वर्षा लाग्यो कि डेंगुकै डर, दैनिक दिन थपिँदै संक्रमित, नियन्त्रणमा /राज्यले गर्यो बेवास्ता

Share to:

रासंसा/काठमाण्डौ, आषाढ २६,

मुलुकमा वर्षा सुरु भएसँगै डेंगु संक्रमितको संख्या दैनिक थपिँदै छ। यो क्रम प्रत्येक वर्ष क्रमशः बढ्दै गएको सरकारी तथ्यांकले देखाउँछ। यस वर्ष पनि वर्षा सुरु भएसँगै देशका धेरै स्थानमा संक्रमित दैनिक बढ्दैछन्। सुनसरीको धरानमा त प्रत्येक घरमा नै संक्रमित रहेको वडाध्यक्ष नै दाबी गर्छन्। यसरी संक्रमित बढ्दै जाँदा पनि नियन्त्रणका लागि प्रभावकारी काम नभएको स्थानीय गुनासो गर्छन्। गत वर्षको जस्तो अवस्था नआओस् भनेर यस वर्ष सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सर्तक रहेको मन्त्रालयका सचिव डा. रोशन पोखरेल बताउँछन्। अघिल्लो वर्ष पनि जुलाई÷अगस्ट महिनामा डेंगुका बिरामी बढेकाले रोग नियन्त्रण र रोकथामलाई लिएर आफूहरू चिन्तित रहेको स्वास्थ्य सचिव डा. पोखरेलले बताए। ‘अबको दुई महिना निकै डरमर्दो अवस्था छ। सबै सचेत हुनुपर्छ’, डा. पोखरेलले भने। उनका अनुसार हाल देशभर धेरै जिल्लामा डेंगु संक्रमित देखिसके ता पनि महामारीको रूप भने लिइसकेको छैन। एडिस एजप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगले जुनसुकै उमेरसमूहका व्यक्तिलाई पनि संक्रमण हुन सक्छ। सफा पानीमा यस प्रजातिका लामखुट्टेले अन्डा पार्ने भएकाले ग्रामीणभन्दा सहरी क्षेत्रमा यसको प्रकोप बढी रहेको विज्ञ बताउँछन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)का अनुसार गत वर्षको डिसेम्बर अन्त्यसम्म नेपालमा ५४ हजार ७ सय ८४ जना डेंगुका संक्रमित भेटिएका थिए। जसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ४२ हजार ४ सय २८ जना संक्रमित थिए। त्यसपछि लुम्बिनी प्रदेशमा ५० हजार ३७ र कोसी प्रदेशमा २३ हजार ९ संक्रमित थिए। कोसी प्रदेश सरकारले डेंगु नियन्त्रणमा चासो नदेखाउँदा दैनिक बिरामीको संख्या वृद्धि हुँदै गएको छ। संक्रमित बिरामीको उपचार समेत सहज नबनाउँदा धेरैजसो बिरामी घरमै छट्पटाएर बस्न बाध्य छन्। आफूलाई निको हुन धेरै दिन लागिरहेकाले डेंगुको भाइरस कोराना भाइरसभन्दा खतरनाक भएको अनुभव बिरामीको छ। कोसी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले सुनसरी, मोरङ, झापा, उदयपुर, संखुवासभामा डेंगुका बिरामी देखा परेको बताए। उनले धरानबाहेकका स्थानमा डेंगु संक्रमितको अवस्था सामान्य रहेको जनाए। ‘धरानमा डेंगु संक्रमितको संख्या धेरै देखिएको छ’, उनले भने, ‘नियन्त्रण गर्न जिल्ला स्वास्थ्य कार्यालय सुनसरीलाई निर्देशन दिइसकेका छौं।’ प्रदेशका सुनसरी, मोरङ र झापा जिल्लामा दैनिक डेंगु संक्रमितहरू बढिरहेका छन्। सुनसरीको धरानमा डेंगुका सबैभन्दा धेरै बिरामी देखिएका छन्। धरान उपमहानगरपालिकाका २० वटै वडाहरूमा डेंगु संक्रमण फैलिएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए। धरानमा पाँच वर्ष अगाडि ६ हजारभन्दा बढी सर्वसाधारण संक्रमित भएका थिए। उपचार अभावका कारण डेंगु संक्रमित तीन जनाले ज्यान गुमाउनु परेको थियो। डेंगुकै कारण यसपटक धरान—१७ मा ३७ वर्षीय एक महिलाको मृत्यु भएको छ। सुनसरीका सबै पालिकामा डेंगुका बिरामी देखिएका छन्। तर यसको अत्यधिक असर धरानमा मात्र छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रगत परीक्षण गर्दा दैनिक एक सयभन्दा बढी डेंगु संक्रमित हुने गरेको माइक्रोबायोलोजी विभागका प्रमुख डा. नारायण भट्टराईले बताए। उनले कोसी प्रदेशका विभिन्न जिल्लाबाट आएका बिरामीमध्ये धेरैजसो धरानका बिरामीलाई डेंगु पोजेटिभ देखिने गरेको बताए। धरानमा डेंगु संक्रमितहरूको संख्या वृद्धि हुँदासमेत स्थानीय र प्रदेश सरकारले संक्रमितको उपचारलाई सहज बनाउन सकेका छैनन्। धेरैजसो बिरामी आर्थिक अवस्था कमजोर भएका कारण अस्पताल भर्ना भएका छैनन्। निम्न आय भएकाहरूले डेंगु परीक्षणसमेत गर्न नपाएको गुनासो गरेका छन्। डेंगु संक्रमित भएर निको भएका धरान—१६ का भूपाल साम्पाङ राईले डेंगु संक्रमितको उपचार निःशुल्क गर्न र उपचार र परीक्षण सहज बनाउन सरकारसँग माग गरेका छन्। धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख मेहताले धरानका २० वटै वडामा फगिङ गर्ने र जनचेतना फैलाउने काम भइरहेको बताए। आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख उपसचिव गोविन्दराज आचार्यले डेंगु रोगको संक्रमण कोराना भाइरस संक्रमणभन्दा पनि बढी खतरनाक रहेको अनुभव सुनाए। उनले आफूलाई पहिलो लटमै कोरोना भाइरस लागेको भए पनि डेंगुले जस्तो गम्भीर समस्या नआएको बताए। उनले डेंगुका कारण हप्ता दिनदेखि आफू थलिएकाले डेंगुबाट बच्न सबैले सावधानी अपनाउनु पर्ने सुझाव दिए। २०७९ असार १५ देखि २०८० माघ १५ सम्म बागमती प्रदेशमा ४२ हजार ४ सय ५९ जना डेंगुबाट संक्रमित भएका थिए। एक वर्षको अवधिमा सबैभन्दा धेरै काठमाडौंमा १४ हजार २ सय ६ जना, ललितपुरमा ९ हजार ७ सय ७९ जना, भक्तपुरमा ६ हजार १ सय ७० जना संक्रमित भएको स्वास्थ्य मन्त्रालय, बागमती प्रदेशको तथ्यांक छ। बागमती प्रदेशमा यो वर्ष पनि डेंगुको संक्रमण देखिन थालेको छ। गत वर्ष महामारीको रूप लिएको डेंगु यो वर्ष पनि देखिन थालेको हो। गत वर्ष डेंगुबाट ४२ हजार ७ सय १४ जना संक्रमित भएका थिए। २०७९ असार १५ देखि २०८० असार १५ सम्म एक वर्षको अवधिमा उक्त संख्यामा डेंगुबाट संक्रमित भएका पाइएको हो। nullहेटौंडा—४ मा डेंगु खोज तथा नष्ट अभियान सञ्चालन गरिँदै। यस वर्ष जेठ १५ देखि असार १५ सम्म बागमती प्रदेशमा १ सय १७ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालय, बागमती प्रदेशका सूचना अधिकारी डा. रविन भुसालले बताए। यस अवधिमा सबैभन्दा धेरै धादिङमा ७८ जनामा डेंगु संक्रमण देखिएको छ। त्यस्तै नुवाकोटमा १४, काठमाडौंमा ८ र भक्तपुरमा ३ जनामा डंगु संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। वैशाख १५ देखि जेठ १५ सम्म बागमती प्रदेशमा डेंगुबाट २७ र चैत्र १५ देखि वैशाख १५ सम्म ५२ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ। डेंगु नियन्त्रणको लागि मन्त्रालयले सतर्कता बढाएको मन्त्रालयका सूचना अधिकारी भुसालले बताए। मानवीय व्यवहार परिवर्तन नभएकाले डेंगु फैलने गरेको उनको भनाइ छ। ‘धेरै सफा पानी जम्ने ठूला सहरहरूमा यो समस्या बढी देखिने गरेको छ। हामीले मानवीय व्यवहार परिवर्तन गरेर न्यूनीकरण गर्दै जानुपर्छ’, उनले भने। कास्कीपछि यस वर्ष अहिलेसम्म म्याग्दी जिल्लामा ४५ जनामा देखिएको छ। यसैगरी लमजुङ जिल्लामा २५ जनामा, नवलपरासी र तनहुँका ११÷११ जनामा डेंगु देखिएको छ। गोरखा जिल्लामा ३ जना, स्याङ्जा र पर्वतमा १÷१ जनामा डेंगु देखिएको छ। बागलुङ, मुस्ताङ र मनाङ जिल्लामा यस वर्ष अहिलेसम्म डेंगु नदेखिएको तथ्यांक छ। डेंगु संक्रमणको सुरुको अवस्था रहेकोले डेंगु संक्रमण हुन नदिन पानी जम्ने भाँडाहरू गमला, खालीबट्टा, खाली ड्रम आदिमा पानी जम्न नदिने उपाय खोज्नुपर्ने बताएको छ। गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा धेरै कास्की जिल्लामा डेंगु संक्रमण देखिएको छ। कास्कीमा अहिलेसम्म ८२ जनालाई डेंगु संक्रमण देखिएको गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. नारायण श्रेष्ठले जानकारी दिए। गत वर्ष कास्कीमा २ सय १० जनामा डेंगु देखिएको थियो। गत वर्ष गण्डकी प्रदेशमा सबैभन्दा धेरै तनहुँ जिल्लामा २ सय ९४ जनामा देखिएको तथ्यांक छ। यसैगरी गत वर्ष पर्वतमा २ सय २५, गोर्खामा २ सय ५, स्याङ्जा जिल्लामा १ सय ४९ जना, बागलुङमा १ सय ३९, नवलपुरका ८८, म्याग्दीमा ८१ जनामा देखिएको थियो। हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा पनि पछिल्लो समयमा लामखुट्टे उक्लेका मात्रै छैनन् डेंगु संक्रमण देखिन थालेको छ। गत वर्ष मुस्ताङ जिल्लामा ७ जना र मनाङ जिल्लामा ८ जनामा डेंगु संक्रमण देखिएको गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्नका लागि खोज तथा नष्ट कार्यक्रम सुरु भएको छ। यो अभियान गाउँ, टोलटोल, बस्तीबस्तीमा सुरु भएको डा. श्रेष्ठले बताए। सरकारी अस्पतालहरूमा निःशुल्क डेंगु परीक्षण भइरहेको पनि डा. श्रेष्ठले जानकारी दिए। कालीकोट जिल्लाका नरहरीनाथ गाउँपालिका १ की अनि विष्टलाई सामान्य ज्वरो आएर उपचारका लागि अस्पताल जाँदा डेंगु देखियो। सान्नीत्रिवेणी गाउँपालिका—३ की रमिता देवकोटालाई पनि ज्वरो आएर अस्पताल उपचार गराउन जाँदा डेंगु नै हो भन्ने पुष्टि भयो। खाँडाचक्र नगरपालिकाका कान्ति विकलाई पनि उस्तै लक्षण देखिएर जचाउँदा डाक्टरले डेंगु नै लागेको बताए। स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रतिनिधि उदय बीसीका अनुसार सुर्खेतमा मात्र चालू आर्थिक वर्षमा १ हजार ५ सय डेंगुका बिरामीहरू फेला परे। चालू आर्थिक वर्षमै दैलेखमा १ जना र रुकुममा १ जना यस रोगका बिरामीहरू फेला परे। पछिल्लो समय जलवायु परिवर्तनलगायतका कारण तापक्रम वृद्धि भएसँगै