल्दै आएका थिए । अनुकूल वातावरणमा मात्रै बैठक बोलाउने सभापतिको स्वच्छारितामा अंकुश लगाउन महामन्त्रीले केन्द्रीय समितिमा यस्तो प्रस्ताव राखेको निकटस्थहरूले बताएका छन् । एक वर्षपछि (प्रदीप गिरीको निधनमा बसेको आकस्मिकबाहेक) मंगलबार सुरु भएको बैठकमा महामन्त्री थापाले अबउप्रान्त केन्द्रीय कार्यसमितिको बैठक आकस्मिक अवस्थामा बाहेक असोज, मंसिर, माघ, चैत, जेठको पहिलो साता बस्ने समयबद्ध तालिका नै प्रस्ताव गरेका छन् । विधानले ६ महिनाभित्र गर्नुपर्ने काम डेढ महिना बित्दासमेत नभएपछि महामन्त्री थापाले सभापतिको विशेषाधिकारका कामलाई आगामी भदौ १५ भित्र गरिसक्नुपर्ने प्रस्ताव गरेका छन् । सभापतिले मनोनयन प्रस्ताव नगर्दा डेढ वर्षदेखि पार्टीको कोषाध्यक्ष पद नै रिक्त छ । ४८ विभाग प्रमुख गठन गर्ने, केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने काम सभापतिको विशेषाधिकार हुन् । थापाले प्रस्तावमा उल्लेख गरेका अधिकांश विषय सभापति देउवाले बैठकमा प्रस्तुत भएपछि मात्रै थाहा पाएका थिए । महामन्त्री शर्माले पार्टी संगठनलाई व्यवस्थित बनाउन महामन्त्रीले नै केन्द्रीय कार्यालयका तर्फबाट प्रस्ताव प्रस्तुत गरेको बताए । ‘केन्द्रीय कार्यालय महामन्त्री मातहत हुने व्यवस्था छ । संगठनलाई केन्द्रदेखि तलसम्मै क्रियाशील बनाउन यो प्रस्ताव गरिएको हो । यसमा केन्द्रीय समितिले थपघट गर्न सक्छ,’ उनले भने, ‘प्रस्तावमा नीति महाधिवेशन गर्ने भनिएको छ । तर, मिति, ठाउँ र सहभागी संख्या केन्द्रीय समितिले तय गर्छ ।’ विभाग गठन र केन्द्रीय कार्यसमितिसमेत अपूर्ण रहेको अवस्थामा थापाले मिति नै प्रस्ताव राखेर देउवालाई दबाबमा पारेका हुन् । म्याद सकिएका भ्रातृसंस्थाको तदर्थ समिति गठन गर्ने, गठन भएकालाई पूर्णता दिने काम पनि भदौ १५ भित्रै गर्नुपर्ने र ६ महिनामा अधिवेशन गर्नुपर्ने थापाको प्रस्ताव छ । ‘पार्टीलाई विधिसम्मत चलाउन पटक–पटक महामन्त्रीहरूले अनुरोध गर्दा बेवास्ता गरेपछि बैठकमा महामन्त्रीले प्रस्ताव ल्याएर ढुक्कसँग बसिरहेका सभापतिलाई काम गर्नेपर्ने नैतिक बन्धनमा तानेका छन्,’ कांग्रेसका एक नेताले भने, ‘उनले असार २१ र २२ मा जिल्ला सभापतिहरूलाई पनि विधानबमोजिम समयबद्ध काम गर्न निर्देशन दिएका छन् ।’ थापाले विधानमा रहेका ४८ विभागमा थप २२ विभाग थपेर ७० पुर्याउने, भदौ, असोज र कात्तिकमा क्रियाशील सदस्यता नवीकरण, साउन २० देखि भदौ १ सम्म पार्टी सुदृढीकरण, भदौ १० देखि २४ सम्म समुदायमा आधारित संवाद, मंसिर १५ देखि माघ १५ सम्ममा घर–घर जाने अभियान थाल्ने प्रस्ताव गरेका छन् । अनलाइन सदस्यता वितरणलाई व्यवस्थित बनाई ‘घर–घर जाऔं, पार्टी सदस्यता बनाऔं’ भन्ने अभियान साउनदेखि ०८१ असारसम्म गर्ने र प्रत्येक वर्ष ५ देखि ७ लाख सदस्यता थप्ने योजना महामन्त्रीको प्रस्तावमा छ । वैकल्पिक नयाँ राजनीतिक शक्तिको चुनौती सामना गरेर कांग्रेसलाई जीवन र नवकांग्रेसका रूपमा स्थापित गर्न थापाले वर्षभरिका दिवस, उत्सव, नेताहरूको जन्मजयन्तीका अवसरमा समुदायका सबै उमेर समूह र पेसाका नागरिकलाई आकर्षित गर्ने कार्यक्रमसमेत अघि सारेका छन् । उनले अघि सारेका कार्यक्रममा किसानका मुद्दादेखि कन्क्लेभ, लिटरेचर फेस्टिबल, पुस्तक प्रकाशन,कन्सर्टसम्म छन् ।