कर्णालीका पहाडी जिल्लाहरूमा पनि डेंगुका बिरामी देखा पर्न थालेका हुन्। जिल्लामा चालू आर्थिक वर्षमा ५ जना डेंगुका बिरामी फेला परेको स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी कटकबहादुर महतले बताए। उनका अनुसार विगतमा यसरी जिल्लामा डेंगुको समस्या देखिँदैनथियो। पछिल्ला वर्षहरूमा जिल्लामा तापक्रम वृद्धिसँगै लामखुट्टे पनि गाउँगाउँमा देखिन थालेपछि डेंगुका बिरामीहरू पनि फेला पर्न थालेका हुन्। प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार कर्णालीमा बर्सेनि डेंगुका बिरामी बढ्दै गएका हुन्। प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७७÷०७८ मा ७ सय ९६ बिरामी, आब २०७८÷०७९ मा १ हजार ५ सय ५० र आव २०७९÷०८० मा १ हजार ९ सय बढी डेंगुका बिरामीहरू फेला परेका छन्। कर्णालीका पहाडी जिल्लाहरूमा कतिपय सुर्खेत नेपालगन्जबाट गाउँतिर गएका मानिस तथा कतिपय स्थानीय मानिससमेत यस रोगबाट संक्रमित भएका छन्। जनस्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख डा. भोला यादवका अनुसार जिल्लाको बर्दिवास र गौशालामा विगतमा यसको प्रभाव परेको थियो। यसलाई ध्यानमा राख्दै मधेस सरकारको आर्थिक सहयोगमा लार्भा नष्ट गर्ने अभियान र सचेतना अभियान मंगलबारबाट सञ्चालन हुँदैछ। उनले भने, ‘प्रदेश सरकारले ढिलो गरी बजेट पठाएका कारण यसपटक असारको अन्त्यमा भए पनि हामीले कार्यक्रम गर्दैछौं। आगामी दिनमा जिल्लाका हरेक पालिकामा यस्ता अभियान सञ्चालन हुनेछ।’ मधेस प्रदेशमा डेंगु संक्रमण छिटफुट रूपमा मात्र देखिएको प्रदेशको स्वास्थ निर्देशनालयले जनाएको छ। निर्देशनालयका प्रमुख डा. राजीव झाका अनुसार अहिलेसम्म ८ वटै जिल्लामा डेंगुको खतरा देखिएको छैन। उनले भने, ‘प्रदेश सरकारको सहयोगमा यस प्रदेशका हरेक पालिकास्तरसम्ममा सचेतना अभियान सञ्चालन गरिँदैछ। अभियानको पहिलो चरणअन्तर्गतको कार्यक्रम यही असार २६ गतेदेखि ३१ गतेसम्म रहनेछ। यसका साथै सर्वसाधारणलाई यस रोगबाट बचाउनका लागि लार्भा नष्ट गर्ने अभियान पनि सञ्चालन हुँदैछ।’ सुरुमा ज्वरो आउने, शरीरमा दादुराजस्ता फोका आउने, टाउको दुख्ने, पखाला लाग्ने, जोर्नी दुख्ने र शरीर कमजोर हुने डेंगु संक्रमणका लक्षण हुन्। डेंगु संक्रमणका कारण बिरामीको रगतमा प्लेटलेट्स कमी हुने भएकाले बिरामीले पोसिलो र झोलिलो पदार्थ बढी मात्रामा खानुपर्ने चिकित्सकको सुझाव छ। मधेस प्रदेशमा डेंगु संक्रमण छिटफुट रूपमा मात्र देखिएको प्रदेशको स्वास्थ निर्देशनालयले जनाएको छ। निर्देशनालयका प्रमुख डा. राजीव झाका अनुसार अहिलेसम्म ८ वटै जिल्लामा डेंगुको खतरा देखिएको छैन। उनले भने, ‘प्रदेश सरकारको सहयोगमा यस प्रदेशका हरेक पालिकास्तरसम्ममा सचेतना अभियान सञ्चालन गरिँदैछ। अभियानको पहिलो चरणअन्तर्गतको कार्यक्रम यही असार २६ गतेदेखि ३१ गतेसम्म रहनेछ। यसका साथै सर्वसाधारणलाई यस रोगबाट बचाउनका लागि लार्भा नष्ट गर्ने अभियान पनि सञ्चालन हुँदैछ।’

Like