कांग्रेसले पहिलोपल्ट फेसबुक लाइभ (प्रत्यक्ष प्रसारण) गरेको बैठकमा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले केन्द्रीय निर्वाचन परिचालन समितिको प्रतिवेदन पेस गरेका थिए । त्यस क्रममा उनले टिकट वितरण र गठबन्धनले सिर्जना गरेको असन्तुष्टिले पार्टीभित्र अन्तर्घात भित्रिने गरेको उनले बताए । अनुशासन समितिका अध्यक्ष आनन्दप्रसाद ढुंगानाले प्रतिवेदन प्रस्तुत गर्दै अन्तर्घात र अनुशासन हीनताका २१ सय उजुरी आएको जानकारी दिए । ‘कानुन बनाउनेदेखि व्यावहारिक सवालमा समेत कांग्रेसले प्रतिपक्षी दलहरूसँग समन्वय गर्नुपर्ने भएको छ । संसद् स्थगित हुँदा पनि किन भएको भनेर कांग्रेसमाथि नै प्रश्न उठ्ने अवस्था छ, सभाको सु–सञ्चालनको जिम्मेवारी पनि कांग्रेसले लिनुपर्ने अवस्था छ,’ उनले भने, ‘राजनीतिक रूपमा गठबन्धन परिवर्तन भयो । त्यसकारण प्रमुख प्रतिपक्ष बढी आक्रामक छ । परिपक्व त छ, तर कहिलेकाहीं अधैर्य हुन्छ । अरू प्रतिपक्ष आक्रामक पनि छन् । अधैर्य पनि छन् । नयाँ संसदीय अभ्यास भएकाले यदाकदा अपरिपक्व अवस्था उनीहरूको देखिएको छ ।’ पार्टी संसदीय दलका प्रमुख सचेतकसमेत रहेका केन्द्रीय सदस्य रमेश लेखकले संसद्मा पार्टीको गतिविधिबारे प्रतिवेदन प्रस्तुत गरेका छन् । लेखकले संसद्का कामकारबाहीमा अन्य दलभन्दा काग्रेस बढी जिम्मेवार बन्नुपरेको धारणा राखेका थिए । उनले सरकारको स्थिरता र स्थायित्वका लागि पनि कांग्रेसले संसद्भित्र जिम्मेवारीका साथ प्रस्तुत हुनुपर्ने बताए । समसामयिक राजनीतिक विषय र प्रतिवेदनमा धारणा राख्न केन्द्रीय सदस्यहरूलाई बुधबारदेखि समय दिइनेछ । सभापति देउवाले बैठक सुरु गर्नासाथ केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले नेतृत्वबाटै समयसामयिक राजनीति र पार्टीको कार्यदिशाका विषयमा लिखित दृष्टिकोण पेस हुनुपर्ने माग गरेका थिए । ‘एजेन्डाको एक नम्बरमै समसामयिक, आर्थिक, सामाजिक विषयमाथिको छलफल भनिएको छ । यस विषयमा नेतृत्वको दृष्टिकोण र विचार के हो भन्ने विषयमा कार्यपत्र नै आउनुपर्छ । अनि मात्रै छलफलले सार्थकता पाउँछ भन्ने मेरो कुरा हो,’ बैठकपछि केसीले भने ।आकस्मिक अवस्थामा बाहेक असोज, मंसिर, माघ, चैत, जेठको पहिलो साता केन्द्रीय कार्यसमिति बैठक म्याद सकिएका भ्रातृसंस्थाको तदर्थ समिति गठन, गठन भएकालाई पूर्णता भदौ १५ भित्र, ६ महिनामा अधिवेशन, ४८ विभागलाई बढाएर ७० वटा पुर्याउने, भदौ, असोज र कात्तिकमा क्रियाशील सदस्यता नवीकरण, साउन २० देखि भदौ १ सम्म पार्टी सुदृढीकरण, भदौ १० देखि २४ सम्म समुदायमा आधारित संवाद
मंसिर १५ देखि माघ १५ सम्ममा घर–घर जाने अभियान, साउनदेखि ०८१ असारसम्म ‘घर–घर जाऔं, पार्टी सदस्यता बनाऔं’ अभियान, दिवस, उत्सव, नेताको जन्मजयन्तीका अवसरमा समुदायका सबै उमेर समूह र पेसाका नागरिकलाई आकर्षित गर्ने कार्यक्रम